+
+
Shares

मुख्यमन्त्री नै नआएपछि दिउँसो २ बजेको लागि सर्‍यो मधेश प्रदेशसभा बैठक

मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घन्टा ढिला सुरु भएपछि मुख्यमन्त्री सरोज कुमार यादवको अडानले बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
  • मुख्यमन्त्री यादवले विश्वासको मत दिउँसो २ बजे मात्र लिने अडान राखेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठक स्थगित गरेको बताउनुभयो।
  • विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८:३० बजे प्रदेश सभामा उपस्थित भए पनि मुख्यमन्त्री यादव र एमालेका केही सांसदहरू बैठकमा आउनुभएको छैन।

१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घन्टा ढिला सुरु भएसँगै सारिएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो ।

प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

तर, करिब साढे १० बजेसम्म मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा आएका छैनन् । विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८:३० बजे आएर प्रदेश सभामा कुरिरहेका छन् । नेकपा एमालेका समेत केही प्रदेश सांसदहरू आइसकेका छन् ।

मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८:३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए ।

तर मुख्यमन्त्री यादवले विगतमा पनि विश्वासको मत लिन मुख्यमन्त्रीहरूले आग्रह गरेअनुसार समय निर्धारण गरेपनि विपक्षी दलहरूको उक्साहटमा उपसभामुखले बिहान साढे आठ बजे नै समय तोकेको गुनासो गरे ।

‘विगतमा पनि मुख्यमन्त्रीहरूले विश्वासको मत लिन पठाएको पत्र अनुसार समय निर्धारण गरिएको थियो। तर मैले पठाएको पत्र अनुसार नगरेर उपसभामुखले दलहरूको उक्साहटमा आज बिहानै प्रदेशसभा बैठक राख्नुभयो,’ उनले भने ।

मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो।

उपसभामुख ईशरले पुनः कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर मुख्यमन्त्री यादवले मागेकै समयअनुसार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?