+
+

यस्ता छन् ‘कर्पोरेट पे’का सुविधाहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १२:५२

काठमाडौं । केही वर्ष अघिसम्म पैसाको कारोबार हातहात मै गर्ने नेपाली समाज अहिले विस्तारै डिजिटल प्रयोग तर्फ रुपान्तरण भइरहेको छ । हरेक बैंकको आ–आफ्नै अनलाइन बैंकिङ सुविधा, विभिन्न वालेटहरु र पैसा कारोबारको क्यूआर जस्ता सहज र सुलभ सेवाका कारण सहरी पुस्ताले विस्तारै नगदरहित कारोबारलाई अपनाउदै गएका छन् र कोभिड-१९ महामारीका कारण उत्पन्न परिस्थितिले डिजिटल कारोबारलाई फड्को लिन थप सहज भयाे ।नगदरहित डिजिटल कारोबारको केहीवर्षको यो फड्कोले साना रकमको कारोबार गर्ने शैली नै बदलिदिएको छ ।

चेक क्लियरिङ तथा अनलाइन भुक्तानी सेवाहरु मर्फत नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले विगत केही वर्षदेखि समग्र भुक्तानी प्रणाली उद्योगलाई सहजीकरण गर्दै राम्रो काम गरिरहेको छ । यी सुविधाहरुले साँच्चिकै भुक्तानी उद्योग परिवर्तन गरी कारोबार गर्ने शैली र कारोबारको आकार बदलिन सफल भएको देखिन्छ ।

इन्टरनेट र मोबाइल फोनको प्रयोग बढेसँगै अनलाइन भुक्तानी सेवाहरु मार्फत हुने कारोबारहरु फस्टाइ रहेको छ भने परम्परागत रुपमा ग्राहकहरु बीच आदान प्रदान हुने चेकको कारोबार पनि यथावत नै रहेको देखिन्छ ।

अनलाइन मार्फत विभिन्न च्यानलहरु उपलब्ध रहेका भुक्तानी सेवाहरुले व्यक्तिगत ग्राहकहरुको कारोबार गर्न आवश्यक पूर्वाधारहरु स्थापीत भइसकेको अवश्थामा व्यावसायिक ग्राहकका कारोबारहरु भने अझै पनि डिजिटल प्रणाली मार्फत हुन बाँकी देखिन्छ । व्यावसायिक ग्राहकले पनि अनलाइन मार्फत आफ्नो कारोबार गर्न व्यत्तिगत ग्राहकलाई उपलब्ध भएका च्यानलहरुलाई प्रयोग गर्नुपर्ने व्यवस्थाको कारण, आजको दिनमा पनि, कम्पनीका ग्राहकले, सरकारी भुक्तानी तथा कर लगायतका सबैखाले कारोबार अझै पनि चेकमार्फत नै गर्नुपर्ने बाध्यताभएकोपाइन्छ ।

डिजिटल अर्थतन्त्रको बहुस भइरहेको बेला चेकमार्फतको कारोबारको बाध्यताले व्यावसायिक प्रतिष्ठानलाई चेकमार्फतको भुक्तानीका लागि खर्च हुने जनशक्ति, समय र त्यसका लागि आवश्यक पर्ने चेक वाहक व्यक्तिको भौतिक उपस्थितिको विकल्प सोच्न झक्झकाएको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्थानलाई पनि चेकको सेवा दिंदा लाग्ने उच्च लागतले गर्दा कर्पोरेट ग्राहकलाई अनलाइन कारोबार गर्न दिन मिल्ने अन्य विकल्प खोजी रहेको अवस्था छ ।

यस्ता समस्याको हलहुने गरी बैंकका कर्पोरेट ग्राहकले एकै पटकमा ३० करोड रुपैयाँसम्म (सरकारीबाहेकका अन्य कारोबारमा २० करोडसम्म) कारोबार गर्न सकिने डिजिटल भुक्तानी प्रणाली, ‘कर्पोरेट पे’ एनसीएचएलले गत वर्षदेखि आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थानहरुलाई उपलब्ध गराउदै आएको छ जस अन्तर्गत बैंकहरुले उक्त प्रणाली आफ्ना व्यावसायीक ग्राहकहरुलाई उपलब्ध गराएका छन् । हालसम्म विकास भएका सबै डिजिटल भुक्तानी प्रणाली भन्दा एकै पटकमा धेरै रकम पठाउन तथा पाउन सकिने यो प्रणाली बैंकका कर्पोरेट ग्राहकहरुको लागि डिजिटल भुक्तानीको विकल्प हुनुको साथै कारोबार गर्न चाहिने विभिन्न तहमा सुरक्षाको पनि उच्चतम व्यवस्था गरिएको प्रणाली मानिएको छ ।

‘कर्पोरेट पे’ के हो ?

