+
+

फ्ल्यासब्याकमा ‘कन्दरा’ : लोकपप संगीतको त्यो मधुर युग

शिव मुखिया शिव मुखिया
२०७९ असार २४ गते १९:१०

काठमाडौं । उनले परैबाट हात हल्लाए ।

पृष्ठभूमिमा ‘ॐ मणि पद्मे हूँ’को मधुर धुन बजिरहेको र हावामा रंगीविरंगी लुङदर फहराइरहेकोे थियो । वनस्पति धुपले वायुमण्डल सुगन्धित थियो । प्रातकाल घर्कनै लाग्दा हामी ठमेलको बहुरंगी कोलाजमा मिसिइसकेका थियौं ।

६ फिट भन्दा अग्ला । छरितो ज्यान । हार्दिक मुस्कान । बताससँगै सुस्तरी लहराइरहेका मौसमी फूलहरुको पछिल्तिर प्रफुल्ल मुद्रामा उभिइरहेका थिए, विवेक श्रेष्ठ ।

विवेक उही हुन्, जसको जादुमयी आवाजले ५० को दशकमा मधुर कम्पन प्रवाह गरेको थियो । त्यसले तन्नेरी हृदयमा रोमाञ्चक झंकार पैदा गर्दथ्योे । आवाजको घनत्व र गुरुत्वबलले मोहनी लगाउँथ्यो । अनि वैरागीहरु ‘बुटी’को सर्कोमा मदमग्न भएझैं त्यो पुस्ता संगीतमा लठ्ठ पर्थे ।

‘विदेशिएर गइन् उनी’, ‘फूल्चोकीको डाँडैमा’, ‘तिमीपारि’, ‘लेककी हे माया’, ‘तगारोमा रुमाल राखी’, ‘हङकङ पोखरा’ जस्ता गीतले सहरका चोक–गल्लीदेखि दूरदराजका कुना–कन्दरा घन्काएको थियो । त्यो लोकपप संगीतको युग थियो । युग थियो, कन्दराहरुको । अनि युग थियो, विवेकहरुको ।

यसको अर्थ हुन्थ्यो, कन्दराको उक्त गीत सर्वाधिक रुचाइएका छन् । त्यसताका रामकृष्ण ढकालको ‘रिसाउँदा नि आफ्नै’, नेपथ्य ब्यान्डको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीत पनि त्यसमा सूचीकृत थियो ।

अडियो क्यासेटको कभरमा त्यही सौम्य अनुहार हुन्थ्यो, जो आज हाम्रो सामुन्ने छन् । अनुहार उही, आवाज उस्तै । फेरिएको त युग हो ।

फर्कौं ५० को दशकतिर ।

पप संगीतको तुफानी लहर चलेको समय थियो । ड्रम र गिटारको पाश्र्वध्वनिमा गुञ्जिने पप गीतले हरेकको हृदय स्पर्श गरेको थियो । गाउँ–टोलमा सांगीतिक ब्यान्ड खोल्ने होड थियो । कन्सर्ट गर्ने, गीत रेकर्ड गर्ने, क्यासेट निकाल्ने क्रम सुरु भएको थियो । घर–घरमा अडियो क्यासेट सजाइन्थे, ‘फूल भोल्युम’मा माइक घन्काइन्थे । बिहेकार्जेदेखि वनभोजसम्म संगीतमय बनाइन्थे । तर पश्चिमा रस मिसिएका यस्ता गीतप्रति एउटा जमात भने सन्तुष्ट थिएनन् ।

ठीक यही बिन्दुमा उदय भएको थियो सांगीतिक समूह, कन्दरा ।

युवापुस्ताको गति पनि सम्हाल्ने र बुढापाकाको मन पनि पगाल्ने भाका लिएर कन्दराले पपमा रैथाने स्वाद घुलाइदिए । अन्ततः लोकपपको फ्युजनले संगीत पारखीलाई मोहनी लगाइदियो ।

‘चञ्चले कान्छीको जोवन

हावासँगै उडिसकेछ

रहरलाग्दो कान्छीको यौवन

ठट्टा गर्दै बितिसकेछ ’

ठट्टामै गायक

‘भाइ हामी एउटा गीत रेकर्ड गर्ने तयारीमा छौं । त्यसमा तिमीले गाइदिनुपर्छ ।’

