+

बार्सिलोनामा जाभीको चिन्ता बढ्दो

२०७९ असार  १६ गते १९:१२ २०७९ असार १६ गते १९:१२

१६ असार.  काठमाडौं ।  अष्ट्रेलियामा २५ मेमा मैत्रीपूर्ण खेल खेलेपछि छुट्टीमा रहेका बार्सिलोनाका खेलाडी नयाँ सिजनका लागि सोमबारदेखि पुनः प्रशिक्षणमा फर्कँदैछन् ।

टोलीमा आन्तरिक प्रतिस्पर्धा बढाउन र ट्रफीको लागि प्रतिस्पर्धा गर्ने लक्ष्यसहित जाभीले गत सिजनमा नै टोलीमा महत्त्वपूर्ण सुधारको लागि प्रस्ताव गरेका थिए ।

ला लिगाको अन्तिम खेल भियारियल विरुद्ध खेलेपछिको पत्रकार सम्मेलनमा जाभीले अब कार्यालयमा काम सुरु हुने र त्यो काम मैदानमा हुने तयारी भन्दा महत्वपूर्ण हुने बताएका थिए ।

‘हामीले सबै मोर्चामा प्रतिस्पर्धा गर्न सुधार गर्नुपर्छ । प्रतिस्पर्धा गर्न सक्षम हुन हामीले धेरै चीजहरू परिवर्तन गर्नुपर्नेछ’, जाभीले भनेका थिए, ‘बार्सिलोना जस्तो ठूलो क्लबमा, तपाईंले उपाधि जित्न नसक्दा धेरै चिजहरु परिवर्तन गर्नुपर्छ ।’

तर छुट्टीको एक महिना पूरा हुँदा पनि टिममा धेरै परिवर्तन भएको छैन । न त जाभीले अपेक्षा गरे अनुसार टिममा सुदृढीकरण भएको छ, न त सहमति अनुसार बहिर्गमन नै भएको छ । यसले प्रशिक्षक जाभी हर्नान्डेजको चिन्ता बढेको छ ।

फेरान जुट्ग्ला र फिलिप काउटिन्होले क्लब छाडेका छन् । ड्यानी अल्भेसको सम्झौता पनि सकिएको छ र बार्सिलोनाले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । लोनमा रहेका मिरालेम प्यानिच, इनाकी पेना, एलेक्स कोलाडो र फ्रान्सिस्को ट्रिनकाओ फर्किएका छन् । यद्यपि क्लेमेन्ट लेन्ग्लेट, रिक्वी पुइग, स्यामुएल उम्टिटी, मार्टिन ब्रेथवेट र ओस्कर मिङ्ग्वेजा जस्ता क्लब छोड्ने अपेक्षा गरिएका खेलाडीहरू अझै पनि क्याम्प नोउमा नै छन् ।

उनीहरुलाई अर्को सिजन आफूले गणना नगर्ने भनेर प्रशिक्षकले सीधै जानकारी दिएका थिए । यदी उनीहरुले क्लब नछाडे पनि त्यसमध्ये अधिकांशको अवस्था परिवर्तन हुनेछ । यद्यपि, आउँदो केही हप्तामा उनीहरूका लागि अनुकूल क्लब फेला पार्नेमा क्याटालान क्लब विश्वस्त छ ।

तर जाभीले अपेक्षा गरेका खेलाडीहरु अझै बार्सिलोना आएका छैनन् । फ्रान्क केसी र एन्ड्रियास क्रिस्टेनसेन फ्रि ट्रान्सफरमा बार्सिलोना आउँदैछन् । उनीहरुको आधिकारिक घोषणा केही दिनमै हुनेछ ।

बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीलाई क्लबमा ल्याउन चाहेको छ । बायर्न म्युनिखले उनको मूल्य करिब ५० मिलियन युरो राखेको छ । बार्सिलोनाका उच्च अधिकारीले पोलिस फरवार्ड क्लबमा आउने आश्वासन जाभीलाई दिएका छन् । उनीहरूले जाभीलाई आफ्नो ड्रेसिङ रूम बलियो हुने र ला लिगा उपाधिका लागि चुनौती दिने टिम निर्माण गर्ने आश्वासन पनि दिएका छन् ।

जाभी बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय