+
+

सिर्सिया नदी बचाउन महानगरपालिका, उद्योग वाणिज्य संघ र प्रशासनको पुनः ध्यानाकर्षण 

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असार ७ गते ९:४७
ध्यानाकर्षण पत्र बुझ्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह

७ असार, वीरगञ्ज । सिर्सिया नदीलाई बचाउन पुनः अग्रसर भएका वीरगञ्जवासीले जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज महानरपालिका, उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘सरिसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियान, वीरगञ्ज’को नामबाट सरोकारवालालाई बुझाइएको ध्यानाकर्षण पत्रमा नदीलाई प्रदूषणमुक्त बनाउन आग्रह गरिएको छ । अभियानका संयोजक सुरेन्द्र कुर्मीको नेतृत्वमा तीन वटै कार्यालयमा पुगेको टोलीले ध्यानाकर्षण पत्र बुझाउदै नदीमा विद्यमान प्रदूषण नियन्त्रणका लागि जिम्मेवार भइदिन आग्रह गरेको थियो ।

ध्यानाकर्षण पत्रमा नेपालको संविधानमै नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था रहेको तर सिर्सिया नदीमा उद्योगहरुले गरेको प्रदूषणले वीरगञ्जवासी समस्यामा परेकोबारे ध्यानाकर्षण गराइएको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले २०६७ मंसिर २२ मा ‘सिर्सिया नदीको प्रदूषण अनुगमन समिति गठन गरेको र सो समितिले बुझाएको प्रतिवेदन अनुसार कुनै कारबाही नभएकोबारे पनि ध्यानाकर्षण गराइएको छ ।

वीरगञ्ज महानगरपालिकाको मध्य भाग भएर सिर्सिया नदी बग्ने गरेको छ । बाराको रामवन झाडीबाट निर्मल जल सहित बग्ने सिर्सिया नदी वीरगञ्ज– १ छपकैया पुग्दासम्म नालामा परिणत भएको छ । नदीमा कञ्चन पानी बग्नुको साटो कालो गन्हाउने लेदो बग्छ । नदीलाई महानगरपालिका भित्र पर्ने नेशनल लेदर, नेपाल लेदर, सुशिल बनस्पति, अर्निका प्रोसिस, मोरियम लेदर, त्रिशक्ति सिमेन्ट, विश्वकर्म सिमेन्ट, कलश सिमेन्ट, अन्नपूर्ण भेजिटेबल्स लगायत उद्योगहरुले आफ्नो उद्योगबाट निस्केको बोसो, रौं, रसायन, पशु शरीरको ठोस अवशेष लगायत अन्य औद्योगिक फोहोर नाला मार्फत नदीमा खसाउने गरेका छन् । त्यसबाहेक स–साना उद्योग र घरबाट निस्कने फोहोर पानीले पनि नदीलाई प्रदूषित र दुर्गन्धित बनाइरहेको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं २७ मा रहेको हिरो बफ मिट, मध्यमाञ्चल वन मिलको दुर्गन्धले आसपासका क्षेत्रमा बसोबास गर्दै आएका नगरवासीले सास्ती भोग्दै आएका छन् । उद्योगबाट फालिने हड्डी तथा मासुका टुक्राहरु खान आउने कुकुर र स्यालले मानिसहरुलाई समेत टोक्ने गरेका छन् । यसबाट वडा नं १८, २० र २७ का आम नागरिकको जीवन कष्टकर भएको स्थानीय दिपेन्द्र सिंह पटेल बताउँछन् ।

दशकौंदेखि आफूहरु पीडित भइरहे पनि समस्या समाधान गर्न कुनै निकायले चासो नदिएको पटेलको गुनासो छ । ‘पटक–पटक आन्दोलन गरेका छौं, ०६९ सालमा प्रदूषण गर्ने उद्योगमा गएर कुरा राख्यौं, उल्टै प्रशासन बोलाएर दमन गरियो, आमरण अनशनमा बस्दा उद्योग वाणिज्य संघले वार्तामा बोलायो,’ उनले भने, ‘त्यसबेला गरिएको सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन ।’

सिर्सिया नदीमा विद्यमान प्रदूषणका कारण जलचर मरिसकेका छन् । माछा, भ्यागुतादेखि सर्पसमेत नदीमा देखिन छोडेका छन् । नदीको जैविक विविधता समाप्त हुनुको साथै आसपासका क्षेत्रमा छाला, मुटु, क्यान्सर, दमका रोगीहरुको संख्या बढेको दावी अभियन्ताहरुको छ ।

