+
+

तारमा माइला दाइ, सञ्जालमा हामी

हामी समाजमा ज्ञान होइन, गाली दिन मन पराउँछौं । समाज सुधार्न होइन, गुरु बन्न तम्सिन्छौं ।

गीता पोखरेल गीता पोखरेल
२०७९ असार ६ गते ८:५२

(१)

तारमा हिंड्छ बिजुली होइन
नुवाकोट हल्लायो भूकम्प होइन
मासु भात दिंदा नि झर्दैन कार्यकर्ता होइन

(२)

भाइरल हुन तारमा झुण्डिनुपर्ने रहेछ, म भने मोबाइलमा झुन्डिरहें … थुक्क !

सामाजिक सञ्जालमा माथिका दुई पोस्ट भेटें । सामान्य लाग्ने त्यो पनि सामाजिक सञ्जालमा साझा गरिएका यी दुई पोस्टले जीवनमा असामान्य पाठ सिकायो ।

केही दिन अगाडि मैले फेसबुकको कमेन्ट सेक्सनबाट लिएका यी दुई वटा हास्यास्पद कमेन्टहरू आफ्नो ट्वीटरको टाइम लाइनमा पोस्ट गरें । धेरैका कमेन्टमध्ये एउटा कमेन्टले पाठ त पढायो तर कमेन्टरप्रति सद्भाव जागेन । उहाँले कमेन्ट गर्नुभयो ‘मानसिक बिमारीलाई मजाक नबनाऊँ ।’

मैले यो पोस्ट गर्दा माइला दाइ तारमा नै हुनुहुन्थ्यो । उहाँको कुनै पनि शारीरिक र मानसिक अवस्थाको जानकारी मलाई थिएन ।

कमेन्ट मेरो पनि थिएन- कपी पेस्ट थियो अनि कमेन्ट गर्ने व्यक्ति पनि थाहा छैन । किनकि धेरैले कपी पेस्ट गरिसकेका थिए । कमेन्ट गर्नेले मेरो पोस्टमा कमेन्ट गर्दा पनि उहाँ मानसिक बिरामी भएको पुष्टि भएको थिएन । त्यसैले मैले रिप्लाई गरें- ‘मानसिक बिरामी पुष्टि गरिदिनुभयो ?’

फेरि रिप्लाई आयो- ‘होइनन् भन्ने तपाईंले प्रमाणित गर्नुभयो ? उनीसँग वार्ता गरेका मान्छेको कुरा पत्याउने कि तपाईंको ? धेरै भाइरल बन्ने रहरले समस्यामा पार्ला है !’

मैले पनि रिप्लाई गरें, ‘यो पोस्ट कहिले गरेको मिति हेर्नुभयो ? कि मैले पोस्ट गर्न तपाईंको अनुमति लिनुपर्थ्यो ? मन नपरे जस्ट इग्नोर इट, भाइरल हुने चाहना त तपाईंको देखियो । मैले त तार चढ्नेसमेत बहादुर देखें ।’

मेरो मनसाय थियो- मान्छे स्वस्थ भएको पुष्टि गर्नुपर्ने हो र ?

उहाँले ‘वाहियात’ भनेर बिट मार्नुभयो । तर मेरो इगो हर्ट भयो । मैले अब पोस्टमा क्षमायाचना गर्नुपर्ने नै देखिनँ । फेरि शब्द प्रहार गरें- ‘तपाईंको लागि उपयुक्त शब्द त्यही हो- वाहियात ।’

हामी सुधार गर्न होइन, विरोध गर्न खप्पिस छौं । मेरो पोस्टमा आएर गाली गरेको मलाई मन परेन । सायद मेरो पोस्ट ‘अफेन्सिभ’ थियो होला तर मेरो गल्ती देखाउने तरिका नमिलेकोले मेरो ‘इगो हर्ट’ भयो ।

हामी समाजमा ज्ञान होइन, गाली दिन मन पराउँछौं । समाज सुधार्न होइन, गुरु बन्न तम्सिन्छौं । हामी हाम्रो सबैभन्दा प्रिय मान्छे केराको बोक्रामा चिप्लिएर सामान्य लड्यो भने के गर्छाैं ? सायद हाँस्छौं होला । तर, हाँस्नु भनेको तँलाई ठिक्क पर्‍यो भन्नुहुन्छ होला त ? पक्कै हुँदैन ।

