+
+

एसपीपीबारे छलफल गर्न प्रधानसेनापति शर्मा संसदीय समितिको बैठकमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते ९:२९

२ असार, काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भएका छन् ।

समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुलाई पनि छलफलमा बोलाइएको छ । बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई समेत बोलाइएको छ ।

बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन र विविध विषयमा छलफल हुने एजेन्डा रहेका छन् ।

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीका लागि अमेरिकालाई पत्राचार गरेका थिए । यो विषय सार्वजनिक भएपछि सरकार र सेनाको आलोचना भइरहेको छ । प्रतिनिधिसभाका सदस्यहरूले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन् ।

बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको थियो । दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो । त्यसको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको थियो ।

तर, त्यसको भोलिपल्ट बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौंस्थित अमेरिकी दूतावासलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?