+
+

आइफोनमा आउँदैछ लकडाउन फिचर, अब कसैले ह्याक गर्न नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते १९:०८

२४ असार, काठमाडौं । पेगासस नामक जासूसी भाइरस अर्थात् स्पाइवेयरका बारेमा त सुन्नुभएकै होला । यो कम्प्युटर भाइरसको प्रयोग ह्याकरहरुले मात्र नभएर विश्वका विभिन्न देशका सरकारहरुले समेत अरुका फोनहरु ह्याक गर्न तथा जासूसी गर्नका लागि प्रयोग गरेका छन् ।

इजरायलको ल्क्इ ग्रुपले यो स्पाइवेयर विकसित गरेको हो र यसको काम नै मानिसहरुको जासूसी गर्नु हो । यद्यपि जासूसीका लागि ह्याकरहरुले विभिन्न खाले स्पाइवेयरहरु प्रयोग गर्ने गरेका छन् तर पेगासस सबैभन्दा ससक्त तथा अत्याधुनिक सफ्टवेयर हो ।

पेगाससले केवल एन्ड्रोइड फोनमा मात्र होइन आइफोनमा समेत आक्रमण गर्न सफल भएको थियो । सुरक्षाको दृष्टिले निकै सबल मानिने आइफोनलाई पेगाससबाट ह्याक गरिएको घटनापछि एप्पल निकै सचेत बनेको थियो । यस्तै स्पाइवेयरबाट बँच्नका लागि एप्पलले अहम् तयारी गरिरहेको छ । बुधबार एप्पलले यसको जानकारी गराएको छ ।

एप्पलका अनुसार कम्पनीले छिटै नै एक नयाँ फिचर रिलिज गर्दैछ । उक्त फिचरको नाम लकडाउन मोड हो । यो फिचरका कारण एप्पल ग्याजेट प्रयोगकर्ताको साइबर सुरक्षाका लागि थप एक तह प्राप्त हुनेछ । खासगरी ह्याकिङबाट बँच्नका लागि प्रयोगकर्तालाई ठूलो सहयोग मिल्नेछ ।

के हो लकडाउन मोड ?

लकडाउन मोड छिटै नै एप्पलको आइफोन, आइप्याड तथा म्याकमा प्राप्त हुने बताइएको छ । यो फिचर खोलेसँगै आइफोनको मेसेजिङ एपमा आउने धेरैजसो अट्याचमेन्ट ब्लक हुनेछन् । सिक्योरिटी रिसर्च कम्पनीहरुका अनुसार एनएसओ ग्रुपले एप्पलको मेसेज अट्याचमेन्टलाई व्यवस्थापन गर्ने विधिमा रहेको कमजोरी पत्ता लगाएर त्यसको फाइदा उठाएको थियो ।

लकडाउन मोडमा तारको कनेक्सन पनि ब्लक हुनेछ । एप्पलका अनुसार नयाँ फिचरलाई जिरो क्लिक ह्याकिङ आक्रमणहरु रोक्नका लागि डिजाइन गरिएको हो । तर यस प्रकारका ह्याकिङ आक्रमणहरु निकै कम भएको हुँदा धेरै प्रयोगकर्तालाई यो नयाँ मोड सक्रिय बनाउनु आवश्यक नपर्ने बताइएको छ ।

किन हुन्छ स्पाइवेयरको प्रयोग

स्पाइवेयर कम्पनीहरु भने सरकारको सहयोगकै लागि यस्तो खालका सफ्टवेयर बिक्रि गर्ने गरेको दाबी गर्दै आएका छन् । तर मानव अधिकारवादी समूहहरुले भने यस्ता सफ्टवेयरको प्रयोग नागरिक समाजमाथिको आक्रमण गर्नका लागि प्रयोग भैरहेको बताएका छन् । त्यस्तै विपक्षीहरुको जासूसी तथा चुनावमा हस्तक्षेपका लागि समेत स्पाइवेयरको प्रयोग हुने गरेको पाइएको छ ।

यस्ता स्पाइवेयरबाट बच्नका लागि एप्पलले लकडाउन मोड विकसित गरिरहेको छ र छिटै रिलिज गर्ने तयारी गरिरहेको छ । यो मोडका बारेमा विस्तृत विवरण भने एप्पलले खुलाएको छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?