हामीले मान्छेले जानेर वा नजानेर गरेका सामान्य गल्ती देखाउनु र सिकाउनु राम्रो कुरा हो तर सामान्य कुरामा छडी लिएर उभिंदा नकारात्मक असर पर्न जान्छ । हामीले गरेका खिसिटिउरीले अरूलाई नोक्सान पुग्ने कुरा हामी सोच्दैनौं ।

सामाजिक सञ्जाल मलाई विश्वविद्यालय लाग्छ । म जस्ता एकलव्यहरू धेरै हुनुहुन्छ होला त्यहाँ, जहाँ हामी ज्ञानको तिर्खा मेट्न पुग्छौं । जहाँ गुरु पनि भेटिन्छन् । खराब नियत भएका मानिस पनि । गुरुले ज्ञान दिएर जानुहुन्छ र गलत नियत भएका मानिसहरू गुरुदक्षिणामा केही दिन चैन लिएर तनाव दिएर जानुहुन्छ । सकारात्मक तरिकाले ज्ञान बाँड्न सकिन्छ अनि केही समय कुरेर पोस्ट गर्न पनि सकिन्छ तर हामी प्रतीक्षा गर्नै चाहँदैनौं । सकारात्मक ढङ्गले सोच्नै सक्दैनौं । सकारात्मक तरिकाले सिकाउने कोसिस पनि गर्दैनौं ।

अर्काे सामान्य लाग्ने तर धेरै पीडा दिने घटना सम्झिएँ । केही वर्ष अगाडि घर नजिकैका एकजना छिमेकी बित्नुभएको थियो । हामी त्यहाँ गयौं । तराईबाट आउनुभएकी काकी पनि जानुभयो । घरको पेटीमा ९५ वर्षीय मेरो हजुरबुवा बस्नुभएको थियो । फर्केर काकीले सुनाउनुभयो- ‘छिमेकी बुबा बित्नुभएछ बा, तपाईं कति वर्ष पुग्नुभयो ?’

मैले सहनै सकिनँ । ‘एक महिना अगाडि ऊ त्यहाँकी आन्टीले विष सेवन गरेर आत्महत्या गर्नुभयो, अनि काकी तपाईं कति वर्ष पुग्नुभयो ?’

मैले प्रश्नको पीडा बुझाउन काकीलाई प्रतिप्रश्न गरेकी थिएँ र छिमेकी आन्टी काल्पनिक हुनुहुन्थ्यो ।
काकीलाई अलि कुनामा बोलाएर सोधें, ‘तपाईंलाई चित्त दुख्यो होला है ? उमेर धेरै नभएको तपाईंलाई चित्त दुख्छ भने ९५ वर्षका हजुरबुवालाई कस्तो वचन हो त्यो ? सायद त्यो उमेरमा जीवनका केही हिम्मत हराएका हुन्छन् होला । अनि हामी प्रश्नको गोली चलाउने ? आइन्दा सोचेर बोल्नुहोला काकी ।’

मानसिक बिमारी, बालापन, बुढ्यौली, कमजोरी, निरीहपन हाम्रा कर्तव्य हुन् र यस्ता व्यक्तिहरूको मजाक बनाइनु राम्रो होइन र बनाइनुहुँदैन । न त दुर्व्यसनीमा फसेका युवालाई भाइरल गराइनु राम्रो हो । उहाँहरूले नबोलेरै सरेन्डर गरिसक्नुभयो । हामीले सके साथ र सहयोग गरौं, नसके मजाक नगरौं ।

नजानेरै भए पनि ट्वीटरको मेरो पोस्टबाट पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छु । सिक्ने र बुझाउने कार्यमा म सदैव तत्पर रहनेछु । सायद म जस्तै धेरैलाई मजाक र खिसिटिउरीको अर्को पाटो मनन् गर्न यो मेरो अनुभवले सहयोग पुर्‍याउने अपेक्षा लिएकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?