+
+

एकीकृत समाजवादीका चार मन्त्रीको पद थमौती

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १४:५६

२३ जेठ, काठमाडौं । मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति जुटेको थियो ।

त्यसलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई बालुवाटारमा बोलाएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । ‘प्रधानमन्त्रीले हामी चार जनालाई अझ राम्रो काम गर्नुस् भनेर निर्देशन दिनुभयो,’  श्रममन्त्री श्रेष्ठले अनलाइनखबरसँग भने ।

प्रधानमन्त्रीसँग कुराकानी भएलगत्तै एकीकृत समाजवादीका मन्त्रीहरुले पार्टी अध्यक्ष नेपाललाई पनि भेटेका छन् । अर्का एक मन्त्रीका अनुसार अध्यक्ष नेपालले मन्त्री फिर्ताको निर्णय गर्दा बजेटमाथि छलफल भइरहेको र जवाफ दिन बाँकी रहेको याद नभएको बताएका थिए । उनले बजेट छलफल टुंगिएपछि पार्टीमा छलफल गरेर निर्णय गर्ने वचन समेत दिएका छन् । एक मन्त्रीले अनलाइखबरसँग भने, ‘के गर्ने भन्नुभएन । तर बजेट पास नहुँदासम्म केही हुन्न, यथावत काम गर्नुस् भन्ने निर्देशन भयो ।’

एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउनुका साथै शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम दिएको थियो ।

मन्त्रिपरिषद् ४ बजे

मन्त्री हेरफेर नगर्ने सहमति लगतै प्रधानमन्त्री देउवाले ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, ‘फिर्ता भएका छैनौं, त्यसैले आज क्याबिनेट बैठकमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?