+
+

पर्यटन पुनरुत्थान कार्ययोजना पर्यटनमन्त्रीलाई हस्तान्तरण, के-के छन् योजनामा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १६:५२

३० असार, काठमाडौं । पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई आफ्नो प्रतिवेदन बुझाएको छ । १३ असारमा मन्त्री श्रेष्ठले पदभार ग्रहणका क्रममा नेपालको पर्यटन क्षेत्र पुनरुत्थान गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गर्न समिति गठन गरेका थिए । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

समितिले सरोकारवालाहरुसँग छलफल तथा विगतमा गठन भएका विभिन्न समितिका प्रतिवेदनहरु अध्ययन गरी कार्ययोजना तयार गरेको जनाएको छ । प्रतिवेदन बुझ्ने क्रममा मन्त्री श्रेष्ठले कार्ययोजनाले मन्त्रालयको कामलाई दिशानिर्देश गर्ने जानकारी गराए ।

कार्ययोजनामा एक महिनाभित्र गर्न सकिने काम, तीन महिनामा गर्न सकिने काम, छ महिनाभित्र गर्न सकिने काम, एक वर्षभित्र गर्न सकिने काम र निरन्तर गर्नुपर्ने कामका ५१ वटा योजना समावेश गरिएको छ । कार्ययोजना कार्यन्वयन गर्ने निकाय र कार्यन्वयनका लागि सहयोगी संस्थाबारे पनि प्रतिवेदनमा उल्लेख छ ।

पर्वतीय पर्यटन सुधारका लागि कानुन संशोधन गर्नुपर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन एकाइ स्थापना गर्ने, एक नेपाली एक विदेशी साथी नेपाल पठाउने अभियान’का लागि एनआरएनसँग सम्झौता गर्ने, काठमाडौंका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने, कोभिड-१९ पछि नेपाल सुरक्षित गन्तव्य रहेकोबारे बजारीकरण गर्ने कार्ययोजनामा उल्लेख छ ।

रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने, सगरमाथा सम्वाद पुनः सुरु गर्ने, अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

महत्वपुर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत बिषय पनि कार्ययोजनामा उल्लेख छ । मन्त्री श्रेष्ठले कार्ययोजना अनुसार काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् । मन्त्रालयका सहसचिव होमप्रसाद लुइंटेलको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकण र नेपाल पर्यटन बोर्डका प्रतिनिधिका साथै तीन जना विज्ञ सम्मिलित समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?