+
+

पाकिस्तानी सेनाले भन्यो- मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ६:२०

२ असार, इस्लामावाद । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुसर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने बुधबार पाकिस्तानी सेनाले बताएको छ ।

उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुसर्रफ दुबईमा रहेको र उनको शरीरका प्रमुख अङ्गहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो । उपचारका लागि सन् २०१६ मा पाकिस्तान छोड्न अनुमति पाएपछि उनी पाकिस्तान फर्किएका छैनन् ।

जनरल मुसर्रफले आफ्नो शासन अवधिसँग सम्बन्धित थुप्रै अदालत मुद्दाहरूको सामना गरिरहेका छन् । मुसर्रफलाई देशद्रोहको आरोपमा उनको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाइएको थियो । यद्यपि उक्त फैसला पछि रद्द गरिएको छ ।

पाकिस्तानी सेनाको ‘इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर)’ प्रचार शाखाका प्रमुख मेजर जनरल बाबर इफ्तीखरले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘यो संस्था र यसको नेतृत्व पर्वेज मुसर्रफको खराब स्वास्थ्यलाई ध्यानमा राखेर देश फर्किन चाहेमा उहाँको परिवारको चाहनाअनुसार स्वदेश फर्किन दिनुपर्ने निष्कर्षमा पुगेको छ ।’ आईएसपीआरले बुधबारको दिन एएफपीलाई आफ्नो टिप्पणी पुष्टि गर्‍यो ।

मुसर्रफले अझै पनि देश फर्किएपछि पनि थुप्रै मुद्दाहरूको सामना गर्नुपर्ने मतहरू पनि आएका छन् ।

पाकिस्तानको स्वतन्त्रतापछि सेनाले विभिन्न समयमा लामो समयसम्म पाकिस्तानमाथि शासन गर्दै आएको छ । सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले मुसर्रफ सेना प्रमुख रहेका समय पदबाट निलम्बन गर्न खोजेपछि मुसर्रफले सेनाको सहयोगमा राज्यसत्ताको नेतृत्व पनि सम्हालेका थिए । त्यसपछि करिब नौ वर्ष उनले पाकिस्तानमा शासन गरेका थिए ।

कमजोर रहेको पाकिस्तानी अर्थतन्त्र सुधारका लागि उनको नेतृत्व सफल भएको थियो । यद्यपि सत्तामा रहँदा मानव अधिकार उल्लङ्घन तथा भ्रष्टाचार गरेको आरोपमा उनीविरूद्ध दर्जनौँ मुद्दाहरू पाकिस्तानी अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?