+
+

‘पानीफोटो’को मर्मस्पर्शी टिजर : बेपत्ता छोरा खोज्न हिंडेका दम्पतीको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १४:२१

काठमाडौं । खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को आधिकारिक टिजर रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बिहीबार टिजर सार्वजनिक गरिएको हो ।

टिजर रिलिजअघि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले फिल्म प्रदर्शनपछि ‘पानीफोटो’ निर्देशनको यात्रालाई समेटेर पुस्तक समेत सार्वजनिक गर्ने बताए ।

१ मिनेट ३० सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत अटाएका छन् । टिजर मर्मस्पर्शी लाग्छ ।

टिजरमा समावेश मेनुका प्रधानको संवादले समग्र फिल्मको सिनोप्सिसलाई प्रस्तुत गर्छ । मेनुका भन्छिन्, ‘लोग्नेमान्छे र स्वास्नीमान्छेसँगै भएपछि दःख हुने रहेछ । हाम्रो बिहे नभए छोरा जन्मने थिएन । छोरा नजन्मिया भए यसरी खोज्दै हिंड्नुपर्ने थिएन ।’

फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा पेश गर्छ । खगेन्द्रकै पटकथा रहेको यो फिल्ममा यसअघि नाटक पनि मञ्चन भएको छ ।

मञ्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

भर्चुअल पत्रकार सम्मेलनमा खगेन्द्रले नाटक हेरेकालाई पनि फिल्म मनपर्ने बताए । फिल्मको ट्रेलर असार २८ गते रिलिज हुने जनाइएको छ भने फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?