+
+

अस्मिना कर्माचार्य : पाँच विकेटले चुलिएको चर्चा

नमिता दाहाल नमिता दाहाल
२०७९ असार १७ गते १०:१६

१७ असार, काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्नुलाई अन्तर्राष्ट्रिय सहभागिताको सन्निकट मानिन्छ । तर, अस्मिना कर्माचार्यले राष्ट्रिय क्रिकेट टोलीबाट खेल्न बन्द प्रशिक्षणमा परेपछि पनि ६ वर्ष प्रतीक्षा गर्नुपर्यो ।

२०७३ सालमा राजु बस्नेतले राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेको बेलनमा उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सामेल हुने पहिलो अवसर पाएकी थिइन् । यस्तै १३ औं सागको महिला क्रिकेट टिममा वैकल्पिक खेलाडीको रुपमा टिममा परेकी थिइन् । तर कसैको पनि विकल्प बन्न सकिनन् ।

घरेलु प्रतियोगितामा अब्बल प्रदर्शनका बाबजुद राष्ट्रिय टोलीबाट खेल्न नपाउँदा पनि उनले प्रयास गर्न छाडिनन् । निरन्तरको प्रयासपछि उनी गत जेठमा युगाण्डासँग भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलोपल्ट खेल्न पाइन् ।

युगान्डासँगको घरेलु सिरिजको पहिलो खेलमा रुविना क्षेत्रीबाट डेब्यु क्याप लिँदै अन्तर्राष्ट्रिय करिअर सुरु गरेकी उनले पहिलो खेलमा नै विकेट लिइन् । त्यसपछिका दुई खेलमा उनले मौका पाइनन् । चौथो र पाँचौं खेलमा पनि उनले राम्रो प्रभाव जमाइन् । उनको मुख्य कौशल तीव्र गतिको बलिङ हो । युगाण्डासँगको प्रदर्शनले उनी मलेसियामा भएको एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्ने टोलीमा परिन् ।

उत्कृष्ट बलरको ट्रफी

एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि जित्न नसके पनि फाइनलमा पुगेर एसिया कपका लागि छनोट हुने लक्ष्य लिएर क्वालालम्पुर पुगेको नेपाली टोलीले सेमिफाइनलभन्दा माथि पुग्न पाएन । युएईसँगको सेमिफाइनल खेल वर्षाले रद्ध भएपछि नेपालले खेल्नै नपाई हारको सामना गर्नुपर्यो ।

ड्रेसिङ रुममा सबै खेलाडी र प्रशिक्षकदेखि हरेक अफिसियल भावुक थिए । आँखाभरी आँसु र सपना टुटेको दुःख थियो । यो सबै दुःखका बीच नेपालका लागि एक मात्र खुसी थियो अस्मिनाको प्रदर्शन । युएईसँगको खेलमा पाँच विकेट लिएकी अस्मिनाले प्रतियोगिताको पाँच खेलमा ८ विकेट लिइन् र सर्वोत्कृष्ट बलर बनिन् । नेपालका लागि एकै खेलमा पाँचभन्दा विकेट लिने नेरी थापा र अञ्जली चन्दपछि उनी तेस्रो खेलाडी हुन् ।

अस्मिनाले युएईका ओपनरद्वयलाई सस्तैमा आउट गर्दै नेपालका लागि सुरुवाती खुसी दिइन् । उनले अन्तिम ओभरमा तीन विकेट लिँदै ५ विकेट पूरा गरेकी थिइन् । ५ विकेटको कोशेढुंगा पार गरेकोमा उनलाई साथीहरुले मैदानमै उचालेर खुसी मनाए । ‘त्यो बेला हामीले अब खेल जित्यौं भन्ने एउटा भावना आइसकेको थियो । सबैजना दोस्रो इनिङ्समा खेल जितेर फाइनल खेल्नेमा ढुक्क थियौं,’ वर्षाका कारण खेलको नतिजा आफ्नो हातबाट गुमे पनि उत्कृष्ट बलरको उपाधि पाएकी उनले भनिन्, ‘मेरा लागि मिश्रित अनुभव थियो । देशलाई जिताउन भनेर नै हामीले यो सबै कुरा गरिरहेका हुन्छौं । त्यो नतिजा हामीले पाएनौं ।’

