+
+

एसपीपीमा सहभागी नहुने भनेर प्रधानमन्त्री देउवाले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:२७

३ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुन नहुने बताए । उनले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गरे ।

अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा राखे ।

उनले भने, ‘नेपालको भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालले कुनैपनि हालतमा यो स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु हुँदैन । यो कार्यलाई अघि नबढाउनको निमित्त म प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई आग्रह गर्न चाहन्छु । यस सम्बन्धमा अहिले जुन किसिमको चर्चा चलिराखेको छ, जुन किसिमको विवादहरु चलिराखेको छ । यो विवादको निराकरण चाँडोभन्दा चाँडो गरिनुपर्दछ । एसपीपीबाट अलग हुन चाहन्छौ भन्ने पत्र तत्काल लेख्नको निमित्त म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको बताए । उनले नेपालको दुवै छिमेकी मुलुकहरु चिन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको बताए ।

सरकारको क्रियाकलापका कारण चिनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उनको भनाई छ । उनले छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुदृढ बनाउनुपर्नेमा जोड दिदैँ छिमेकीहरुलाई नचिढ्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

उनले भने, ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल केन्द्रको रुपमा देखापर्न थालिराखेको छ । भारतले नेपाललाई विश्वास गरिराखेको छैन । यस्तो अवस्थामा दुवै छिमेकीसँग सम्बन्ध बिगारेर नेपालको बृहत्तर आर्थिक साथसाथै सुरक्षाको मामिलामा पनि सरकारले जटिल अवस्थाको सिर्जना गरिराखेको छ । छिमेकी मित्र राष्ट्रहरु सँगको सम्बन्धलाई सुदृढ गर्नको निमित्त छिमेकीहरुलाई चिढ्याउने काम नगर्नको निमित्त पनि म सरकारलाई आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष थापाले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गरे । उनले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताए ।

उनले अर्थमन्त्री शर्माले अहिलेसम्म राजीनामा नदिएको तथा प्रधानमन्त्रीले नहटाएको भन्दै आश्चर्य प्रकट गरे । उक्त कार्य संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोणबाट आपत्तिजनक भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?