सिनियर दाइहरुले अनायासै प्रस्ताव गरे । त्यसबेला विवेक श्रेष्ठको उमेर कति नै थियो र ? पुग–नपुग १६ वर्ष । दाइहरुले उनलाई रेकर्डिङ स्टुडियोमा पुर्‍याए । पहिलो पटक उनले रेकर्डिङ स्टुडियो देखे । कसरी गीत रेकर्ड हुन्छ ? उनले अनुभव गरे ।

रेकर्डिङअघि विवेकलाई गीतको अभ्यास गराइयो । अनि रेकर्ड भयो, ‘चञ्चले कान्छीको जोवन ।’

हुन त यसअघि पनि उनले एउटा गीत रेकर्ड गराइसकेका थिए । यसको सबै बन्दोबस्ती सुनिल थापाले मिलाएका थिए । सुनिल उनकै विद्यालयका सहपाठी थिए । पोखराको बाराही स्कुल पढ्दाताका उनीहरुको ‘दोस्ती’ जमेको थियो । कक्षामा विवेक गीत गाउँथे, सुनिल टेबल ठट्याएर ताल मिलाइदिन्थे ।

सुनिलसहितका दौंतरीहरुले ‘पिस ह्यान्की क्लब’ गठन गरेका थिए । कला अनि संगीतको पारख गर्ने ५० जनाजति युवा यसमा सम्मिलित थिए । उनीहरु कहिले सांगीतिक कार्यक्रमको जमर्को गर्थे त कहिले नाटक मञ्चनको ।

उनीहरु एउटा नाटक देखाउने सुरसारमा थिए । त्यही मेसोमा सुनिलले एउटा गीत लेखे, ‘आजभोलि रात ब्युँझिरहन्छ ।’ यो गीत विवेकलाई गाउन दिइयो । यतिबेला विवेक जम्माजम्मी १३ वर्षका थिए ।

रक संगीतको धरातलमा कन्दराको उदय

पिस ह्यान्की क्लबमै रहेका कतिपयले अर्को ब्यान्ड खोले, ‘२४ क्यारेट’ । खासगरी रक संगीतमा रुचि राख्नेहरु यसमा जोडिए । जस्तो कि, विजय गुरुङ, बुद्धराज बज्राचार्य, दीपकराज मुल्मी, सुनिल भट्टचन, आनन्द तजिया ।

‘२४ क्यारेट’ नै कालान्तरमा ‘कन्दरा’मा रुपान्तरण भयो ।

एक दिन दीपकराज मुल्मीले भने, ‘काठमाडौं गएर गीत रेकर्ड गरौं ।’ यसमा सबै सहमत भए । उनीहरु काठमाडौं आए । विवेकको स्वरमा गीत रेकर्ड गरियो । एउटा होइन, लगातार पाँचवटा । अनि एउटा एल्बम तयार भयो । एल्बमको नाम जुराइयो, ‘चञ्चले कान्छी ।’

यो सन् १९९४ को कुरा हो ।

एउटै गीत सिर्जना गर्न डेढ वर्ष

जतिबेला कन्दराको गीतले गाउँसहरलाई संगीतमय बनाइरहेको थियो, त्यसबेला विवेकलगायत यसका सदस्यहरु ‘स्कुले केटाकेटी’ थिए, कलकलाउँदो उमेरका ।

उनीहरुको क्लब थियो, जहाँ गीत अभ्यासका लागि सबैजना जुट्थे । कोही गीत लेख्थे, कोही संगीत संयोजन गर्थे, कोही गिटार बजाउँथे ।

खाना खान र होमवर्क गर्न मात्र उनीहरु घर पुग्थे । अरुबेला त क्लबमै समय बित्थ्यो । विवेक क्रिकेट र फुटबलमा पनि रुचि राख्ने । बेलामौकामा खेल्न निस्कन्थे । अरु साथीहरु भने गीत अभ्यास गरेर क्लबमै बस्थे । अझ सुनिल त क्लबमै बस्ने, सुत्ने गर्थे । सबै गीत उनी नै तयार गर्थे ।

एउटा गीतको खेस्रा तयार भएपछि उनीहरु त्यसैमा तल्लीन हुन्थे । गीत गाउने, धुन भर्ने र अभ्यास गर्ने गर्थे । आज गीत लख्ने, भोलि नै रेकर्ड गर्ने हतारो गर्दैनथे । गीत काँटछाँट गर्ने, आवाजको शैली बदल्ने जस्ता काम महिनौंसम्म जारी रहन्थ्यो । र, अक्सर गीतको जन्म धैर्यता, लगाव र निरन्तरको अभ्यासबाट हुन्थ्यो । त्यसैले त यी गीत अजम्बरी हुन्थे ।

