+
+

प्रचण्डले कसलाई बनाउलान् महासचिव ?

नेताहरूका अनुसार छलफलकै क्रममा प्रचण्डले ‘चर्चा नभएको नामतिर जाउ कि क्या हो ?’ भनेका छन् । त्यसैले प्रचण्डले महासचिवमा कसलाई संकेत गरेका हुन् भन्ने नेताहरूले अनुमान गर्न खोजेका छन्, तर यही होला भन्न सक्ने अवस्था छैन ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार २१ गते २१:२०

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा दुई दिनसम्म उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार जवाफ दिनुपर्ने थियो ।

त्यसैले प्रचण्डले मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाए । केन्द्रीय समितिको बैठक बुधबार १ बजेलाई सारेर नेताहरु छलफलमा जुटे । तर पदाधिकारीको टुंगो लागेको छैन ।

गत पुसमा महाधिवेशन गरेको माओवादीले पदाधिकारी, स्थायी समिति र पोलिट्व्यूरो बनाउन सकेको छैन । नेताहरुका अनुसार प्रचण्ड, यो केन्द्रीय समितिबाट पोलिटब्यूरो र स्थायी समिति बनाएपनि पदाधिकारी टुंग्याउने मुडमा थिएनन् ।

तर केन्द्रीय समितिमा अधिकांशले भए सहमति, नभए मतदानबाटै भएपनि पदाधिकारी टुंग्गो लगाउनुपर्ने बताए । बुधबार खुमलटारमा भएको छलफलमा पनि नेताहरुले पदाधिकारी र पार्टीका अरु संरचना टुंग्याएर जानुपर्नेमा जोड दिए । पूर्व स्थायी समिति सदस्य गणेश साह भन्छन्, ‘सबैको कुरा यसरी राख्नुहुन्न, केन्द्रीय समिति जसरी बनाइयो, त्यसैगरी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी बनाउनुपर्छ भन्ने थियो ।

पदाधिकारी टुंग्याउन दबाव आएपछि प्रचण्डले प्रस्ताव राखे, सहमतिमा गरौं, भोटिङमा नजाऔं । आफूले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी प्रस्ताव गर्ने, तर मतदानमा नलैजाने प्रस्तावमा नेताहरुले मौन सहमति जनाएका छन् ।

‘पदाधिकारीसहित स्थायी समिति, पोलिटब्यूरो भोलि सबै पेस हुन्छ, पास हुन्छ’, नेता हरिबोल गजुरेल भन्छन्, ‘सहमतिबाट गर्ने, अध्यक्षले ल्याएको प्रस्ताव स्वीकार गरेर जाने तर चुनावमा नजाने सहमति भएको छ ।’

माओवादी केन्द्रमा पदाधिकारी संख्या कति भन्ने यकिन छैन । पुसको महाधिवेशनमा विधान संशोधन पेश गर्दा १५ भनिएपनि पास गर्दा आवश्यकताअनुसार भनिएको छ । पदाधिकारीमा पनि सबभन्दा चासो महासचिव को भन्ने छ ।

चर्चामै नभएको नामतिर जाउँ कि क्या हो ?

माओवादी केन्द्रमा महासचिवका आकांक्षी धेरै छन् । जनादर्न शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ महासचिवका आकांक्षीका रुपमा हेरिएको छ ।

एक सहभागीका अनुसार बैठकमा अर्थमन्त्री समेत रहेका नेता जर्नादन शर्माले आफ्नो आकांक्षा झल्किने गरी धारणा राखेका थिए भने अर्का आकांक्षी वर्षमान पुनले अध्यक्षले जस्तो प्रस्ताव ल्याए पनि मान्ने बताएका थिए । धेरैले भने ‘सबैको सल्लाहलाई मनन गरी काम सजिले हुने गरी नाम प्रस्ताव गर्न’ सुझाएका थिए ।

एक नेताका अनुसार छलफलकै क्रममा प्रचण्डले ‘चर्चा नभएको नामतिर जाउ कि क्या हो ?’ भनेका थिए । बैठकपछि नेताहरुले प्रचण्डलाई कसलाई संकेत गरेका हुन् भन्ने अनुमान गरेका छन् । तर यही होला भन्न सक्ने अवस्था नभएकाले भोलिसम्म कुर्नुको विकल्प नभएको एक नेताले बताए ।

नेता डिलाराम आचार्यका अनुसार दिउँसो १ बजे केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्नेछ । भन्छन्, ‘उहाँले भोलि केन्द्रीय कार्यालयको विस्तारित बैठकमा प्रस्ताव ल्याउनुहोला, त्यहाँ फाइनल गरेर केन्द्रीय समितिमा लैजाने कुरा भएको छ ।’

पदाधिकारी संख्या प्रचण्डको इच्छा अनुसार

संगठनको सबै प्रस्ताव पेस गर्ने अधिकार पाएका प्रचण्डले पदाधिकारीको संख्या पनि निर्धारण गर्ने छन् । माओवादीको विधानमा बहुपदाधिकारीको व्यवस्था गरिएको भए पनि संख्या नतोकिएकाले संख्यमा पनि प्रचण्डकै तजबिज चल्ने देखिएको छ ।

नेता गजुरेलका अनुसार विधानमा उल्लेख नभएकाले संख्या जति बनाएपनि हुने अवस्था छ । ‘विधानमा उल्लेख नभएको हुनाले अलि सानो बनाउँदा पनि हुन्छ, ठूलो बनाउँदा हुन्छ,’ उनले भने, ‘मलाई चाहिँ ११–१५ को बीचमा राख्दा ठीक हुन्छ जस्तो लाग्छ ।’

पदाधिकारीको नाममा छलफल नभएपनि स्थायी समिति र पोलिटब्यूरो समिति सदस्यको नाम करिब–करिब टुंगिएको नेता आचार्यले बताए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?