+
+

साउन १ देखि कसरी लगिन्छ बञ्चरेडाँडामा फोहोर ?

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार ३२ गते २१:३२

३१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर लैजाने तयारी गरेको छ ।

काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि महानगरले स्थानीयबासीसँग फोहोर बर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने सहमति गरेको थियो ।

अब सो सहमति अनुसार महानगरपालिकाले फोहोर बर्गीकरण गर्न लागेको हो । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने भन्दै असार ९ गते सूचना जारी गरिसकेको थियो । फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५ सय जरिवाना गर्ने सूचनामा उल्लेख छ ।

फोहोर संकलनका क्रममा फोहोर कुहिने र नकुहिने भन नछुट्याए हरेक पटक जरिवाना गरिने महानगरपालिकाको चेतावनी छ । फोहोर छुट्याउने जिम्मेवारी जसले फोहोर उत्पादन गर्छ उसकै भएकोले यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाइ छ ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) र फोहोरमैला व्यवस्थापन भन २०६८ को दफा ३८ (थ) मा जरिवाना गर्न सकिने व्यवस्था छ ।

थुप्रिएको फोहोर नै चुनौती

तर महानगरपालिकाले साउन १ भन्दा अघि थुप्रिएको फोहोर नै व्यवस्थापन गरेर सकेको छैन, जुन फोहोर कुहिने र नकुहिने भनी बर्गीकरण गरिएकै छैन । मेयर बालेन्द्र साहको सचिवालय अनुसार १ गतेबाट छुट्टाएर फोहोर लैजाने भए पनि अहिले नछुट्याई राखिएको फोहोर लैजान समस्या छ ।

महानगरका अनुसार केही स्थानमा अझै फोहोरहरु उठ्न सकेको छैन, ती कतिपय फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका निजी कम्पनीको आन्तरिक समस्याको कारण रोकिएको छ भने केही बञ्चरेडाँडा जाने बाटो अवरुद्ध हुँदा रोकिएका छन् ।

मेयर बालेनको सचिवालयलमा बसेर फोहोर व्यवस्थापनमा काम गरिरहेका इन्जिनियर सुनिल लम्सालका अनुसार कुहिने फोहोर काठमाडौंकै कुनै ठाउँमा कम्पोस्ट मल बनाउन प्रयोग गर्ने तयारी छ । ‘कुहिने फोहोर बञ्चरेडाँडा जाँदैन । अहिले नउठेर थुप्रिएको फोहोर, टेकुको फोहोर सकेसम्म छुट्याएर लैजान्छौं । सुरुवात भएकोले थुप्रिएका केही फोहोर वर्गीकरण नभई जानसक्छ तर त्यस्तो फोहोर न्यून हुन्छ’ उनले भने ।

मेयर बालेनको सचिवालयका अनुसार उपत्यकाका सबै स्थानीय तहलार्ई चिठी पठाएर फोहोरलाई स्रोतमै बर्गीकरण गर्न भनिएको छ । गत साता काठमाडौं महानगरपालिकाले उपत्यकाका सबैजसो नगरपालिकासँग फोहोर व्यवस्थापनका विषयमा छलफल गरेको छ ।

महानगरले फोहोरको वर्गीकरण नगरे कारबाही गर्ने चेतावनी दिँदै माइकिङ गरिरहेको छ । ‘अहिले हामीले केही बाँडेर, अनुदान दिएर फोहोरको बर्गीकरण गर्ने होइन । केही समयपछि कार्यक्रमकै रुपमा कम्पोष्ट विन लगायतको सामाग्री दिने तयारी गरेको छौं’ बालेनको सचिवालयका इन्जिनियर लम्सालले भने ।

५ गतेसम्म कार्यान्वयन नभए आन्दोलन

जेठ २६ गते राति बञ्चरेडाँडामा आन्दोलनरत पक्षसँग भएको छलफल साउन एक गतेबाट अक्षरसः पालना हुनुपर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइट सरोकार समितिले जनाएको छ । समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार समितिले स्थानीय जनप्रतिनिधि, महानगर र शहरीविकास मन्त्रालयको छलफलपछि गरेको निर्णयको कार्यान्वय साउन ५ गतेसम्ममा हेर्ने बताए ।

‘मध्यराति काठमाडौंको जनप्रतिनिधिले अपरहण शैलीमा हाम्रा स्थानीय जनप्रतिनिधिलाई लगेर हस्ताक्षर गरेका छन् । ५ गतेसम्म २७ गते भएको सम्झौता अक्षरसः पालना नभए हामी आन्दोलनको आँधीबेहेरी ल्याउँछौं । महानगरको फोहोर दीर्घकालीन रुपमा व्यवस्थापन गर्छौं पनि भनेका छन् । कार्यान्वयन हेरौं, भएन भने संघर्षको विकल्प छैन’, ढुंगानाले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?