+
+

बुढीगण्डकी पीडितको गुनासो : बैंकहरुले मुआब्जा रकम झिक्न दिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १४:११

६ असार, काठमाडौं । बुढीगण्डकी आयोजनाबाट घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा पाएका डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्न नदिएको गुनासो गरेका छन् ।

बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार एक विज्ञप्ति जारी गरी बैंकहरुले मुआब्जा रकम खाताबाट झिक्न नदिएकामा आपत्ति जनाएको छ । संयोजक हरेराम ढकालले जारी गरेको विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको त होइन ?’

सरोकार समितिले डुवानबासीलाई आफ्नो खातामा आएको मुआब्जा आफ्नो चाहना अनुसार प्रयोग गर्न दिन पनि आग्रह गरेको छ । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइले डुवान क्षेत्रका वासिन्दालाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा आएको हो भन्ने सूचना नदिएको भन्दै सरोकार समितिले आपत्ति जनाएको छ ।

‘बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो’ समिति संयोजक हरेराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डुवानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न पनि सरोकार समितिले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?