+
+

सर्वनाम शिक्षालयका प्रिन्सिपल तारेखमा छुटे, वार्डेनविरुद्ध ३ जनाको जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते २१:१२
Photo Credit : फाइल तस्वीर
जबरजस्ती करणीसम्बन्धी कसूरमा हदम्यादको प्रावधान हटाउन माग गर्दै बालुवाटारमा युवाले दिएको धर्ना ।

२२ जेठ, काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतविरुद्ध तीन जना विद्यार्थीले किटानी जाहेरी दिएका छन् ।

शिक्षालयमा अध्ययनरत १५, १३ र १२ वर्षका किशोरीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, बौद्धमा जाहेरी परेको डीएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार आइतबार सरकारी विदा भएकाले सोमबार अनुसन्धानका लागि म्याद लिएर विस्तृत अनुसन्धान गर्ने तयारी छ ।

छात्राहरुले यौन दुर्व्यवहार भएको बताएपछि शनिबार अभिभावकहरु बुझ्न होस्टल पुगेका थिए । तर शिक्षालयबाट राम्रो जवाफ नपाएपछि उनीहरुले वार्डेनलाई कारबाही गर्न माग गर्दै नारावाजी गरेका थिए ।

घटनाको जानकारी लिन खोज्दा अभिभावकलाई दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका प्रिन्सिपल दुर्गानाथ शिवाकोटील र उनकी श्रीमती भने छुटेका छन् ।‘सुरक्षा र सोधपुछका लागि नियन्त्रणमा लिएका थियौं, अहिले चाहिएको वेला उपस्थित हुने गरी तारेखमा छाडेका छौं’ न्यौपानेले भने ।

अभिभावकहरुका अनुसार उनीहरुले शिक्षालयको होस्टलमा वार्डेनले दुर्व्यवहार गरेको भन्दै १९ जेठमै विद्यालय प्रशासनलाई जानकारी गराएका थिए । तर प्रशासनले केही नगरेपछि प्रहरीसम्म पुग्नु परेको उनीहरुको गुनासो छ ।

चाबहिलको सेन्ट लरेन्स कलेजमा पनि विद्यार्थी यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?