बैंक तथा वित्तीय संस्थानका कर्पोरेट तथा व्यावसायिक ग्राहकले डिजिटल माध्यमबाट कारोबार गर्न बनाइएको प्लेटफर्म नै ‘कर्पोरेट पे’ हो । एनसीएचएलले आफ्नो सदस्य बैंक वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गरी उपलब्ध गराएको र सञ्चालनमा ल्याएको यो डिजिटल प्रणालीबाट रियल टाइम तथा नन रियल टाइम गरी क्रमशः २० लाख र ३० करोड रुपैयाँसम्म रकम भुक्तानी गर्न सकिन्छ । ठूला, साना, मझौला, घरेलु तथा सबै खाले उद्योग संस्था र प्रतिष्ठानले तथा सरकारी संस्थाले यो प्रणालीमार्फत अब नगदरहित कारोबार गर्न सक्छन् ।

‘कर्पोरेट पे’ का सुविधाहरु

ग्राहकहरुले आफ्नो विभिन्न बैंक खाताबाट सुरक्षित रुपमा राजस्व, कर तथा भन्सार महसुल लगायतका सबै खाले सरकारी ठूला र अनिवार्य भुक्तानी, संस्थाका कर्मचारीको तलव भुक्तानी, तथा अन्य रकमहरु भुक्तानी गर्न यो प्रणाली प्रयोग गर्न सकिन्छ । चेक काटेर संस्थाको आधिकारीक व्यक्तिहरुको हस्ताक्षर गराएर बैंकसम्म पुग्नु पर्ने व्यवस्थाको विकल्पमा रहेको यो प्रणाली संसारको जुनकुनै कुनामा बसेर सञ्चालन गर्न सकिन्छ । भने एकै पटकमा एक्सएल फाइलमार्फत थोकमा गर्नुपर्ने कारोबारहरु पनि ब्ल्क अपलोड गर्न सकिन्छ ।

अब कुनै पनि संस्थाकोआधिकारीक व्यक्तिको भौतिक अनुपस्थितिका कारण भुक्तानी कारोबार नरोकियोस् भन्ने परिकल्पना यो प्रणालीले गरेको छ । कुनै पनि व्यावसायिक संस्थाले आफ्नो आवश्यकताअनुरुप एक भन्दा बढी व्यक्तिलाई आधिकारिक रुपमा प्रणालीको प्रयोग गर्न उपयुक्त अनुमति प्रदान गर्न सक्दछन् भने विभिन्न पदानुक्रम समेत सेटअप गर्न सकिन्छ ।

व्यावसायिक भुक्तानीको योे प्रणालीमार्फत रु. २० लाख रुपैयाँसम्मको भुक्तानी कारोबार रियल टाइम नै हुन्छ । यद्यपि सरकारी भुक्तानीको हकमा सरकारी खाता भएकै बैंकमा खाता भएमा प्रतिकारोबार रु. एक करोड रुपैयाँसम्म पनि रियल टाइम नै भुक्तानी हुने व्यवस्था रहेको छ ।

वैकल्पिक रुपमा हतार नभएका रु. २० लाखसम्ममा कारोबार नन रियल टाइममा कारोबार दिनमा नै जम्मा हुने गरी पनि गर्न सकिन्छ भने सरकारी राजश्व तथा अन्य कुनै पनि खालको २० लाखभन्दा धेरै ३० करोड रुपैयाँसम्मको भुक्तानी भने नन रियल टाइममा हुने गर्दछ । प्रणालीमा भुक्तानी आदेश दिएको समय अनुसार नन रियल टाइमका लागि राखिएमा कारोबारहरु, कारोबार दिनमा नै तर केही समयको अन्तरालमा हितग्राहीको खातामा जम्मा हुने गर्दछ ।

