 
																			२ असार, कीभ । संयुक्त राष्ट्रसंघीय यूक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भए पनि ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।
आयोगका अध्यक्ष एरिक मोसेले कीभमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।’
उनले भने, ‘खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ । अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।’
तर मोसेले मार्चमा कीभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको बताए । ‘आयोगले संकलन गरेको प्रमाणहरू युद्ध अपराध र मानवताविरुद्ध अपराधसहित मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई पुष्टि गर्नसक्ने आधारहरू बन्न सक्छन्,’ उनले भने ।
बुचा, इर्पिन, खार्किभ र सुमिको भ्रमणका क्रममा आयोगले नागरिकबाट साक्षी बयान संकलन गर्नुका साथै स्थानीय अधिकारी तथा नागरिक समाजका संगठनहरूसँग पनि भेटघाट गरेको थियो ।
आयोगका सदस्य पाब्लो डे ग्रिफले भने, ‘उदाहरणका लागि आम विनाशको साक्षी दिनु वा जानाजानी हत्याको विवरण प्राप्त गर्नु एउटा कुरा हो, तर यी तथ्यहरूको कानुनी आधारसहित निर्णयमा आउनु अर्कै कुरा हो ।’
युक्रेनमा फेब्रुअरी र मार्चमा भएका घटनाहरूको जाँच गर्ने जिम्मेवारी पाएको आयोग आगामी महिना आफ्नो कामलाई निरन्तरता दिन स्वदेश फर्कनेछ ।
संयुक्त राष्ट्रसंघको अनुगमन युक्रेनमा संभावित युद्ध अपराधको विभिन्न अन्तर्राष्ट्रिय अनुगमनहरूमध्ये एक हो । यसमा अपराधमामिला हेर्ने अन्तरराष्ट्रिय अदालत (आईसीसी) द्वारा खोलिएको एउटा जाँच पनि समावेश छ जसको अभियोजनकर्ता करीम खान हालै खारकिभ गएका थिए ।
यूक्रेनका महाधिवेशन जनरल इरिना भेनेडिक्टोभाले बुधबार भनिन्, ‘वकिल खानले अपराध स्थलको सावधानीपूर्वक अनुगमन तथा जानकारी सङ्कलन गर्दै छन् र हाम्रा अभियोजनकर्ताहरूलाई महत्वपूर्ण प्रश्नहरू सोधिरहनुभएको छ ।’
खानले खारकिभ छिमेकमा रहेको एक बस्तीमा भ्रमण गरी एकै स्थानमा केटाकेटीसहित नौ जना सर्वसाधारणको मृत्यु हुनेगरी भएको आक्रमणबारे अनुसन्धान गरिरहेको बताइएको छ । उक्त आक्रमणमा पाँच महिने बालकसहित मे २६ मा भएको बम विस्फोटनमा घाइते भएका अन्य १७ जनाबारे पनि अनुसन्धान भइरहेको छ । एएफपी
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4