नदीको प्रदूषण रोक्ने संकल्प पटक–पटक गरेर पनि कार्यान्वयनमा नल्याएको सरोकारवालासँग विश्वास गर्ने आधार नभए पनि झकझकाउने काम गरेको अभियन्ता एवं लोसपा वीरगञ्ज महानगर अध्यक्ष ओम प्रकाश सर्राफ बताउँछन् । ‘सरोकारवालाले नदीको प्रदूषण नियन्त्रण गर्लान् भन्ने विश्वास त छैन । तर पनि झकझकाउने काम गरेका छौं,’ उनले भने ।

सरोकारवालाले पहल गर्ने अपेक्षा

छठको समयमा प्रशासनको दबाबमा उद्योग बन्द गरेपछि नदीमा केही सफा पानी देखिने गरेको छ । त्यसपछि नदी पुनः प्रदूषित हुने गरेको छ ।

अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले नदी प्रदूषण गर्ने उद्योगी व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न सरोकारवालाले पहल गर्ने अपेक्षा राखेर ध्यानाकर्षण पत्र बुझाइएको बताए । ‘छाला उद्योग र बोइलर प्रयोग गर्ने उद्योगका कारण नदी प्रदूषित छ । त्यहि विषाक्त पानी नदीमा खसाइन्छ । वीरगञ्जवासीको लागि सिर्सिया गंगा हो । ज्यूँदो हुँदा छठ पूजा गर्न जान्छन्, मरेपछि सिर्सियामा नै विसर्जन गरिन्छ,’ उनले भने ।

आफूहरुले उद्योग बन्द गर्न खोजेको आरोप लाग्ने गरेको बताउँदै उनले त्यसो नभई नदी प्रदूषण गर्ने उद्योगी व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न सरोकारवालाले पहल गरोस् भन्ने चाहेको बताए ।

ध्यानाकर्षण पत्र बुझदै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव आशिष लाठले नदी प्रदूषण नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिए । उनले भने, ‘प्रदूषण गर्ने उद्योगहरुलाई बोलाएर समस्या समाधान कसरी गर्न सकिन्छ भनेर छलफल गर्छौं, विकल्प छैन भने सरोकारवालाको ध्यानाकर्षण पनि गराउँछौं ।’

प्रमुख जिल्ला अधिकारी उमेश ढकालले प्रदूषण गर्ने उद्योगको नाम तोकेर निवेदन आएको खण्डमा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले समस्या समाधानका लागि बारा, पर्साका उद्योगी व्यवसायी र स्थानीय पालिकाकाका जनप्रतिनिधिसँग छलफल गर्ने आश्वासन समेत दिएका छन् ।

स्थानीय तहको निर्वाचन अघि पाँच दलीय गठबन्धनले वीरगञ्ज महानगरपालिकाका लागि सार्वजनिक गरेको साझा प्रतिबद्धतापत्रमा पनि सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्ने उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदीमा विद्यमान प्रदूषण कसरी नियन्त्रण गर्ने ? भन्नेबारे प्रमुख जिल्ला अधिकारीसँग एक चरणको छलफल भइसकेको बताए ।

नगरको सरसफाइ र असार १० गते हुने नगर सभाको ११ औं अधिवेशनमा आफूले ध्यान केन्द्रित गरेको बताउँदै उनले नगर सभापछि सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि काम अघि बढाउने आश्वासन दिए । ‘नदी प्रदूषणको सवालमा सबैभन्दा बढी जिम्मेवार उद्योग मन्त्रालय हुनुपर्ने हो, उद्योग सञ्चालन गर्दा प्रदूषित पानी प्रशोधन गरेर मात्रै नदीमा खसाउने प्रतिबद्धता जनाइएको हुन्छ । तर मन्त्रालयले अनुगमन गरेको देखिएको छैन, प्रतिबद्धता कार्यान्वयन गरेको छ कि छैन हेर्नुपर्छ,’ उनले भने ‘सडकमा धर्ना बसेर, आन्दोलन गरेर नदी सफा हुँदैन, सबै मिलेर लाग्नुपर्छ, साथ दिनुस्, निश्चित रुपमा नदी सफा हुन्छ ।’ आउने छठदेखि नै सिर्सिया नदीमा निर्मल जल बग्ने दावी उनले गरे ।

०७६ सालको कात्तिकमा पनि यसैगरी अभियानले सरोकारवालाको ध्यानाकर्षण गराएको थियो । प्रदूषण नियन्त्रणका लागि सरोकारवालाले प्रतिबद्धता जनाउने गरेको भएपनि ठोस काम हुन सकेको छैन ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?