+
+
स्वस्तिमा र अर्पणसँग ‘चिसो मान्छे’ संवाद :

‘सुदूरपश्चिमको आतिथ्यले लोभ्यायो, आउटसाइडर भएर नहेरौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १८:४६

३० जेठ, काठमाडौं । कोरोना महामारीको लकडाउनमा एक शव लिएर काठमाडौंदेखि बाजुरासम्म तय गरिएको असहज यात्राको कथा पेश गर्ने फिल्म ‘चिसो मान्छे’ शुक्रबार रिलिज हुँदैछ ।

‘पशुपतिप्रसाद’ र ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई चित्रण गर्छ । मुख्य भूमिकामा रहेका स्वस्तिमा खड्का र अर्पण थापा अहिले फिल्मको प्रचारप्रसारमा व्यस्त छन् ।

दुवै कलाकार अनलाइनखबरसँग ‘क्यान्डिड’ सुनिए । ‘मलाई नेपाली न्यानो लाग्छ । परिस्थिति कहिलेकाहीं चिसो भए पनि नेपाली त्यति चिसा छैनन्,’ अर्पण भन्छन् ।

फिल्ममा थापाले शव पुर्‍याउन भाडामा लिइएका एक ट्रक चालकको भूमिकामा अभिनय गरेका छन् । उनी आफैंमा फिल्म निर्देशक पनि हुन् । नेपालमा ‘क्र्यास कोर्स’ अभिनय शैलीलाई भित्र्याउने श्रेय पाएका थापा आफ्नो अभिनय शैली सही रहेको तर्क गर्छन् ।

‘मैले जुन शैलीलाई पछ्याइरहेको छु, सही गरेको छु,’ उनी भन्छन्, ‘अभिनय गर्दा पात्रको हिसाबमा काम गर्छु र निर्देशकको रुपमा त्यही काममा फोकस गर्छु । यसो गर्दा अभिनय र निर्देशकको कामबीच सन्तुलन पनि मिल्छ ।’

स्वस्तिमाले पुष्पा नामक चरित्रमा अभिनय गरेकी छन् । कतिपयले उनकै अघिल्लो फिल्म बुलबुलकै रणकला पात्रसँग ‘चिसो मान्छे’की स्वस्तिमालाई दाँजिरहेका छन् । दुवै पात्र पतिविहीन छन् र त्यहाँ पतिको अस्तित्व पनि छ ।

अनि भिन्नता चाहिं ? स्वस्तिमा भन्छिन्, ‘पात्र नै भिन्न ठाउँका छन् । लाइफ पार्टनरलाई हेर्ने दृष्टिकोण नै भिन्न छ । रणकला र पुष्पाको श्रीमानसँगको रिलेसनसिप भिन्न छ । बुलबुलमा किन साथ खोजिरहेकी छे भन्ने कुरा छ । रणकलाभन्दा पुष्पा केही विद्रोही छे ।’

प्रायः नेपाली फिल्ममा महिलालाई पीडित पात्रको रुपमा प्रस्तुत गरिन्छ । तर स्वस्तिमालाई लाग्छ, चिसो मान्छेमा महिलाको प्रस्तुति ओजपूर्ण नै लाग्छ । ‘अरु फिल्ममा महिला पात्र हलुका लाग्छ । यो फिल्म महिला केन्द्रित फिल्म नभए पनि महिला पात्रलाई राम्रोसँग टेकअफ गरिएको छ ।’

के स्वस्तिमालाई यस्तै फिल्म मात्र गर्ने रहर हो ? भन्छिन्, ‘बुलबुल र चिसो मान्छे एउटै खाले फिल्म होइन । चिसो मान्छे अफबिट होइन । मलाई अलग राम्रा फिल्ममा अनुभव बटुल्न मन छ । एउटै फिल्म भन्ने होइन ।’

अनि पुष्पा पात्र र स्वस्तिमाको निजत्वबीच ‘एसोसियसन फ्याक्टर’ नि ? ‘पुष्पा र म भिन्न समाजका मान्छे हौं । महिलाको रुपमा धेरै कुराले कनेक्ट गराउँछ । एउटा महिलाको भोगाइ र अर्की महिलाको भोगाइ उस्तै हुन्छ,’ स्वस्तिमा भन्छिन्, ‘तर फरक भेग भएकाले केही द्वन्द्व अवश्य छन् । पुष्पा आफंै विवाहित र बुहारी हो । म आफैं पनि बुहारी र श्रीमती हुँ ।’

स्वस्तिमालाई पुष्पाका दुई–तीन कुराले उत्साहित बनाउँछ । ‘त्यो पात्र आफैंमा पनि सानो उमेरको हो । तर व्यवहार मच्योर्ड छ । सबैको भित्र एउटा चाइल्ड हुन्छ भन्छन् नि । केही परिस्थितिले उसलाई विद्रोही बनाएको छ । कुनै बिन्दुमा पुगेर उसले बलियो रुपमा आफ्नो आवाज राखेकी छे,’ उनी भन्छिन् ।

काठमाडौंबाट सुदूरपश्चिम दुर्गम र विपन्न देखिन्छ । वास्तविकतामा कस्तो छ ? अर्पण र स्वस्तिमा ‘आउटसाइडर’को रुपमा फिल्म सुटिङ गर्न त्यहाँ पुगे । तर उनीहरुले सुदूरपश्चिमलाई कस्तो देखे ?

अर्पण भन्छन्, ‘म आउटसाइडर नै हुँ । म मान्छे पुर्‍याउन गएको भाडामा लिएको ड्राइभर हुँ । पर्सनल कन्ट्याक्ट छैन । तर सुदूरपश्चिम भौगोलिक हिसाबले मात्र टाढा हो । रहनसहन र जीवनशैलीमा केही फरक छैन ।’

स्वस्तिमालाई लाग्छ, सुदूरपश्चिम सांस्कृतिक रुपमा सम्पन्न थलो हो । भन्छिन्, ‘आउटसाइडरको हिसाबले मैले अध्ययन गर्दा सांस्कृतिक रुपमा धनी क्षेत्र लाग्यो । जुन हामीले मज्जाले खोजी गर्न पाएका छैनौं । हामीले काठमाडौंमा बसेर सुदूरपश्चिमको दुर्गम ठाउँ र नेगेटिभ साइड मात्र देखेका छौं, त्यहाँ पुगेर धेरै सकारात्मक परिवर्तन आयो ।’

स्वस्तिमा र अर्पणको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ शुक्रबारबाट नेपालसहित अन्य केही देशमा प्रदर्शनमा आउँदैछ ।

तस्वीर : शंकर गिरी र आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?