प्रतियोगितामा पाएको उत्कृष्ट बलरको ट्रफी उनले देशकै नाममा समर्पित गरेकी छन् । ‘हाम्रो उपाधि जित्ने सपना त पूरा भएन तर त्यो एउटा ट्रफी भए पनि हामीले लिएर आउन पायौं । त्यही खुसी हो,’ उनले भनिन् ।

अस्मिनाले यो प्रतियोगिताबाट आफ्नो प्रतिभाको पहिचान पनि गरेकी छिन् । भन्छिन्, ‘मैले यति गर्नसक्छु भन्ने आत्मविश्वास मैले यो खेलबाट पाएको ठूलो शिक्षा हो । हामी अर्को पटक हामी अझ बलियो बनेर जानेछौं भन्ने विश्वास छ ।’

मलेसिया टुर उनको करिअरको पहिलो विदेश भ्रमण थियो । ‘मेरो लागि पहिलो विदेश भ्रमण थियो, तर मैले स्कुलदेखि नै देखेको सपना हो राष्ट्रिय टिममा परेर टिमको लागि खेल्नु र जिताउनु’, उनले अनलाइनखबरसँग भनिन् ।

युगाण्डासँगको डेब्यु खेल

मलेसियाको भ्रमण भन्दा निकै अलग थियो उनको अन्तर्राष्ट्रिय डेब्यु खेल । खेलाडी त सबै चिनेका नै थिए । तर पहिलो पटक आफ्नै नामको जर्सी, प्रशिक्षक जगत टमटाको सुझाव, पहिलो राष्ट्रिय खेल खेल्न जानुअघि गुरुको रणनीति र तौरतरिका बुझाउने काइदा सुन्दा एकदम रमाइलो लागिरहेको थियो उनलाई ।

‘डेब्यु क्याप लिँदा अब यो समयमा मैले मेरो देशको लागि केही गर्ने समय भयो भन्ने लागेको थियो,’ अघिल्लो महिनाको खेल सम्झँदै उनले भनिन्, ‘घरेलु मैदानमा खेल, धेरै जनाको समर्थन, नेपाली समर्थक र परिवारको अगाडि खेल्नुपर्ने कता–कता डर तर रमाइलो महसुस भइरहेको थियो ।’

पहिलो खेलमै विपक्षीलाई आउट गरेपछिको माहोल र खुसी उनी शब्दमा व्यक्त गर्न सक्दिनन् ।

मनोरञ्जनका लागि खेलेको क्रिकेट बन्यो करिअर

फर्पिङ दक्षिणकाली–५ बसपार्कमा घर भएकी अस्मिना विद्यालयस्तरबाट नै क्रिकेटमा रुचि राख्ने गर्थिन् । विद्यालयमा पुरुष विद्यार्थीको मात्रै टिम देखेर १३ वर्षकी अस्मिनाले साथीहरुलाई बटुलेर टिम बनाइन् र क्रिकेट सिक्न थालिन् ।

२०७१ सालमा काठमाडौं जिल्लाको टोलीबाट यू–१६ प्रतियोगिता खेलेकी उनले सोही वर्ष यू–१९ राष्ट्रिय प्रतियोगितामा वागमतीलाई जिताउन महत्वपूर्ण भूमिका खेलिन् । नेपालगञ्जमा भएको प्रतियोगितामा घरेलु टोलीविरुद्ध सुपरओभरमा बलिङ गरेकी उनले विपक्षीलाई ११ रनको लक्ष्य पूरा गर्न दिइनन् ।

