+
+

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

रासस रासस
२०७९ असार ९ गते १६:३१

९ असार, पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बनेकी छिन् । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् ।

स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् ।

‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ’, उनले भने । उनका श्रीमान् सुकबहादुर गुरुङ मोदी-८ चित्रेकै वडाध्यक्ष हुन् ।

श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने सुकबहादुरले बताए ।

‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन । वडाबाट फर्किँदा लौ म त कक्षा १ मा भर्ना भएर आएँ भनिन’, उनले भने, ‘म त अचम्ममा परेँ, यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ ।’ आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ ।

‘गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन भन्दा लाजको मान्नुहुन्थ्यो । अब भने पढ्न जान्दछु कि भन्ने विश्वास बढेको छ’, उनले सुनाए । विष्णु जिल्लाकै नमूना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गरे ।

विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिनाले बताए ।

पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?