+
+

एमालेको होहल्लापछि जीतपुरसिमराको नगरसभा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १९:३३

१० असार, बारा । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि सहभागी नभएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ । १ सय २५ जना नगर सभा सदस्य रहेकोमा शुक्रबार डाकिएको नगरसभामा ४५ जना मात्रै उपस्थित भएका हुन् ।

जीतपुरको बकुलिया माविको सभाकक्षमा एमालेका तर्फबाट निर्वाचित उपप्रमुख भोला अधिकारी सहित अन्य कार्यपालिका सदस्यहरु पुगे पनि उनीहरुले होहल्ला गरेका थिए । बिहान ११ बजे देखि नै सुरु हुने भनिएको नगरसभास्थलमा एमालेका कार्यपालिका सदस्यहरु दिउँसो २ बजेतिर दलबलसहित नगरसभास्थलमा पुगेका थिए ।

वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ताले आफूसँगै नगरसभा सदस्य भन्दा बाहिरका व्यक्तिसमेत लगेर विवाद गरेको आरोप छ ।

‘एमालेतर्फका जनप्रतिनिधि ढिलो आउनुभयो, आएपछि पनि शान्तसँग बस्नुभएन, हो–हल्ला गर्न थाल्नुभयो, वडा अध्यक्षले आसेपासे समेत लिएर आउनुभयो, कुर्सीमा लात हान्नेसम्मको क्रियाकलाप भयो’, प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले भने ‘नगरसभामा आएर पनि उपस्थितिमा हस्ताक्षर गर्नुभएन, त्यसैले गर्दा गणपुरक संख्या पुगेन ।’

गणपुरक संख्या नपुगेकोले नगरसभा स्थगित गर्नुपरेको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा सञ्चालन नियमावली, २०७५ मा नगर पहिलो पटक आह्वान गरिएको सूचनामार्फत सभा सञ्चालन गर्न नगर सभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित हुनुपर्ने उल्लेख छ ।

गणपुरक संख्या नपुगेमा अध्यक्षले तीन दिन भित्र अर्को बैठकका लागि सूचित गर्नुपर्ने हुन्छ । त्यसमा पनि गणपुरक संख्या नपुगेमा दुई दिनभित्र नगर सभा बस्नेगरी सूचना जारी गर्नुपर्ने हुन्छ । फेरि सूचना गर्दा गणपुरक संख्या नपुगेमा कम्तीमा २५ प्रतिशत सदस्यहरुको उपस्थितिमा नगरसभा बस्न सक्ने व्यवस्था नियमावलीमा छ ।

नीति, कार्यक्रम तथा बजेटमा मेयर पौडेलले मनपरी ढंगले वडाका लागि बजेट विनियोजन गरेको भन्दै एमालेका कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

विगतमा एउटै वडाले ३ करोडसम्म पाएकोमा यसपटक २४ वटा वडाका लागि २८ करोड ३२ लाख रुपैयाँ मात्रै छुट्याइएको भन्दै एमालेका वडा अध्यक्षहरु असन्तुष्ट छन् । जीतपुरसिमराले १ अर्ब ५५ करोडको बजेट ल्याउने तयारी गरेको थियो ।

वडा नं. २० का वडा अध्यक्ष रसुल मियाँले अझैसम्म पदभार ग्रहण गर्न नपाएकोमा नगर प्रमुख पौडेलले समन्वय नगरिदिएको भन्दै एमाले असन्तुष्ट छ । उपप्रमुख भोला अधिकारीले तयारी गर्नुपर्ने कुराहरु नगरिएकोले कार्यसम्पादन गर्न समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?