+
+
अन्तर्वार्ता :

‘पहिलो चरणमा क्रिकेटका पूर्वाधार बनाउँछौं’

मास्टर प्लान चाँडै सार्वजनिक गर्छौं । यसमा क्रिकेट रंगशालादेखि अन्य महत्वपूर्ण खेलकुदका पूर्वाधारहरु पर्नेछन् । सँगसँगै हामीले खेलकुदको अफ सिजनमा पनि सञ्चालन खर्च जुटाउने उद्देश्यले अर्थ उपार्जनका लागि तीन चारवटा पूर्वाधारहरु बनाउनेछौं । पहिलो चरणमा हाम्रो प्राथमिकता क्रिकेटको पूर्वाधार नै हुनेछ । त्यसपछि विस्तारै अन्य संरचनाहरु बनाउनेछौं ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १६:०३

२५ जेठ, काठमाडौं । सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामलाई विकास समिति मोडलमा निर्माण गर्ने निर्णय गर्दै सुवास शाहीलाई अध्यक्ष नियुक्त गरेको छ ।

झण्डै दशकदेखि ड्रिम फाप्ला अभियान चलाएका शाहीलाई बुधबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विकास समिति अध्यक्षको नियुक्तिपत्र प्रदान गरेका छन् । अब तीन वर्षमा अनुमानित ७० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला र खेलग्राम निर्माणका लागि शाहीको चुनौति सुरु भएको छ ।

देशकै नमुना मोडलका रुपमा फाप्ला निर्माण गर्ने लक्ष्य राखेका शाहीले प्राथमिकताका आधारमा काम गर्ने बताए । तीनवर्षे योजनाबारे विकास समितिका अध्यक्ष शाहीसँग अनलाइनखबरका लागि कुशल तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

झण्डै एक दशकदेखि ड्रिम फाप्ला अभियानको नेतृत्व गर्नुभयो । अहिले निर्माणको जिम्मेवारी पाउनु भएको छ । कति सजिलो छ, अबका दिनहरु ?

सर्वप्रथम त म सरकारलाई धन्यबाद दिन चाहन्छु । प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेकी नेतृ आरजु राणाका साथै भूमिसुधार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्थानीय तहका प्रतिनिधिहरु सबैको साथले रंगशाला निर्माण गर्ने चरणमा आइपुगेका छौं ।

एउटा चरणसम्म अभियान चलाइसकेपछि र सरकारले त्यसलाई सम्बोधन गरिसकेपछि विकास समिति वा निर्माण समितिमा बस्दिन भन्ने सोच थियो । तर, सबैजनाले मैले नेतृत्व लिएपछि मात्रै यो सम्भव हुन्छ भन्ने जस्तो विश्वास गर्नुभयो । आफैंले लाग्दा समयमै सम्पन्न गर्न सकिन्छ भने किन नगर्ने भनेर जिम्मेबारी लिएको हुँ ।

यो परियोजनाका मैले पनि सबै काम छोडेर लागेको धेरै समय भइसकेको छ । यो परियोजना कसरी सफल पार्ने भन्ने मात्र मेरो ध्यान रहन्छ । त्यसैले समयमै निर्माण सम्पन्न गरी सन्चालनको मोडलसहित सरकारलाई हस्तान्तरण गर्नेछौं । अबको तीन वर्ष हामी एक दिनमा दुई दिन बराबर काम गर्नेछौं ।

नेपालमै पहिलोपल्ट ठूला खेलकुद पूर्वाधार विकास समिति मोडलमा बन्न लागेको छ, यो कति सजिलो छ ?

जति ठूलो चुनौति, उत्तिकै ठूलो अवसर हुनेछ । हामीले पहिलेदेखि नै धेरै प्रतियोगिता गरिसकेका छौं । सानो एसपीए कपबाट सुरु हुँदै धनगढी प्रिमियर लिग (डीपीएल)सम्म गर्‍यौं । यी सबै प्रक्रियाको अन्तिम लक्ष्य भनेको एउटा क्रिकेट रंगशाला बनाउने भन्ने नै थियो । त्यतिबेला धनगढीमा अन्तर्राष्ट्रिय रंगशाला बनाउन सम्भव छ र ? भनेर प्रश्न गर्नेहरु पनि थिए ।

