+
+

प्रधानमन्त्रीलाई अनुपस्थित हुनुको कारण सोध्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १४:१३

५ असार, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् भने कांग्रेस सांसदहरुले कार्यव्यस्तताका कारण होला भन्दै बचाउ गरेका थिए । लामो छलफलपछि सभापति खरेलले प्रधानमन्त्री संसदीय समितिमा अनुपस्थित हुनु लोकतन्त्र तथा संसदको संसदीय प्रणाली प्रतिकुल भएकाले ध्यानाकर्षण गराउने निर्णय गर्ने प्रस्ताव गरिन् ।

तर कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले भने समिति सभापतिको निर्णयप्रति असहमति जनाए । उनीहरुले प्रधानमन्त्रीलाई फेरि बोलाउन सकिने, तर एक पटक नआउँदैमा लोकतन्त्र प्रतिकुल भन्न नहुने तर्क गरे ।

विवाद र बहसपछि समिति सभापति खरेलले निर्णय सुनाइन्, ‘प्रधानमन्त्रीलाई आमन्त्रण गरिएकोमा अन्तिम क्षणमा सचिवालयमार्फत समितिलाई उपस्थित नहुने जानकारी गराउनुभयो । प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले भने आपत्ति जनाए । एमाले सांसद भीम रावलले ‘संसदमा पनि विरोधका बीच एमसीसी पास भयो भने यहाँ हल्लाका बीच पारित भयो भनेर अन्यथा लिनु पर्दैन’ भन्दै सभापति खरेललाई ढाडस दिए । र, सभापति खरेलले पनि बैठक सकिएको घोषणा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?