+
+

रोजगारीका लागि दैनिक २ हजार नेपाली विदेशिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १३:४७
फाइल तस्वीर

१९ असार, काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक औसत २ हजार नेपाली रोजगारीका लागि विदेश उडिरहेका छन् ।

वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा विदेशिने नेपालीको संख्या ६२ हजार ३४९ जना पुगेको छ ।

वैशाख महिनामा विदेशिने नेपालीको संख्या ४५ हजार ४ मात्रै थियो । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

वैशाखमा दैनिक औसत १ हजार ५ सय जना विदेश गएकोमा जेठमा त्यो संख्या औसत २ हजार नाघेको छ । गत जेठ महिनामा ३४ हजार ८०७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए ।

स्थानीय तह चुनावका कारण पनि वैशाखमा श्रम स्वीकृति नवीकरण गरेर जाने र नयाँ स्वीकृति लिएर जाने दुवै खालका श्रमिकको संख्या घटेको अनुमान थियो । वैशाखमा २३ हजारले मात्रै नयाँ श्रम भिसा प्रााप्त गरेर विदेश जान श्रम स्वीकृति पाएका थिए ।

२०७८ चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने अन्यले श्रम स्वीकृति नवीकरण गरेका थिए । फागुन महिनामा ५३ हजार ४५७ जना विदेश जान श्रम स्वीकृति पाएका थिए । माघ महिनामा यस्तो संख्या ५४ हजार ४७० जना थियो ।

पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए भने मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या नियमित गतिमा फर्किएको छ ।

अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् । चैत महिनादेखि मलेसियाबाट पनि माग आउन थालेको छ ।

विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । तर, २०७८ को जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । विभागका अनुसार गत साउनमा २५ हजार ४२८ जना, भदौमा ३६ हजार ४० जना, असोजमा ३९ हजार ६७१ जना र कात्तिक महिनामा ५४ हजार ९१८ जना नेपाली कामका लागि विदेश उडेका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्षको जेठयता लगातार उकालो लागिरहेकामा पुसबाट घट्न सुरु गरेको थियो । फेरि विदेश जाने नेपालीको संख्या उकालो लाग्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?