+
+

अछाम किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि एसएसपी पाण्डे नेतृत्वको टोली पनि खटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते ७:३३

२४ जेठ, कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि थप प्रहरी टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली खटाइएको जनाएको छ ।

‘अपराध अनुसन्धान कार्यका लागि एसएसपीको नेतृत्वमा टोली खटाइएको हो । उक्त टोली अछाम पुगिसकेकाले आजदेखि काम थाल्छ,’ सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले अनलाइनखबरसँग भने ।

घटनाको अनुसन्धानका लागि यसअघि सीआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा ६ सदस्यीय टोली खटाइएको छ तर स्थानीयको आन्दोलनका कारण उक्त टोलीले काम गर्न नपाएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।

सीआईबीको टोली खटाइएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएका स्थानीयले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै घटनास्थलबाट शाहीको शव उठाउन दिएका छैनन् । आक्रोशित स्थानीयले आन्दोलन जारी राखेका छन् । प्रहरीले पीडित पक्षसँग निरन्तर छलफल भइरहेको जनाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?