+
+

खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने पसल सञ्चालकलाई जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १२:१४

१६ असार, जनकपुरधाम । खरीद बिल नदेखाउने र अनुगमनमा असहयोग गर्ने सप्तरीको राजविराज र सिरहाको लहानका ११ पसललाई जरिवाना गरिएको छ । राजविराजका ७ र लहानका ४ पसललाई जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगञ्जले स्थानीय प्रहरी, प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा पसलमा अनुगमन गरेको छ । त्यस क्रममा खरीद बिल नदेखाउने, अनुगमन कार्यमा असहयोग गर्ने र मूल्य सूची नराख्ने पसललाई जरिवाना गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्बेले जानकारी दिए ।

उनका अनुसार मूल्य सूची नराख्ने राजविराजस्थित दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरीद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर, नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २० हजारका दरले र गौरब ट्रेडर्स  एण्ड सप्लायर्सलाई रु १० हजार, सिता ट्रेडर्स र लेडी  कलेक्सनलाई रु ५ हजारका दरले जरिवाना तोकिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी खत्बेले जानकारी दिए । उनका अनुसार अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरीद बिक्री केन्द्र र न्यु पूजा बस्त्रालयलाई २० हजार रुपैयाँकोे दरले जरिवाना गरिएको छ ।

लहानका ४ पसललाई जरिवाना

लहानका व्यवसायीले पनि खरीद बिल नराख्ने गरेको पाइएको छ । खरीद बिल नराख्ने नितिश ट्रेडर्स एण्ड सप्लायर्सलाई रु २० हजार, खान बुट हाउस र सलमान बुट हाउसलाई रु १० हजारका दरले जरिवाना तोकिएको छ ।

यस्तै, इजाजत पत्र नलिई कारोबार गर्ने श्रीजी डिमार्टमेन्ट स्टोरलाई रु ५० हजार जरिवाना तोकिएको छ ।

सूचना अधिकारी खत्बेले तोकिएको जरिवाना वापतको रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरी भौचर पेश गर्न निर्देशन दिइएको बताए ।

उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकाले सोही ऐनको दफा ३९ बमोजिम ती पसललाई जरिवाना तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?