+
+

कहिले बन्ला लुम्बिनी प्रदेशसभाको भवन ?

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असार २६ गते ७:१७

२६ असार, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा निर्माणाधिन प्रदेश सभा भवनले हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।

लुम्बिनी प्रदेशको बर्खे अधिवेसनपछि हिउँदे अधिवेसन दाङको भालुबाङस्थित नयाँ भवनमा बस्ने प्रदेश सरकारको तयारी छ । तर प्रदेश सभाको आउने अधिवेसनका लागि स्थायी राजधानी दाङमा आवश्यक पूर्वाधारहरु तयार भएका छैनन् । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको भवन छिटो निर्माण सम्पन्न गर्न पटक–पटक निर्देशन दिंदै आए पनि काम पूरा हुन सकेको छैन ।

दाङको भालुबाङमा प्रदेश सभा भवन निर्माणका लागि ०७८ साल वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना (२०७८ साउन भित्र) भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाइयो ।

भवन छिटो निर्माण गर्ने भन्दै दिन–रात गरी दुई सिफ्टमा समेत काम निर्माण सुरु गरिएको थियो । बीचमा प्रदेश सभा भवनको मौलिकता झल्कने गरी डिजाइन फेरेर भवन बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । पछि पुरानै डिजाइन अनुसार नै काम अघि बढ्यो ।

अहिले निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी प्रदेश सभाको भवन अन्तिम चरणमा रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण बताउँछ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेलले प्रदेश सभा भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताए । ‘निर्माणको काम झण्डै सकिएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘रङ्गरोगन, लाइटिङ, साउण्ड सिस्टम र फर्निचर जडानका भइरहेको छ ।’ उनले अबको भदौ महिनासम्म प्रदेश सभाको भवन सम्पूर्ण रुपमा तयार गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए ।

त्यस्तै प्रदेश सभा सचिवालयको भवन निर्माण कार्यका लागि टेण्डर प्रक्रियामा गएको प्राधिकरणले जनाएको छ । ‘सचिवालयको भवन निर्माण पनि प्रक्रियामा गइसकेको छ’ उनले भने, ‘अब छिट्टै सचिवालयको भवन निर्माण पनि सुरु हुनेछ ।’

प्रमुख कार्यकारी अधिकृत पोखरेलले सम्भवतः प्रदेश सभाको हिउँदे अधिवेसन दाङमै सञ्चालन गर्न सकिने संरचना निर्माण गर्ने काम भइरहेको बताए । ‘अब आउने हिउँदे अधिवेसन नयाँ भवनमै हुने गरी काम जारी छ,’ उनले भने । भदौसम्म प्रदेश सभा भवनमा बैठक राख्न सकिने प्रदेश प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

यस्तो हुनेछ प्रदेश सभा भवन

राप्ती बहुप्राविधिक शिक्षालय भित्र निर्माण भइरहेको प्रदेश सभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फुट क्षेत्रफलमा तयार हुँदैछ ।

प्राधिकरणका अनुसार ७ हजार स्क्वायर फुटमा प्रदेश सभाको सभाहल रहनेछ । भवनको भुइँतलामै प्रदेश सभा बैठक कक्ष, सभामुखको रोष्ट्रम, मुख्यमन्त्री, विपक्षी दलका नेताको कार्यकक्ष, कर्मचारीका लागि आवश्यक कक्ष, मर्यादापालक कक्ष, ड्रेसिङ रुम, शौचालयसहितका संरचना रहेनछ ।

त्यस्तै प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कोठा, मतदान गर्ने कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू रहनेछन् । ८० जना संसदहरु बस्न मिल्ने गरी तयार गरिएको छ ।

अहिले निर्माण भइरहेको प्रदेश सभाको भवन अस्थायी हो । स्थायी भवनको निर्माण केही समयपछि सुरु हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?