यसमा रहेको रिपोर्ट फिचरर्सबाट आफ्नो कारोबर हेर्नका साथै कारोबारको विवरण सुरक्षित गर्न भौचर निकाल्न तथा डिजिटल अभिलेख तयार गर्न सकिन्छ । आबद्ध रहेका बैंक अनुसार डिजिटल बैंक स्टेटमेन्ट लगायतका अन्य सुविधाहरु पनि उपलब्ध हुने व्यवस्था रहेको छ, जुन यस अघि प्रयोगमा रहेका कुनै पनि प्लेटफर्ममा उपलब्ध थिएन । ‘कर्पोरेट पे’ को सुविधा अन्तर्गत कारोबार गर्दा सेन्डरको तर्फबाट सेवा शुल्क काटिन्छ भने भेण्डर पेमेन्ट फिचर्सबाट पेमेन्ट गरियो भने लाभग्राहीको खाताबाट नै सेवा शुल्क काटिने प्रावधान रहेको छ ।

यो सेवाका सुरक्षाविशेषताहरुः

कर्पोरेट पे प्रणालीमा दभकत उत्कृष्ट अभ्यास अन्तर्गतका उच्चतम सुरक्षाका व्यवस्थाहरु उपलब्ध गरिएका छन् भने सेवा सञ्चालन गाइडलाइन पनि निकै चुस्त गरिएको छ । यो भुक्तानी प्रक्रियामा इनिसियटरले भुक्तानीआदेशको प्रारम्भिक विवरण बनाउँदछ भने अप्रुभरले उक्त कारोबार विवरण ठिक भए नभएको निरीक्षण गर्छ र अप्रुभ गर्छ । एड्मीनले नन फाइनान्सियल काम अर्थात युजर व्यवस्थापन र खाता व्यवस्थापनको काम गर्छ । आवश्यकता अनुसार संस्थाले एक भन्दा बढी अप्रुभर र इनिसियटर बनाउन सक्छन् ।

थप सुरक्षाको लागि यसमा गुगल अथेन्टिकेटरको २एफए प्रयोग गरिएको छ । फलस्वरुप तोकिएका भन्दा बाहिरका मानिसले पासवर्डमा कुनै हिसाबले पहुँच पाउँदैनन् । संस्थाको आवश्यकताअनुसार विभिन्न तहका आधिकारीक व्यक्तिलाई भुक्तानी रकम र किसिमको आधारमा भुक्तानी स्वीकृत गराउन मिल्ने गरी अप्रुभर प्रयोगकर्ताको म्याट्रिक्सको सेटअप गरी कारोबार प्रमाणीकरण गराइ अगाडि बढउन सकिन्छ ।

‘कर्पोरेट पे’ मा कति कारोबार भइरहेको छ ?

आर्थिक वर्ष २०७७/७८ को पुस महिनाबाट औपचारीक रुपमा गरिएको कर्पोरेट पे प्रणालीको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ, नेपाल क्लियरिङ हाउसको पछिल्लो विवरण अनुसार आव ०७८/७९ को अषाढ महिनामा ३.५ अर्बको १७ हजार कारोबार भएकोमा सोही आवको जेठ महिनामा ३२ अर्ब बराबरको ८९ हजार कारोबार भएको छ भने हालसम्म ४ हजार २०० भन्दा बढी व्यावसायिक संस्था तथा कम्पनीहरुले उक्त प्रणालीमा आबद्ध भई कारोबार गर्न थालिसकेका छन् ।

यो सेवा कसरी प्राप्त गर्न सकिन्छ ?

‘कर्पोरेट पे’ प्रणालीका लागिनिवेदक संस्था आफैंले https://corporatepay.connectips.com मा गएर अनलाइन निवेदन गर्न सक्छन् । अथवा आफ्नो बैंक खाता रहेको बैंकको कार्यालयमा गएर निवेदन गरेर पनि यो सुविधा प्राप्त गर्न सक्छन् । बैंक खाता लिंक गर्नका लागि तथा अप्रोभल गर्न सम्बन्धित बैंक वित्तीय संस्थानले आवश्यक कागतपत्रको माग गर्न सक्ने हुँदा, सम्बन्धित बैंकमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative