+
+

एमसीसीका विषयमा ओलीले झुट बोल्नुभयो : नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १ गते १४:०४

१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको बताएका थिए । तर श्रेष्ठले ओलीको उक्त भनाइको खण्डन गर्दै अमेरिकाले दबाव दिएपछि ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा पेश गरेको बताए ।

‘पछिल्लो पटक क. केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो’ उनले फेसबुकमा लेखेका छन् ।

ओलीले शनिबारको कार्यक्रममा अहिले संसद कमजोर भएकाले एमसीसी पारित गरेको बताएका थिए । माओवादी नेता श्रेष्ठले ओलीको उक्त भनाइको पनि खण्डन गरेका छन् । विगतमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा एमसीसी विशुद्ध आर्थिक विकासको योजना भएको र सार्वभौमिकता र राष्ट्रिय हित प्रतिकुल प्रावधान नभएको भन्दै ओलीले बचाउ गरेको श्रेष्ठले बताए ।

पछि पुष्पकमल दाहाल प्रचण्ड र आफूसहितका नेताहरु एमसीसी अनुमोदन असफल पार्ने प्रस्ताव लिएर ओलीसमक्ष जाँदा उक्त सम्झौतामा राष्ट्रिय हित विपरीतका कुनै प्रावधान नरहेको भनेर जोड दिएको पनि श्रेष्ठले बताए ।

‘उहाँले त्यसबेला पनि एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरीतका कुनै प्रावधान नरहेकाले यो त्यस्तो विषय होइन भनेर जोड दिनुभएको थियो’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?