२५ कात्तिक, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो दबाबमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले आफूलाई होटलमा शपथ ग्रहण गराएको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यो जानकारी दिएका हुन् ।
विहीबार राति आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख उपचारका लागि काठमाडौं जान थालेको जानकारी पाएपछि आफूले जसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको मुख्यमन्त्री यादवले बताए । उनले भने, ‘मैले उहाँलाई दबाब दिएँ, दिएकै हो ।’
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता यादव कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । आफूलाई राति साढे १०–पौने ११ बजेतिर बोलाएर प्रदेश प्रमुख सुवेदीले नियुक्तिपत्र दिएको यादवले जानकारी दिए ।
त्यतिबेला सोनलको पक्षमा रहेका दलहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ मुख्यमन्त्री नियुक्त हुनुपर्ने माग गर्दै आएका थिए ।
तर आफूले नियुक्ति पत्र लिसकेको सूचना पाएपछि लोसपाका सांसद र कार्यकर्ताहरुले शपथ ग्रहणमा जान नदिने अभिव्यक्ति दिएको उनले बताए । त्यसपछि बाध्य भएर होटलमा गएर शपथ ग्रहण गरेको उनले बताए ।
मैले उहाँलाई दबाब दिएँ । दिएकै हो । यसमा म पछाडि हट्दिनँ, झुटो बोल्दिनँ,’ मुख्यमन्त्री यादवले भने, ‘… केयर टेकरमा मुख्यमन्त्री छ, नयाँ मुख्यमन्त्रीको नियुक्ति भइसक्यो । तपाईंले मलाई शपथ नखुवाइकन मेरो पद एक्टिभ हुनेवाला छैन । त्यसो भएको कारणले गर्दा मधेश प्रदेश त झन् अन्यौलको वातावरण सिर्जना हुन्छ । तपाईं कहाँ हुनुहुन्छ, जहाँ हुनुहुन्छ, त्यहीँ शपथ ग्रहण गराइदिनुपर्यो भन्ने स्पिरिटबाट मैले बोलेकै हो ।’
उनले थपे, ‘तपाईंले त्यहाँ सक्नुहुन्न भने कुन उपयुक्त ठाउँ हुन्छ त्यहाँ मलाई शपथ खुवाइदिनुपर्यो भनेर मैले रिक्वेस्ट गर्दाखेरि म त निस्किसक्या छु, तपाई आउन सक्नुहुन्छ भने बर्दिबासतिरै आउनुस् भन्दा बर्दिबासमा गएर पानस होटलमा इमान्दारितापूर्वक त्यहीँ मैले प्राप्त गरेको नियुक्ति पत्र अनुसार नै मैले शपथ खाएको हुँ ।’
यो विवादमा सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ । भने नियुक्तिमा असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रतिक्रिया 4