+
+

गोरखा नगरपालिकाका १६ कर्मचारीको बढुवा बदर

नगरपालिकाले गरेको बढुवालाई लोकसेवाले दिएन मान्यता

विकास मरहट्टा विकास मरहट्टा
२०७९ साउन ४ गते १६:१४

४ साउन, गोरखा । गोरखा नगरपालिकाले नियम विपरीत गरेको कर्मचारी बढुवा गण्डकी प्रदेश लोक सेवा आयोगले बदर गरिदिएको छ । आफूखुशी ऐन बनाएर कर्मचारी बढुवा गरेको भन्दै प्रदेश लोकसेवा आयोगले त्यसलाई बदर गरिदिएको हो ।

गत जेठ २६ गते नगरपालिका कार्यालयमा पत्र पठाएर आयोगले नगरपालिकाले गरेको कर्मचारी बढुवाको काम कारवाही बदर भएको जानकारी गराएको हो ।

आयोगको परामर्श बिना कर्मचारीको सेवा, शर्त सम्बन्धी ऐन जारी गरी आफूखुशी कर्मचारी बढुवा गरेकाले प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ४३ अनुसार कर्मचारी बढुवा बदर गरिएको आयोगका सचिव विनोदबहादुर कुँवरले बताए ।

गोरखा नगरपालिकाले कर्मचारी सेवा व्यवस्थापन ऐन २०७८ अनुसार नवौं नगरसभाबाट निर्णय गरिएको भन्दै केही समयअघि १६ जना कर्मचारी बढुवा गरेको थियो ।

नगरपालिकाले नायव सुब्बा राम कुमार श्रेष्ठ, शोभा दवाडी प्रधान, विमला वाग्ले र किरण कट्टेललाई अधिकृत छैठौंमा बढुवा गरेको थियो । त्यस्तै सुन्दर श्रेष्ठ, सरस्वती कमर, अनिलभक्त तिवारी, रामबहादुर कोइराला, प्रकाशचन्द्र ढकाल र सरस्वती अधिकारीलाई खरिदारबाट नायव सुब्वामा बढुवा गरेको थियो ।

अधिकृत छैठौं पदमा रहेका इन्जिनियर प्रकाश ढकाललाई अधिकृत सातौ, लेखापाल नारायण मरहट्टालाई लेखा अधिकृत, सब–इन्जिनियर राजु श्रेष्ठलाई इन्जिनियर, सह–लेखापाल सावित्री अधिकारीलाई लेखापाल र कार्यालय सहयोगी शोभा गुरुङलाई खरिरदारमा बढुवा गरिएको थियो । बढुवा बदर भएसँगै ती कर्मचारीहरुको पद पहिलैकै यथावत भएको छ ।

तलब लिन आनाकानी

आयोगले बढुवा बदर गरेपछि बढुवाको सुचीमा परेका कर्मचारीले तलब लिन मानेका छैनन् । बढुवा भएको पदको तलब स्केल नपाउने भएपछि उनीहरुले असार महिनाको तलब लिन आनाकानी गरेका हुन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालका अनुसार कर्मचारीहरुले बढुवा भएको पदको तलब स्केल चाहिने बताएका छन् ।

‘आयोगले बढुवा बदर गरेपछि उहाँहरु पहिलैकै पदमा झर्नुभयो, त्यही स्केल अनुसार तलब खुवाउनुपर्ने भएपछि हामीले तलब लिनुहुन्छ कि के गर्नुहुन्छ भनेर सोध्यांै,’ उनले भने, ‘उहाँहरुले अहिले लिन्नौं भन्नुभएको छ ।’

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?