तर सबै जटिलता र चुनौती पार गरेर जग्गा प्राप्ती, विकास समितिको कार्यविधि लगायत धेरै अप्ठेरा कामहरु पूरा भइसकेका छन् । मेरो विचारमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको धेरैजसो काम सम्पन्न भएका छन् । खाली कंक्रिटको संरचना बनाउन बाँकी छ । त्यसैले बहुवर्षीय योजनाका रुपमा सरकार आफैंले ठूलो आर्थिक दायित्व बोक्न तयार भएको अवस्थामा अब धेरै चुनौति हुन्छजस्तो लाग्दैन । अझ यसको कार्यविधिले निर्माणका लागि विदेशी खेलकुद संस्थादेखि नेपालकै निजी क्षेत्रको सहयोग लिन सकिने व्यवस्था गरिदिएको छ । त्यसकारण निर्धारित समयमै पूरा गरेर खेलकुद पूर्वाधारको क्षेत्रमा मात्रै होइन, नेपालकै पूर्वाधार निर्माणको क्षेत्रमा नमूना बनाउनेछौं ।

हामीले अहिलेसम्म सरकारी संग्लग्नताको पूर्वाधार परियोजना (मूलपानी रंगशाला) र निजी क्षेत्रले जिम्मेबारी लिएको पूवाधार परियोजना (गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, चितवन)को हविगत देखेका छौं । यो मोडल सफल हुने आधार चाहिँ के ?

यो पृथक मोडल हो । यसमा सरकारीमात्र होइन, निजी र खेलसम्बद्ध वैदेशिक संस्थालाई पनि सहभागी गराउन सकिनेछ । विकास समिति भित्रै हेर्नुभयो भने नेपाल सरकारको सम्पूर्ण निकायहरुको प्रत्यक्ष सहभागिता छ । देशको तीनै तहको सरकार र निजी क्षेत्र नै यो विकास समितिभित्र समावेश गरिएको छ । यसरी पूरै शक्ति लाग्दा असफल हुने भन्ने त प्रश्नै भएन । यो परियोजना असफल हुनु भनेको एक प्रकारले देश नै असफल हुनु हो ।

क्रिकेटदेखि अन्य खेलका पूर्वाधार पनि निर्माण गर्नुपर्नेछ । प्राथमिकताका आधारमा कसरी काम गर्नुहुन्छ ?

मास्टर प्लान चाँडै सार्वजनिक गर्छौं । यसमा क्रिकेट रंगशालादेखि अन्य महत्वपूर्ण खेलकुदका पूर्वाधारहरु पर्नेछन् । सँगसँगै हामीले खेलकुदको अफ सिजनमा पनि सञ्चालन खर्च जुटाउने उद्देश्यले अर्थ उपार्जनका लागि तीन चारवटा पूर्वाधारहरु बनाउनेछौं । क्लब हाउस, होटल, अस्पताल, खेलकुद म्युजियम लगायतका लागि पनि पूर्वाधारहरु बनाउनेछौं । तर, पहिलो चरणमा हाम्रो प्राथमिकता क्रिकेटको पूर्वाधार नै हुनेछ । त्यसपछि विस्तारै अन्य संरचनाहरु बनाउनेछौं ।

यो परियोजना सुदूरपश्चिमको खेलकुदसँगै आर्थिक, सामाजिक र पर्यटकीय दृष्टिकोणमा कति महत्वपूर्ण छ ?

यो परियोजनालाई हामीले खेलकुदको आँखाले मात्र हेरेका छैनौं । यहाँ अन्तर्राष्ट्रिय खेल हुनासाथ वर्षभर मानिसहरु खेल हेर्नकै लागि आउँछन् । उनीहरु आउनु भनेको प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सुदूरपश्चिममा पार्ने प्रभाव धेरै ठूलो हुनेछ ।

खेलकुदको विकासमा सुदूरपश्चिम अहिले नै अग्रणी छ । यो परियोजनापछि देशकै पर्यटन, आर्थिक विकास, सामाजिक रुपान्तरण, रोजगारी सृजना गर्ने कुरादेखि धनगढीलाई सिटी अफ क्रिकेटका रुपमा अन्तराष्ट्रियस्तरकै शहर बनाउन सहयोग पुग्ने छ । जसले समग्र सुदूरपश्चिमलाई आर्थिक रुपमै समृद्ध बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?