+
+

‘वास्तविक किसानले नपाउने भएपछि अनुदान हटायौं, प्रोत्साहनको नीति लिएका छौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १८:५५

९ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिएको बताएका छन् ।

विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको बताए ।

‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्,’ उनले भने, ‘तर, अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौं ।’

उनले आर्थिक वर्ष २०७९/८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए ।

किसानको उत्पादन बजारसम्म सहजै पुर्‍याउन कृषि एम्बुलेन्सको सुरुवात गरेको उनले बताए । उनले वार्षिक साढे तीन खर्ब भन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने बताए ।

‘आयात प्रतिस्थानका लागि कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ’ उनले भने ।

जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम उपयोग गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित गर्न खोजिएको उनले बताए ।

बजेटले लिएको नीतिकै कारण भारतको हैदराबादमा रहेको दुई वटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उनको भनाइ छ । कार्यक्रममा विश्व बैंककी प्रबन्ध निर्देशक पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?