+
+
जी-बब प्रकरण : :

चर्चित भएपछि पैसा मागेको जी-बबको आरोप, आमाबुवा भन्छन्- अनुमतिविना छोरालाई लगे

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १२:०७

२९ जेठ, काठमाडौं । चर्चित र्‍याप तन्नेरी जी-बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् ।

बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिएका छन् । प्रहरीले दुवै जनालाई सोमबार छलफलमा बोलाएको छ ।

जी-बबका बुवाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै छोरालाई घर फिर्ता ल्याउनुपर्ने, उसले कमाएको पैसा पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिह्याबमा राख्नुपर्ने माग गरेका छन् ।

उक्त पत्रकार सम्मेलनपछि चर्किएको विवादबारे आइतबार जी-बबले पत्रकार सम्मेलन गर्दैछन् । शनिबार पनि उनले एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता समेत दिए । विवादको केन्द्रमा आर्थिक कारोबार नै देखिएको छ । जी-बबले पनि आफूले आमाबाबुबाट स्वतन्त्रता पाउनुपर्ने माग राखेका छन् ।

जी-बब र उनका बुवाआमाले विवादबारे यसरी बोलेका छन्-

सल्लाहविना छोरालाई कहीं लैजान पाइँदैन : जी-बबका बुवाआमा

अस्ति भर्खरको कुरा एएनटीएफको टिम हाम्रो घरमा आएको थियो । उनीहरुलाई मैले त्यतिबेला २० प्रतिशत स्टाफलाई हुन्छ । ८० प्रतिशत जी-बब र परिवारलाई हुन्छ भनेको थिएँ । जी-बबलाई हामीले पकेट मनी कति दिनुपर्ने हो हामीलाई थाहा छ ।

ऊ फ्यामिलीवाला मान्छे पनि होइन । हामी सकेसम्म उसलाई घरमै ल्याउँछ । रिह्याब राखे पनि राख्छौं । रिह्याबबाट छुटेर लैजाने भन्ने कुरा होइन, उसले पाउने पारिश्रमिक पाओस् । हामी जीवितै छौं । आमाबाउको सल्लाहबिना कहीं लैजान पनि पाइन्न ।

उसले कमाएको पैसा पाइँदैन, खुसी मिल्दैन भनेर के पाउन जानुपर्‍यो । अन्डरग्राउन्ड बनाएर राखे भइगयो नि । हामीलाई पैसा चाहिन्छ कि छोरो चाहिन्छ भनेर सोधियो । हामीलाई सबैथोक चाहिन्छ । एक त उसको स्वास्थ्य ठीक हुनुपर्‍यो । उसको स्वास्थ्य ठीक छैन ।

हामीले प्रहरीमा उजुरी पनि दिएका छौं । उसले ड्याडी ममीले मानसिक टर्चर दिए भनेर हालेको रे । ड्याडीले मेरो छोरो कहाँ छ भनेर सम्पर्क गर्न खोज्दा तपाईंको छोरा छ कतै, कहाँ छ त ? बढी खुवाएर मार्दिए कि कतै । जे पनि भन्छन् । यस्ता मान्छेले विश्वास छैन यस्ताको त । छोरो कहाँ छ भनेर हामी रातभर सुतेका छैनौं । उनीहरुले प्रयोग गरेका हुन् । तेरो छोरासँग यति वर्षको सम्झौता थियो रे भन्दैछन् । हामी त्यस्तो सम्झौता मान्दैनौं । तिम्रो खुसीले सम्झौता गरेर हुन्छ र ?

प्रहरीकहाँ पनि हामीले उजुरी दिएका छौं । पहिलो प्राथमिकता बाउआमाको बच्चा हो, बाउआमाले पाउनुपर्छ । बाउआमाले लैजान्छु भनेपछि उहाँहरुले लैजान पाउनुपर्छ भन्ने छ । हाम्रो उद्देश्य उसलाई घरमा लगेर लागुऔषधको कूलत कम गर्ने हो । उसलाई त्यहाँबाट निस्कन गाह्रो छ । एएनटीएफले हेल्प गरेको छैन ।

अहिलेसम्म चारवटा शोबाट उसले १ लाख ५० हजार हामीलाई दिएको छ । ए मेरो हजुर ४ फिल्ममा गीत गाएकोबारे हामीलाई अत्तोपत्तो छैन । उसको म्यानेजर छ रे । के उसले हिसाब देखाउन सक्दैन हामीलाई ? ड्याडीसँग महिनौं भयो कुरा नभएको । घरमा नआएको एक महिनै भयो ।

पैसा चाहिएर आमाबुवाले यस्तो गर्नुभएको हो : जी-बब

मैले मुद्दा किन हाले भनें, मलाई र्‍याक भयो के दाइ । म बच्चा त होइन नि । म त २१ वर्ष पुगिसकें होइन । आमाले नै र्‍याक हान्नुभयो । पहिले मलाई र्‍याप पनि नहान भन्नुहुन्थ्यो ममीले । मलाई त गाली गर्नुभयो गर्नुभयो, मेरो ममीलाई मुख्य कुरा पैसा चाहिएको हो । म बाटैबाटो हिंड्दा पनि ठाउँमै पुग्छु भन्ने मलाई थाहा थियो ।

ममीको रिलेसन पनि राम्रो छैन के हाम्रो फ्यामिलीसँग । मलाई स्वतन्त्रता चाहियो भनेर मैले मुद्दा हाल्या । आमाले मलाई रिह्याब लगेर हाल्नुभयो । एकचोटि जाने ठाउँ हो त्यो, दोहोर्‍याइ दोहोर्‍याइ जाने ठाउँ होइन ।

एएनटीएफले मलाई बन्धक बनाएर राखेको होइन । हामी एउटै स्टुडियो भएको घरमा बस्छौं । हामीसँग एउटा प्रोड्युसर छ, उहाँ हेटौंडाबाट आउनुभएको हो । आमालाई जसरी पनि पैसा चाहिएको हो । छोरालाई एकपटक एडिक्ट भन्दिएपछि रिह्याबमा हान्दिने भन्नुभयो किनभने गोदावरीको घरछेउमा रिह्याब छ । आमाले एएनटीफसँग भेट्न नदिने प्लान बनाउनुभएको हो ।

आमालाई पैसा चाहिएर मात्र आउनुभएको हो के । बाउ आएको जम्मा तीन चार दिन मात्र भयो । ट्री इन्टरटेनमेन्ट र अस्ट्रेलियाको पैसा सबै मैले पाइसकेको छु । मैले ममीबाट धेरै सहेर बसिरहेको छु । ममीको एकजना साथी छ उहाँको रिह्याब छ । दुवैले मिलेर त्यहाँ राख्न खोजेजस्तो देखिन्छ । सब कुरा पैसा रहेछ ।

हाम्रो आमा र मेरो रिलेसन राम्रो भएन । पपुलर नहुँदा पनि बोल्नु हुने थिएन । उठेर ११ बजे अफिस जानुहुन्थ्यो । हाम्रो अलग किचन छ । ममी तल बस्ने र म माथि बस्ने । बेलुका ६-७ बजेतिर मात्र ममीको मुख देखिन्थ्यो । राम्रोसँग बोल्नुहुन्न कहिल्यै पनि । जुन दिनदेखि म पपुलर भएँ, उहाँले पैसा खोज्न थाल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?