+
+

मेयरको अधिकार कटौती गर्ने एमालेको प्रयास, नमान्दा कार्यपालिका बहिस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १४:४७

७ असार, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा बहुमत कार्यपालिका सदस्य रहेको नेकपा एमालेले मेयरको अधिकार कटौती गर्न खोजेको छ । तर त्यसमा सहमति नजुटेपछि कार्यपालिका  बैठक नै बहिस्कार गरेको छ ।

नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो ।

हेटौंडाकी मेयर मिना लामा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्, तर कार्यपालिकामा एमालेको बहुमत छ । एमालेले ल्याएको संशोधन प्रस्तावले मेयरको अधिकार कटौती गर्ने देखिन्छ ।

तर एमालेको संशोधनमा मेयर मिना लामासहित अरूले सहमति जनाएन । मेयरको अधिकार कटौती गर्ने प्रयासमा सहमति नजुटेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका छन् ।

एमालेले पेश गरेको स‌ंशोधन प्रस्ताव

अल्पमत मै पारित गर्ने निर्णय

एमालेले बैठक बहिस्कार गरेपछि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख मीनाकुमारी लामाले नगर परिषदमा पेश गर्ने निर्णय गरेको जानकारी दिए ।

नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएकोले बिमति जनाउँदै बैठक बहिष्कार गरेको नेकपा एमालेबाट निर्वाचित १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिए ।

‘हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन सकेको छैन’, लामाले बताए । कार्यविधि र नियमावलीमा संशोधन प्रस्ताव नै दर्ता गर्न समेत नमान्ने, विधिअनुसार बजेट नआएकै कारण बैठक बहिष्कार गर्न बाध्य भएको कार्यपालिका सदस्य सुनिल मोक्तानले बताए ।

प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट असार १० गते आउने छ । १० गतेको बजेट पास हुने उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?