+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares
राहत र भत्ता बाँड्ने योजनामा मधेश सरकार :

धान क्षति व्यहोरेका मधेशका किसानलाई प्रतिकठ्ठा १५ सय, बेरोजगार युवालाई २ हजार

किसानहरुलाई राहत दिँदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर १० गते ९:४०
पत्रकार सम्मेलन गरेर जानकारी दिँदै मुख्यमन्त्री सरोज कुमार यादव (बीचमा) ।

१० मंसिर, जनकपुरधाम । मधेश प्रदेश सरकारले खडेरी र डुबानबाट भएका धानबालीमा क्षति व्यहोरका किसानहरुलाई प्रतिकठ्ठा १ हजार ५ सय रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । साथै बेरोजगारलाई मासिक २ हजार भत्ता दिने तयारी पनि छ ।

यसरी किसानहरुलाई राहत दिँदा ३६ करोड र युवाहरूलाई बेरोजगार भत्ता दिँदा ३५ करोड खर्च हुने अनुमान छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् । उनले भने, ‘किसानहरूलाई राहत स्वरूप १५०० रुपैयाँ प्रतिकठ्ठा राहत स्वरूप उपलब्ध गराउने प्रक्रियामा छ । कृषि मन्त्रालयबाट प्राप्त तथ्यांक अनुसार यसरी वितरण गर्दा ३६ करोड रुपैयाँ लाग्ने अनुमान छ ।’

यसै वर्ष लामो समय खडेरीको मारमा परेका मधेश प्रदेशका किसानहरु गत असोजको अविरल वर्षाबाट डुबान पीडित भएका थिए । मनसुन अवधिमै लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेशका जिल्लाहरुलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।

बेरोजगार युवालाई भत्ता

मुख्यमन्त्री यादवले मधेश प्रदेशमा १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवाहरूलाई जीवन निर्वाह भत्ताबापत मासिक २ हजारको दरले भत्ता उपलब्ध गराउने जानकारी पनि दिए । बेराजगार भत्ता वितरणको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

‘प्रदेश सरकारले प्रदेश भित्रका राष्ट्रिय युवा नीतिले परिभाषित गरेका १८–३५ वर्ष उमेर समूहका स्नातक तह पास गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना २ हजारको दरले (जीवन निर्वाह) बेरोजगार भत्ताको रुपमा दिने काम अगाडि बढाइरहेको जानकारी प्रदेशवासीहरुलाई गराउन चाहन्छु,’ उनले भने ।

उनका अनुसार करिब १ लाख ४८ हजार यस्ता युवा मधेश प्रदेशमा रहेको तथ्यांक छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?