+
+

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

जनक विष्ट जनक विष्ट
२०७९ असार १२ गते १३:०१

१२ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् ।

सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् ।

‘हामीले मन्त्रालयबाट सिफारिस गरेको ठूलो संख्याका योजना काटेर अर्थमन्त्रीज्यूले आफूखुसी बजेट डाइभर्ट गरेर अन्य मन्त्रालयमा हाल्नुभएको छ’, मन्त्री बोहरा निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसैले प्रधानमन्त्रीज्यू र गठबन्धनका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएर गल्ती सच्याउन दबाव दिन मन्त्रीज्यू काठमाडौं जानुभएको हो ।’

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सदस्य तथा तल्लो तहबाट माग भएर आएका योजना आर्थिक मामिला मन्त्रालयले काटेर ठूलो बजेट मन्दिर निर्माणमा पारिदिएपछि असन्तुष्टि बढेको हो ।

सामाजिक विकास मन्त्री बोहराले यो बीचमा मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएपनि सुनवाइ नभएको भन्दै शीर्ष नेताबाट दबाव दिन काठमाडौं पुगेका हुन् ।

मन्त्री बोहरा प्रधानमन्त्री देउवाका विश्वास पात्र मानिन्छन् । बोहरा काठमाडौं पुगेसँगै गठबन्धनका शीर्ष नेताले छलफलका लागि आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावललाई बोलाएपछि उनी शनिबार धनगढीबाट गएका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसद पनि काठमाडौंमा

बजेट संशोधनको माग राखेर यथास्थितिमा प्रदेशसभाको बैठक चल्न नदिने अडानमा रहेका सत्तारुढ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु समेत काठमाडौं पुगेका छन् । एकीकृत समाजवादी का १२ जना र माओवादी केन्द्रका बिरमान चौधरीसहितका केही प्रदेशसभा सदस्यहरु काठमाडौं पुगेको स्रोतको भनाइ छ ।

तर नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलकी प्रमुख सचेतक दुर्गा बिकले भने बजेटमाथिको असन्तुष्टिलाई लिएर नभइ सांसदहरु पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं गएको दाबी गरिन् । ‘बजेट सम्बन्धी असन्तुष्टिलाई लिएर होइन’, बिकले अनलाइनखबरसँग भनिन्, ‘हाम्रो पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय परिषद्को बैठक छ । माननीयज्यूहरु ती बैठकमा भाग लिन जानुभएको हो ।’ अन्य प्रदेशसभा सदस्यहरु काठमाडौं गएपनि बिक भने धनगढीमै छन् ।

माओवादी केन्द्रका सांसदहरु समेत बजेट सन्तुलित नभएको भन्दै गठबन्धनका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउन काठमाडौं पुगेका नेताहरुले बताएका छन् ।

प्रदेशसभाको बैठक अनिश्चित

आर्थिक ममिला मन्त्री प्रकाशबहादुर रावलले असार १ गते सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोड बराबरको अगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।

सरकारले विचौलियाको प्रभावमा परेर वित्तीय अनुशासन समेत उल्लङ्घन गरेर बजेट ल्याएको भन्दै सत्तारुढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेशसभाको बैठक बस्न सकेको छैन ।

सभामुख अर्जुनबहादुर थापाले सरकारको आग्रहमा ८ असारमा प्रदेशसभाको बैठक बोलाएपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरु बजेटविरुद्ध एकजुट भएपछि बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर बजेटमाथि असन्तुष्टि जनाउँदै आएका सत्तापक्षकै सांसदहरु मुख्यमन्त्री र अर्थमन्त्रीमाथि दबाव सिर्जना गर्न गठबन्धनका शीर्ष नेतालाई भेट्न काठमाडौं पुगेपछि बैठक झनै अनिश्चित भएको छ ।

बहुमत सांसदहरु प्रदेशबाहिर भएको बैठक बस्ने सम्भावना न्यून रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरु शीर्ष नेता भेट्न काठमाडौं प्रस्थान गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट पनि गृह जिल्ला डोटी गएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?