+
+

लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको दूत बन्दै र्‍यापर लाउरे

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:०२

काठमाडौं । र्‍याप गायक लाउरेले प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध सद्भावना दूतको रुपमा काम गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई असार ७ गतेदेखि सुरु हुने लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको दूत तोकेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै उनले जिम्मेवारीअनुसार विद्यार्थी तथा लक्षित समूहलाई लागूऔषधविरुद्ध जनचेतना जगाउने कार्य गर्ने बताए । ‘म हिरासतमा हुँदाखेरि नै यसबारे कुरा भएको थियो । समाजमा उदाहरण हुन्छ गर्नुस् भनेर आग्रह गर्नुभएको थियो,’ लाउरेले भने,’ ‘यो अवसरलाई सदुपयोग गर्दै प्रहरीसँगको सहकार्यमा कार्य गर्नेछु ।’

जिम्मेवारी अनुसार लाउरेले पोखरास्थित पुनर्स्थापना केन्द्र, औषधि पसलको निरीक्षण, विद्यालय कलेज भ्रमण र अन्तरक्रिया, सम्बन्धित अधिकारीसँग टीभी कार्यक्रम सञ्चालन र असार १२ गते अन्तर्राष्ट्रिय लागूऔषधविरुद्धको दिवसमा कार्य गर्नेछन् ।

उक्त अवसरमा गायन र नृत्य प्रस्तुति समेत सञ्चालन हुने भएको छ । विद्यालय र कलेजमा पुगेर लाउरेले लागूऔषधलाई लिएर आफ्नो निजी अनुभव पनि बाँड्ने भएका छन् ।

यसैबीच, असार ११ गते पर्ने जन्मदिनमा लाउरेले आफ्नो जीवनबाट प्रभावित गीत ‘बिरामी’ सार्वजनिक गर्ने भएका छन् । यो गीतको भिडियो छायांकन भइसकेको छ । ‘यो गीत मेरो जीवनसँग सम्बन्धित छ,’ उनले भने । लागूऔषध मुद्दामा उनले जिल्ला प्रहरी कार्यालयमा तारेख पनि लिइरहेका छन् ।

धरौटीमा रिहा भएपछि लाउरे अहिले संगीतका साथै सामाजिक कार्यमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?