+
+

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ११:०३

३ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ ।

स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

पोखरेलले न्यायाधीश कोइरालालाई घुस लिने प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले छानविन गरिरहेको छ । ‘जसरी हुन्छ, सम्पर्कविहीन भएर म्याद नबुझ्ने, स्पष्टीकरण पनि नदिने अनि यो विषयलाई अल्मल्याएर आफू उम्किन खोजेको देखिन्छ,’ परिषद स्रोतले भन्यो, ‘उहाँ घरमा पनि हुनुहुन्छ, कार्यालय बन्द गर्नु भएको छ । केही सिप नलागेपछि हामीले सार्वजनिक सूचना निकालेका हौं ।’

सार्वजनिक सूचना निकाल्नुअघि परिषदले पोखरेलको घर, कार्यालय र झापास्थित पुरानो स्थायी ठेगानामा समेत म्यादको पत्र पठाएको थियो । केही ठाउँबाट पत्र फिर्ता आएको परिषदका एक सदस्यले बताए । त्यसपछि परिषदको अनुशासन समितिमा भएको छलफल अनुसार सूचना निकालेको उनले बताए ।

‘तपाईं रुद्रप्रसाद पोखेलले कानून व्यवसायको सिलसिलामा कार्य गर्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङसमेत उपर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निजलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरी तपाईं र न्यायाधीशबीच फोन वार्ताको सन्दर्भमा तपाईंलाई कार्वाही हुनु पर्ने हो/होइन ?’ सार्वजनिक सूचनामा भनिएको छ, ‘अनुशासन समिति (कार्य व्यवस्था) नियमावली, २०५८ को नियम ६(३) बमोजिम यो सूचना प्रकाशित गरिएको छ । आजका मितिले मितिले ७ दिन भित्र जवाफ पेश गर्नु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सूचित गरिन्छ ।’

सिभिल सहकारीका तत्कालिन अध्यक्ष इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दामा आरोपित तामाङलाई धरौटीमा छाड्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई घुसको प्रस्ताव गरेका थिए । त्यो अडियो सार्वजनिक भएदेखि उनी सम्पर्कविहीन भएका छन् ।

यस्तो छ सूचना–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?