+
+
संसद दिवसमा सभामुख :

‘नागरिकता लगायतका महत्वपूर्ण विधेयक पारित गर्नुपर्ने अभिभारा छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते ५:४५

१६ असार, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा आफू सामू रहेको बताएका छन्  । ‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।

सन्देशमा लेखिएको छ, ‘दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले आफ्ना कार्यहरु निरन्तर अगाडि बढाइरहेको छ । हामी सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नु पर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनु पर्ने अभिभारा छ ।’

संसद दिवसले लोकतान्त्रिक परिपाटीको रक्षा र सुदृढीकरणका लागि संघीय संसदका सदस्यहरु, संविधान सभाका सदस्य, पूर्वसांसद, राष्ट्रसेवक कर्मचारीलगायत सबैमा एकजुट हुन प्रेरणा मिल्ने विश्वाससमेत सभामुखले लिएका छन् ।

संसद दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसदले भोग्नु परेका विविध आरोह-अवरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसदसँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको समेत सभामुखले बताएका छन् ।

नेपालमा वि.सं. २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा यस दिनलाई संसद दिवसका रुपमा मनाउने प्रचलन रहि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?