+
+

एथ्लेटिक्सको ८०० मिटर दौडमा बादल र सरितालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते २०:०७

५ वैशाख, काठमाडौं ।  गण्डकी प्रदेशका बादल कार्की र कर्णालीकी सरिता खड्काले १४ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्सको ८ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

बादलले छात्र तथा सरिताले छात्रातर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् । यसअघि मंगलबार उनीहरुले ४०० मिटर दौडमा पनि स्वर्णपदक जितेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बादलले निर्धारित दूरी २ मिनेट ५.५५ सेकेन्डमा पूरा गरे । सुदूरपश्चिमका बिक्रम विष्ट दोस्रो र कर्णालीका प्रकाश बुढा तेस्रो भए ।

त्यस्तै छात्रातर्फ सरिताले ८०० मिटर दूरी २ मिनेट २८.५ सेकेन्डमा पूरा गरेर स्वर्ण जितिन् । कर्णालीकी भावना कर्साल दोस्रो र लुम्बिनीकी अनिशा थारु तेस्रो भए ।

ज्याभलिन थ्रोको छात्रतर्फको स्पर्धामा सुदूरपश्चिमका सुकवीर पोखरेल पहिलो भए । उनले ५२.१६ मिटर टाढा फाले । लुम्बिनीका राहुल थारु दोस्रो र रवि चौधरी तेस्रो बने । सो स्पर्धाको छात्रातर्फ कर्णालीकी सरिता विकलेले ३१.५४ मिटर टाढा फालेर स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत तथा लुम्बिनीकी दिव्यकला थारुले कांस्य हात पारे ।

छात्रको लङजम्पमा लुम्बिनीका रमेश थारुले ६.६४ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका सन्नी चौधरी दोस्रो र आशिष महर तेस्रो भए । सोही स्पर्धाको छात्रामा बागमती प्रदेशकी प्रनिशा महतो पहिलो भइन् । प्रनिशाले ४.९५ मिटर जम्प गरिन् । गण्डकीकी निशा घर्ती दोस्रो र सुदूरपश्चिमकी रेनुका ऐर तेस्रो बने ।

छात्र/छात्राको ४ गुणा १०० मिटर रिलेमा बागमती पहिलो भयो । छात्रमा मधेश प्रदेश दोस्रो र सुदूरपश्चिमका प्रतिस्पर्धी तेस्रो भए छात्रामा गण्डकी दोस्रो र सुदूरपश्चिम तेस्रो बन्यो ।

कबड्डीको सेमिफाइनल समीकरण पूरा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र/छात्रा दुवैको सेमिफाइनल समीकरण पूरा भएको छ ।

छात्रमा सुदूरपश्चिमले मधेशसंग खेल्ने छ भने लुम्बिनीले कोशी विरुद्ध प्रतिस्पर्धा गर्ने छ । छात्राको सेमिफाइनल लुम्बिनी र बागमती तथा सुदूरपश्चिम र कर्णालीबीच हुनेछ ।

भलिबलको छात्रातर्फ सेमिफाइनल समकरण तयार

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको भलिबलको छात्रामा सेमीफाइनल समीकरण तयार भएको छ ।

समूह ‘ए’ बाट बागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे । बेस्ट अफ थ्रीमा भएको प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे ।

अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा बागमतीले पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूह विजेता बन्यो ।

गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो ।

समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेश प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो । यससमूहको उपविजेता कोशीले एक मात्र जित मधेश प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो ।

पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो ।

लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

 उसुमा पहिलो दिन चार स्वर्णको टुंगो

उसुको पहिलो दिन चार स्वर्ण पदकको टुंगो लागेको छ । राखेपको सेमी कभर्डहलमा बुधबार भएको पुरुष थाइचीमा छ्वानमा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कांस्य पदक प्राप्त गरे ।

महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन् ।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्चिमका योगेश चौधरीले कांस्य पदक जिते । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरे ।

तेक्वान्दोमा बागमतीलाई ३ स्वर्ण

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमतीले सर्वाधिक ३ स्वर्ण जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते ।

छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईं र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए ।

छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।

दोस्रो दिनपछि पदक तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?