यसरी नै माझिएका गीतले गर्दा कन्दराको यात्रा निरन्तर उकालिंदै गयो ।

पहिलो एल्बम अपेक्षाकृत सफल भयो । दोस्रो एल्बम निकाले, डाँडापारि । यसमा ८ वटा गीत समावेश थिए, ‘तिमीपारि’, ‘विदेशिएर गइन् उनी’, ‘डाँडापारि ।’ जसै एल्बम बजारमा आयो, सर्वाधिक रुचाइयो । क्यासेट धमाधम बिक्री हुन थाल्यो । रेडियोमा बारम्बार गीत बज्न थाल्यो । सार्वजनिक यातायात, रेस्टुरेन्टमा यिनै गीत घन्कन थाले ।

सफलताको यो ग्राफ यसरी आकाशियो कि उनीहरुले पछाडि फर्केर हेर्नुपरेन । ‘हङकङ पोखरा’सम्म आइपुग्दा कन्दराले नेपाली संगीतमा कन्दराले गर्विलो उपस्थिति जनाइसकेको थियो ।

रेडियो नेपालमा आफ्नो आवाज घन्किएपछि

जमाना कस्तो भने,गीतसंगीत सुन्न रेडियो नेपाल नै ट्युन गर्नुपर्ने अरु माध्यम थिएन । एफएम थिएन, इन्टरनेटको त कुरै भएन ।

रेडियो नेपालले आफ्नो तालिकाअनुसार प्रसारण गर्ने कार्यक्रमको लागि कान थापेर बस्नुपथ्र्यो । एकाध कार्यक्रम थियो, गीत–संगीतको । त्यसैको पालो पर्खेर बस्थे ।

बिहान ६ बजे सुरु भएको रेडियो नेपालको प्रसारण राति ९ बजेसम्म हुन्थ्यो । त्यस अवधिमा भजन, समाचार, अन्तर्वार्ता हुँदै रातिसम्म के कस्ता कार्यक्रम प्रसारण भए, विवेकलाई कण्ठ हुन्थ्यो । रेडियोको क्रेज कतिसम्म भने रेडियो सुनेकै भरमा पोखरेली विवेकले काठमाडौंको चोक–गल्लीका नाम जानेका थिए, डिल्लीबजार, पुतलीसडक, न्युरोड, बानेश्वर । सबै नाम उनले रेडियोबाटै सुनेका थिए । जब उनी कामठाडौं आउँथे, ती ठाउँ कस्ता होलान् भनी हेर्न पुग्थे ।

‘रेडियो नेपालप्रति एकदमै ठूलो श्रद्धा थियो,’ विवेक सम्झन्छन्, ‘त्यहाँ आफ्नो नाम प्रसारण हुनु ठूलै सौभाग्य जस्तो अनुभूति हुन्थ्यो ।’

अन्ततः रेडियो नेपालमा उनको आवाज घन्कियो । खुसी मापन गर्ने ब्यारोमिटर हुँदो हो त यो उनीहरुको जीवनमा मिल्ने दुर्लभ खुसी थियो ।

पहिलो कन्सर्ट : एक दिनमै दुई प्रस्तुति

कन्दराको धुन सुस्तायो, गति सुस्तायो । र, एकाएक कतै हरायो । लामो अन्तरालपछि ब्यान्डले एउटा एल्बम निकाल्यो, वर्षौंपछि । त्यसपछि भेंडीगोठैमा । तर पूर्ववत् लय र तीव्रता समाउन सकेन ।

कन्दरालाई पहिलो पटक कन्सर्टको निम्तो आयो, बुटवलबाट । पहिलो कन्सर्टका लागि कन्दराका सदस्यहरु एकदमै उत्साहित थिए । उनीहरु बुटवल पुगे । सामान्य हल थियो । गर्मीको याम । दर्शक यति खचाखच भए कि हलको क्षमताले नै भ्याएन ।

कन्दराले आफ्ना लोकप्रिय गीतहरु घन्काउँदै शानदार कन्सर्ट दियो, सन् १९९६ मा । आधा दर्शकले त कन्दरालाई प्रत्यक्ष सुने । बाँकी दर्शक ?