सन् २०१६ मा नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीले निलम्बन गरेपछि उमेर समूहका प्रतियोगिता बन्द भए । उनले सिनियर टिमबाट बागमती प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगिता खेल्दै आइन् ।

सोखका रुपमा पहिलो पटक खेलेको जिल्लास्तरीय यू–१६ प्रतियोगिता होस् या घरेलु सिनियर प्रतियोगिता, उनको उत्साहमा कहिल्यै कमी आएन । बरु अनुभव र सीपले खेल निखारिँदै गयो ।

उनलाई याद छ उनले खेलेको त्यो उमेर समूहको खेल जसमा उनले पहिलो विकेट आफ्नी आमाको लागि समर्पण गरेकी थिइन् । ‘म खुसी थिएँ । परिवारको सबै जना हेर्न आउनु भएको थियो । ममी पनि त्यहीँ हुनुहुन्थ्यो । मैले पहिलो विकेट लिँदा ममीलाई हेरेर खुसी मनाएँ । उहाँ मभन्दा बढी खुसी हुनुहुन्थ्यो,’ अस्मिनाले करिअरका सुरुआती दिन स्मरण गरिन् ।

राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा गर्न लामो प्रतीक्षा गर्नुपरे पनि हरेस नखाएकी अस्मिनाले अप्ठेरो समयमा परिवारबाट सबैभन्दा धेरै साथ पाइन् । ‘आफूले मिहिनेत गर्छु भन्दा परिवार, साथी र प्रशिक्षकको सहयोगले यहाँसम्म आउन सकें,’ अनलाइनखबरसँग अस्मिनाले भनिन्, ‘प्रतियोगिता नभए पनि मिहिनेत गर्न भने छोडेको थिइनँ । आशा थियो एक न एक दिन त सफलता पाउँछु ।’

संयुक्त परिवारमा हुर्किएकी उनलाई परिवारबाट सानैमा अनुशासन र समय व्यवस्थापन सिकाइएको थियो । त्रिभुवन आदर्श उच्च माध्यमिक विद्यालयबाट आफ्नो विद्यालयस्तरको पढाइ सकेकी उनले गोल्डेन गेट कलेजमा उच्च माध्यमिक र त्रिटोन इन्टरनेशनल कलेजबाट बीबीएसमा स्नातक सकेकी छन् ।

पढाइ र खेललाई रुटिङ बनाएर समय व्यवस्थापन गर्न उनलाई अभिभावकले नै सिकाएका छन् । ‘बुवाले नै मलाई दुवै क्षेत्रमा बराबर समय दिनुपर्छ भनेर सिकाउनु भएको हो,’ परिवारको सहयोगबारे उनी भन्छिन्, ‘आफूलाई मन पर्ने काम गर्न सहयोग गर्ने परिवार पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु ।’

राष्ट्रिय टिमको चुनौती

दिनदिनै बढ्दै गएको उनको चर्चा सम्हाल्न र यसलाई निरन्तर रुपमा अघि बढाउनु अस्मिनाको चुनौती पनि हो । राष्ट्रिय महिला क्रिकेटको क्रेज बढ्दै गएको छ ।

नयाँ पुस्ताको निरन्तर आगमन भइरहेको छ । त्यसैले दायाँ हाते तीव्र बलर अस्मिनाले अल्फा स्पोर्टस् एकेडेमीमा क्रिकेट सिकिरहेकी छिन् । ‘राष्ट्रिय टिममा टिकिरहन प्रदर्शन खस्कन दिनु भएन । आफ्नो प्रदर्शनलाई यसरी नै कायम राख्नु पर्यो,’ उनले थपिन्, ‘नयाँ पुस्ता मभन्दा बढी क्षमतावान आउनेछन् । उनीहरुको अगाडि पनि आफू कमजोर देखिनु भएन, राष्ट्रिय टिममा टिकीरहन निकै गाह्रो छ ।’

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?