+
+
मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलसँग संवाद :

‘जलवायु संकट र संस्कृतिका कुरा विश्वलाई सुनाउँछौं’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ असार ९ गते १८:२९

९ असार, काठमाडौं । पर्यटक र यात्रीबीच के भिन्नता छ ? पर्यटकको निश्चित गन्तव्य हुँदैन, ऊ घुम्न स्वतन्त्र हुन्छ, तर यात्रीसँग गन्तव्य हुन्छ । सरिशा श्रेष्ठ र न्यान्सी खड्कालाई पनि यस्तै लाग्छ ।

मिस नेपाल अर्थ सरिशा र मिस नेपाल इन्टरनेसनल न्यान्सी ‘मिस नेपाल पेजेन्ट’लाई यी विशेषतासँगै तुलना गर्छन् । मनसुन सुरु भएपछि बिहीबार धुम्म परेको काठमाडौंमा यी दुई सुन्दरी ताज जितेपछि अनलाइनखबरसँग गफिंदै थिए ।

चिकित्सक समेत रहेकी ललितपुरकी सरिशा मिस नेपालजस्ता ब्युटी पेजेन्ट जनतालाई आवाज सुनाउने बाटो रहेको बताउँछिन् । ‘मिस नेपाल मेरो लागि गन्तव्य होइन, प्लेटफर्म हो,’ भन्छिन्, ‘समाजमा धेरै आवाज छन् । ती आवाज सुनाउने बाटो मात्र हो । अब बाटो खुलेको छ ।’

सरिशा मान्छेको प्रतिभालाई कुनै एउटा क्षेत्रमा सीमित तुल्याउन नहुने बताउँछिन् । ‘हेल्थ लिट्रेसी, वातावरण र समाजमा सकारात्मक परिवर्तन ल्याउन मन छ,’ उनी भन्छिन् ।

यसअघि मिस नेपाल युनिभर्स २०२० की रनरअप समेत रहिसकेकी विराटनगरकी न्यान्सीलाई ब्युटी पेजेन्ट नयाँ होइन । विदेशी अखबारमा समेत छाएकी डीभा यसपटक मिस नेपाल इन्टरनेसनलको टाइटल जितेपछि गद्गद देखिएकी छन् ।

मिस नेपाल अर्थ सरिशा श्रेष्ठ

न्यान्सी भन्छिन्, ‘मेरा लागि क्राउन जब र दायित्वको एउटा प्रतीक थियो । प्लेटफर्म र क्राउन मात्र होइन, मेरो लागि एउटा जागिर हो र अन्ततः मैले पाएकी छु ।’ बाल्यकालदेखि नै न्यान्सीको सपना मिस नेपाल बन्नु थियो र अन्ततः बनिन् पनि ।

मिस नेपालप्रतिको उनको मोह यतिविधि देखियो कि मिस युनिभर्सको राष्ट्रिय संस्करणमा रनरअप बनेपछि पनि उनको धित मेटिएन । ‘धेरै वर्षदेखिको ड्रीम थियो । हरेक कुरा चाँडो भइरहेको थियो । क्राउन जितेको अर्को बिहान साथीहरुसँग ब्रेकफास्ट गरें,’ उनी सुनिइन् ।

सरिशालाई चाहिं ताज जितेपछिको अर्को बिहान अवास्तविक महसुस भयो । ‘जितेको भोलिपल्ट पनि मलाई अनरियल जस्तो लागेको थियो । खुसी थिएँ, हार्डवर्कले रिजल्ट पनि राम्रै ल्यायो,’ भन्छिन्, ‘अब काम गरेर देखाउन चाहन्छु ।’

सरिशा मिस अर्थको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुगेर जलवायु परिवर्तन र उष्णताले नेपालमा ल्याएको संकटबारेका मुद्दा प्रस्तुत गर्न चाहन्छिन् । हिमाल र हिमनदी पग्लिएको, जंगलमा डढेलो फैलिएको, बाढीपहिरोको विपद् बढेको लगायतका जलवायु मुद्दा प्रस्तुत गर्ने उनको तयारी छ ।

उनी काठमाडौंको हावाको गुणस्तरबारे पनि विश्वमञ्चमा भनाइ राख्न चाहन्छिन् । अनि मिस अर्थ जित्छु भन्ने आत्मविश्वास पनि उनमा झल्कियो । ‘मेरो देश नै मेरो एक्स–फ्याक्टर हो । वातावरण मात्र होइन, नेपाललाई हामीले विश्वस्तरमा चिनाउन सकिने धेरै कुरा छन् । यससँगै मेरो प्रतिबद्धता पनि छ,’ उनी भन्छिन् ।

न्यान्सीले त आगामी डिसेम्बर १३ मा जापानमा हुने मिस इन्टरनेसनललाई लिएर तयारी पनि थालेकी छन् । ‘क्राउन जितेदेखि नै काम गर्न सुरु गरें । यसबारे रिसर्च पनि गरिरहेकी छु,’ भन्छिन्, ‘मलाई अरुजस्तो बन्नुछैन । मेरो उपस्थिति नै मेरो सशक्तीकरण हो ।’

मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का

अवश्य पनि मिस नेपाल बन्नु नेपालका योङ लेडीहरुको सपना हो । यसपटक ८०० जनाले आवेदन दिए जसमध्ये २०० जनाले अडिसन दिए, २४ जनाले मात्र फाइनलमा प्रतिस्पर्धा गरे ।

मिस नेपालको सपना देख्ने नयाँ युवतीलाई सरिशा र न्यान्सीका थुप्रै सल्लाह छन् । सरिशा शिक्षा र करिअरलाई प्राथमिकतामा राखेर मात्र मिस नेपालमा प्रतिस्पर्धा गर्न सुझाउँछिन् । भन्छिन्, ‘मिस नेपाललाई गोलभन्दा पनि प्लेटफर्म भनेर बुझ्नुहोस् । शिक्षा र करिअरलाई प्राथमिकतामा राख्नुस् । चाहिने मेहनतबारे बुझ्नुस् । मिस नेपालले एक महिनामा परिवर्तन गर्ने होइन, प्रतिभा निखार्ने हो । पेजेन्टका धेरै विधालाई बुझेर आउनुस् ।’

न्यान्सी पनि कडा मेहनत गरेर मात्र आउन सुझाउँछिन् । सुरुदेखि नै कडा तयारी गरेर मात्र आउन उनको सल्लाह छ ।

यी सुन्दरीले आफूले आफूलाई कसरी वर्णन गर्छन् ? सरिशा आफूलाई ‘ड्रिमर’, ‘बिलिभर’ र ‘अचिभर’ भनेर व्याख्या गर्छिन् । ‘मलाई सपना देख्न मन लाग्छ, खुला आँखाले देख्छु,’ उनी दार्शनिक सुनिइन् ।

न्यान्सी आफूलाई ‘कन्फिडेन्ट’, ‘इन्सपायरिङ’, ‘इम्पेथेटिक’ भनेर चिनाउन चाहन्छिन् । ‘विश्वले अझै पनि मेरो यो पक्ष बुझ्न बाँकी छ,’ उनी भन्छिन् । सरिशा र न्यान्सी सपना देख्ने र आफ्नो आवाज विश्वमाझ सुनाउन चाहने आधुनिक तन्नेरी पुस्ताका केही प्रतिनिधि उदाहरण हुन्, जो समाजका रोलमोडल बन्न चाहन्छन् ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?