उनीहरुका लागि साँझ पनि कन्सर्टको व्यवस्था गरियो । एकै दिन दुईपटक प्रस्तुति । ब्यान्डका गायक र वाद्यवादक सानै उमेरका थिए । एउटा प्रस्तुतिमा १७–१८ वटा गीत सुनाउनुपर्ने । विवेकले एकै दिन तीन दर्जन हाराहारीमा गीत सुनाउनुपर्‍यो ।

गर्मी र स्टेजको धपेडीले उनी बिरामी नै भए । त्यसपछि कन्सर्टको लहर सुरु भयो । सम्भवतः कन्दरा नै यस्तो ब्यान्ड थियो, जसले पहिलो पटक विदेशमा आफ्नो प्रस्तुति दियो । भारतको पश्चिम बंगाल हुँदै समुद्रपारिका मुलुकमा अविछिन्न कन्सर्ट भए ।

सार्वजनिक यातायातले फैलाउँथे गीत

विवेक श्रेष्ठ त्यसबेला सानै थिए । पोखरामा जन्मिए पनि स्याङ्जाको वालिङमा हुर्किए । बेलाबखत पोखरा–वालिङ आउजाउ भइरहन्थ्यो । जब बस चढ्ने बेला हुन्थ्यो, विवेक ‘गाडीमा गीत बज्छ वा बज्दैन’ भनी जाँच गर्थे । अर्थात् गाडीमा टेप रेकर्डर भए-नभएको हेर्थे । जुन गाडीमा गीत बज्छ, त्यसमा मात्र यात्रा गर्थे ।

गीत रेकर्ड गराएपछि, एल्बम तयार गरेपछि र म्युजिक भिडियो बनाएपछि घुँडा धसेर प्रचारबाजीमा लाग्ने जमाना थिएन । प्रचारका माध्यम पनि त थिएनन् । सार्वजनिक यातायात नै यस्तो साधन थिए, जसले गीत सर्वत्र फैलाइदिन्थे । कुनै पनि गीतको भरपर्दो प्रचार नै सार्वजनिक यातायातबाट हुन्थ्यो । त्यसताकाका अधिकांश गीत सार्वजनिक यातायातबाटै मान्छेहरुले सुन्थे र मन पराउँथे । यात्राभर बज्ने गीतले यात्रुलाई असली स्रोता बनाइदिन्थे ।

चिन्नै गाह्रो गायक

आवाज सुनेरै गायक कस्तो होला भनी परिकल्पना गर्नुपर्ने बेला थियो त्यो ।

सामाजिक सञ्जाल थिएन, युट्युब थिएन, टेलिभिजन पनि थिएन । अडियो क्यासेट सर्वत्र सुनिन्थे । तर त्यसका गायक को हुन् ? संगीतकार कस्ता होलान् ? वाद्यवादन कसले बजाएका होलान् ? छर्लङ्ग हुँदैनथ्यो ।

विवेक ब्यान्डका मुख्य भोकलिस्ट । तर उनले गीत गाएका हुन् भनेर धेरैलाई थाहा नै नहुने । त्यसमाथि पहिलो क्यासेट कभरमा उनी एकछेउमा उभिएका थिए । माझमा थिए सुनिल । उनी चिरिच्याट्ट थिए । त्यसैले धेरैलाई लाग्थ्यो, यी गीत सुनिलले गाएका हुन् ।

पछि टेलिभिजन युग सुरु भयो । म्युजिक भिडियो बन्न थाले । तब दर्शकले गायकको सग्लो रुप देख्न पाए ।

डाँडामा उफ्रिएर म्युजिक भिडियो

यता कन्दराको गीत लोकप्रियताको उत्कर्षमा पुग्दै थियो भने म्युजिक भिडियोको ट्रेन्ड पनि चुलिंदै थियो ।

त्यसैताका कन्दराको गीतमा पनि म्युजिक भिडियो बन्ने भयो । छायांकनका लागि उनीहरुलाई काठमाडौं बोलाइयो । कुनै लोकेसनमा पुर्‍याइयो । गीत घन्काइयो । र, भनियो ‘ल नाच केटाहरु ।’

‘हामी त गीतमा आफ्नै तालले नाच्न थाल्यौं,’ विवेकले सम्झिए, ‘न मेकअप गर्ने चलन, न अहिले जस्तो अनेकथरी मिलाउनुपर्ने ।’

म्युजिक भिडियो तयार भएपछि तुरुन्तै हेर्न नपाइने । टेलिभिजनमा कहिले प्रसारण हुन्छ भनेर अधैर्यतासाथ पर्खनुपर्ने ।

