+
+

‘आज विरुवा रोपेर भोलि उखेलिन्छ, कसरी वातावरण संरक्षण हुन्छ ?’

विरुवा लगाउँदै गरेको तस्वीरले सामाजिक सञ्जाल भरिन्छ । तर, अर्को दिनबाट आफैंले लगाएका बोटविरुवाको संरक्षण भएको छ वा छैन भन्नेबारे भने उनीहरु नै बेखबर हुन्छन् । यसरी कसरी वातावरण संरक्षण हुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १८:२०

२३ जेठ, पोखरा । ‘विरुवा लगाउँदै गरेको तस्वीरले सामाजिक सञ्जाल भरिन्छ । तर, अर्को दिनबाट आफैंले लगाएका बोटविरुवाको संरक्षण भएको छ वा छैन भन्नेबारे भने उनीहरु नै बेखबर हुन्छन् । यसरी कसरी वातावरण संरक्षण हुन्छ ?’

आइतबार पोखरामा आयोजित विश्व वातावरण दिवसको कार्यक्रममा एक वक्ताले प्रश्न उठाए । पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रमका वक्ताहरले वातावरणलाई क्षय हुनेगरी मानवीय आचरणबारे मात्रै चर्चा गरेनन्, वातावरण अभियान्ताहरु नै यसप्रति गम्भीर नभएको समेत बताए ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति कास्की र राष्ट्रिय मानव अधिकार आयोग गण्डकीले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा कृषि विज्ञ डा अनिल सुवेदीले संरक्षण नगर्ने भए अबदेखि वृक्षारोपण गर्दासमेत २ पटक सोच्नुपर्ने अवस्था आएको बताए ।

‘अभियन्ता भन्ने हामीहरुले पनि सोच्नुपर्ने बेला भएको छ । यसमा धेरै अहम् नगरौं कि ?’ डा सुवेदीले भने, ‘नेपालमा प्रत्येक वर्ष यस्तै दिवस पारेर वृक्षारोपण गरिन्छ । तर, संरक्षण छैन । अब हामीले विरुवा रोप्दा २ पटक सोच्नुपर्ने बेला आएको छ । बिगारेको हामीले नै हो ।’

डा सुवेदीले वातावरणलाई देखिने वस्तुभन्दा नदेखिने रासायनिक वस्तुले बढी असर पारिरहेको सुनाए । कृषि उत्पादनमा पछिल्लो समय अत्याधिक रसायनिक पदार्थ प्रयोग गर्दा क्षणिक उत्पादन बढेको जस्तो देखिए पनि दीर्घकालीन असर पारिरहेको उनको भनाइ थियो ।

‘वातावरणमा देखिने समस्याभन्दा नदेखिने समस्या झन् बढेर गएको छ । रासायनिक वस्तुले वातावरणलाई झन् दूषित बनाउँदै लगिरहेको छ । कृषकले पनि लहैलहैमा विषादी प्रयोग गरिरहेका छन्’, डा सुवेदीले भने, ‘तर, यो उनीहरुको गल्ती होइन, प्रयोग गर्न लगाउने र सिकाउनेको गल्ती हो ।’

अर्का वक्ता वरिष्ठ अधिवक्ता तथा वातावरण संरक्षणकर्मी तिलक पराजुलीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा परेको सुनाए । ‘वातावरणीय असरले गर्दा हाइउअल्टिट्युडका मुलुकहरु उच्च जोखिममा छन् । त्यसैमध्ये नेपाल पनि एक हो,’ उनले भने, ‘नेपालका हिमनदी, ताल फुट्दैछन् । बेमौसमी बाढी पहिरो, प्रकोपको समस्या बढिरहेको छ ।

विकासका नाममा कुवा, चौतारा, ऐतिहासिक रुख विरुवा मासिँदै गएकोप्रति पराजुलीको चिन्ता थियो । ‘हामी सधैं अरुकै मुख ताकेर बस्छौं । मैले गरेर के हुन्छ भनेर बस्छौं । अबको समय भनेको मैले नगरेर हुँदैन भनेर अग्रसर हुने बेला हो,’ उनले भने, ‘वातावरण जोगाउने प्रत्येक नागरिकको अधिकारमात्रै होइन कर्तव्य पनि हो ।’

अधिवक्ता पराजुलीले नेपालजस्तो विकासोन्मुख देशमा विकास र वातावरण कसलाई महत्व दिने भन्नेबारे सधैं बहसको विषय हुने बताए । ‘विकासको नाममा जहाँ मन लाग्यो त्यहीं डोजर, स्काभेटर चलेकै छ । हामीलाई विकास पनि चाहिएको छ, वातावरण पनि जोगाउनु छ,’ उनले भने, ‘यसमा बहस जरुरी छ । विकास गर्दा वातावरणमा कमसेकम क्षति हुने विधि अपनाउनुपर्दछ ।’

राष्ट्रिय मानवअधिकार आयोग, गण्डकीका अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र वातावरण संरक्षण एकअर्काका परिपूरक रहेको बताए । विकास गर्दा मानवलाई केन्द्रमा राखेर गरिने भएकाले वातावरणको झन् ठूलो महत्व रहेको उनको भनाइ थियो ।

‘वातावरणको अधिकार पनि मानवको नैसर्गिक अधिकार हो । स्वच्छ हावा र वातावरणमा बस्न पाउने गरी अधिकार उनीहरुले प्रत्याभूत हुनुपर्छ,’ उनले भने ।

सुवेदीले पनि वातावरण विकासमा मानवीय आचरणकै खोट देखाए । उनले पछिल्लो समय विकासका नाममा ‘डोजरे विकास’लाई महत्व दिँदा प्राकृतिक प्रकोपहरु देखिन थालेको औंल्याए । ‘प्रकृतिको अत्याधिक र अवैज्ञानिक दोहनले प्रकोपहरु बढिरहेका छन् । यसले मानव अधिकार पनि कुण्ठित भएको छ,’ उनले भने ।

नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धरले सबैले सफा ठाउँमा बस्ने, राम्रो लगाउन चाहने तर, त्यसका लागि आफू अग्रसर नहुने औंल्याइन् । ‘वातावरण संरक्षणमा प्रत्येक नागरिकले स्वस्फूर्त रुपमा लाग्नु पर्ने हो । तर, पछिल्लो समय यसमा राजनीति घुसेर झन् धुम्मिल भएको छ,’ उनले भनिन् ।

वातावरण विज्ञ कुलराज चालिसेले वातावरणका विषयमा ५० औं वर्षदेखि ‘पाठ’ पढाइरहेको भए पनि प्रत्यक्ष नागरिकका जनजीविकासँग जोडिन नसकेको बताए । उनले जनताको जीवनशैलीसँग वातावरण संरक्षणको मुद्दा पुर्‍याउन नसक्दा पृथ्वीको अवस्था बिग्रँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?