+
+

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १९:५५

२८ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा सहभागी पाँचै प्रदेशका खेलाडीले मार्चपास गरेका थिए ।

कपन टाइगरका तेक्वान्दो खेलाडीले आकर्षक र साहसिक प्रदर्शनी गरेका थिए । अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स संघले व्यवस्थापन गरेको ‘बी बोयिङ’ मनमोहक थियो ।

ओलम्पियन जुडोकी सोनिया भट्टले उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराएकी थिइन् । राष्ट्रपति रनिङ शिल्ड खेलकुदको कुनै पनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो । निर्णायकको तर्फबाट एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र खेलाडीको तर्फबाट गण्डकी प्रदेशकी एथलेटिक्स खेलाडी तीर्था ढकालले शपथ ग्रहण गरेका थिए ।

विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश १ र मधेश प्रदेश बाहेक ५ प्रदेशको सहभागिता रहेको  छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा ५०० खेलाडी सहभागी छन् । एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६–६, भलिबल र कबड्डीमा २–२ गरी ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । समग्रमा शीर्ष तीन स्थानमा रहने टिम र खेलाडीको व्यक्तिगत गरी कुल पुरस्कार राशि ९ लाख ४५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रोपटक हो ।

एथलेटिक्स : निशा पहिलो

एथलेटिक्सको छात्रा १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी पहिलो भइन् । निशाले १२.५३ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । लुम्बिनीकै रेशु थारु दोश्रो तथा वागमती प्रदेशकी कृतिका रन्जितकार तेश्रो भए ।

छात्रा १५०० मिटर दौड ५ मिनेट २१.० सेकेन्डमा पूरा गरेकी गण्डकी प्रदेशकी जानकी खराल पहिलो भइन् । कर्णाली प्रदेशकी हिमाली शाही दोश्रो तथा कर्णालीकै मोतीकला डाँगी तेश्रो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा हाइजम्पमा लुम्बिनीकी प्रमिला चौधरी शीर्ष स्थानमा रहिन् । प्रमिलाले १.३० मिटर जम्प  गरिन् । गण्डकीकी सीमा श्रेष्ठ र कर्णालीकी मापसना रसाइली संयुक्त रुपमा दोश्रो भए । दुवैले १.२५ मिटर हामफाले ।

कराते : रेहान र सन्जुलाई स्वर्ण

करातेको एकल कातातर्फ पुरुषमा वागमतीका रेहान जावेद तथा महिलामा वागमतीकै सन्जु देशार पहिलो भएका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको प्रतियोगिताको पुरुषमा लुम्बिनीका प्रजीत बैजाली मगरले रजत तथा गण्डकीका प्रिन्स गुरुङ र कर्णालीका लक्ष्मणकुमार शाहीले काँस्य जिते ।

महिलामा वागमतीकी प्रजिश्मा श्रेष्ठ दोश्रो तथा कर्णालीका प्रियंका शाही र ममता नेपाली तेश्रो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?