अखबारमा ‘हिट गीत’

यदाकदा पत्रपत्रिकामा नाम, फोटो छापिनु ठूलै कुरा हुन्थ्यो । त्यसबेला सर्वप्रिय पत्रिका थियो, साप्ताहिक । मनोरञ्जनको सम्पूर्ण प्याकेज थियो यो । हरेक शुक्रबार प्रकाशित हुने यो पत्रिका कला–मनोरञ्जनमा लाग्नेहरुका लागि ‘खास’ हुन्थ्यो ।

त्यसमा हप्ताभर सर्वाधिक चर्चामा रहेका १० गीतको सूची सार्वजनिक हुन्थ्यो । उक्त सूचीको दशौं नम्बरमा कन्दराको पनि गीत समावेश भयो, ‘चञ्चले कान्छीको जोवन ।’ त्यसपछि नवौं, आठौं हुँदै शीर्ष नम्बरमा उक्लियो । र, लामो समयसम्म त्यसमा कायम रह्यो ।

यसको अर्थ हुन्थ्यो, कन्दराको उक्त गीत सर्वाधिक रुचाइएका छन् । त्यसताका रामकृष्ण ढकालको ‘रिसाउँदा नि आफ्नै’, नेपथ्य ब्यान्डको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गीत पनि त्यसमा सूचीकृत थियो ।

गीत सुन्न चाहनेहरुले अडियो क्यासेट किन्थे र दोहोर्‍याई–दोहोर्‍याई सुन्थे । क्यासेट बिक्रीबाट प्राप्त हुने सीमित रोयल्टी यसका सर्जक अर्थात् ब्यान्डले पाउँथे । यद्यपि कम्पनीले कति क्यासेट निकाल्यो र बजारमा पठायो भनी लेखाजोखा गर्ने पारदर्शी प्रणाली थिएन । त्यसैले कम्पनीले दिएको आँकडा अनुसार नै क्यासेट उत्पादन भएको हो ? संशय रहन्थ्यो ।

अर्थात् कम्पनीले धेरै क्यासेट उत्पादन गरे पनि सर्जकलाई सीमित क्यासेटको मात्र हिसाब किताब देखाउँथे । यस्तो अवस्थामा पनि कन्दराको पहिलो क्यासेट लाखौंको संख्यामा बिक्री भयो । त्यसपछिका एल्बमहरुसँगै कन्दराको ख्याति अग्लिंदै गयो । ‘हङकङ पोखरा’देखि ‘तगारोमा रुमाल राखी’सम्म आइपुग्दा यो ब्यान्डले गरिमामय इतिहास रचिसकेको थियो ।

फेरि तंग्रिदै

जुग फेरियो, गीतका शैली र भाका फेरियो, अनि प्रविधि फेरियो । कन्सर्टले भ्याइ–नभ्याइ हुने, लाखौं क्यासेट बिक्री हुने कुरा ‘एकादेशको कथा’ झैं भइदियो । यससँगै ५० को दशकमा उदाएका सांगीतिक समूहहरु लाखापाखा लागे । लोकपप संगीतको बजार सुस्तायो । यसबाट अछुतो रहेन, कन्दरा पनि ।

कन्दराको धुन सुस्तायो, गति सुस्तायो । र, एकाएक कतै हरायो । लामो अन्तरालपछि ब्यान्डले एउटा एल्बम निकाल्यो, वर्षौंपछि । त्यसपछि भेंडीगोठैमा । तर पूर्ववत् लय र तीव्रता समाउन सकेन ।

यतिबेला भने कन्दरा तंग्रिएको छ । नयाँ व्यवस्थापकीय ढाँचासहित कन्दराले नयाँ गन्तव्यको उद्घोष गरिसकेको छ । नेप्ग्याज्म लाइभ इभेन्टसँग यसको व्यावसायिक साझेदारी हुने भएको छ । अबका दिनमा नेप्ग्याज्मले नै कन्दराको गीत, भिडियो निर्माण गर्ने र कन्सर्टको व्यवस्थापन सम्हाल्नेछ ।

नजिकबाट कन्दरा

गठन : सन् १९९४ मा

शैली : लोकपप

पहिलो गीत : चञ्चले कान्छीको

एल्बम : चञ्चले कान्छीको, डाँडापारि, हङकङ पोखरा, वर्षौंपछि, भेंडीगोठैमा

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?