+
+

डलरसँग भारु कमजोर हुँदा किन झस्किंदैछ नेपाल ?

अर्थतन्त्र आत्मनिर्भर नहुँदा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ र डलरको सम्बन्ध यति जटिल र संवेदनशील बनेको छ कि यो मौद्रिक तथा आर्थिक मात्रै नभएर राजनीतिक, कुटनीतिक र सामाजिक विषय बन्न पुगेको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ साउन ५ गते २१:५०

५ साउन, काठमाडौं । छिमेकी भारतको अर्थतन्त्र दुई खालको संकटबाट गुज्रिरहेको छ । महँगी र द्रुत रूपमा घट्दै गएको भारतीय रुपैयाँ (भारु) को अवमूल्यनले भारतीय अर्थतन्त्रमा नयाँ समस्या खडा गरिदिएको छ । भारतीय अर्थतन्त्रमा देखिएको मूल्यवृद्धि र मुद्राको अवमूल्यनको असर नेपाललाई पनि परेको छ ।

नेपाली मुद्राको अमेरिकी डलरसँग विनिमय दर १२८ रुपैयाँ पुगेर कीर्तिमान बनिसक्यो । नेपालमा पछिल्ला महिनाहरुमा लगातार डलरको मूल्यले रेकर्ड राखिरहँदा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।

सैद्धान्तिक रुपमा विदेशी मुद्राको माग र आपूर्तिका आधारमा विनिमय दर निर्धारण हुन्छ । तर, यो किताबी कुरा नेपालमा लागू हुँदैन । नेपाली मुद्रा बलियो र कमजोर हुने कुरा आर्थिक सिद्धान्तबाट निर्देशित छैन ।

भारतीय रुपैयाँको स्थिति के छ र उसको विदेशी मुद्रासँगको विनिमय दर के हुन्छ भन्नेमा नेपालको विदेशी मुद्राको विनिमय दर आधारित छ । किनभने नेपालको भारतसँग स्थिर विनिमय दरको प्रणाली छ । यसले गर्दा भारुको मजबुतीका आधारमा नेपालमा डलरको मूल्य तलमाथि भइरहन्छ । भारतको १०० रुपैयाँसँग नेपालको १६० रुपैयाँ आबद्ध (पेग) भएको छ ।

अर्थविदहरुका अनुसार यसैका कारण डलरसँग भारु कमजोर हुँदा नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर हुँदै गएको हो ।

भारुको विदेशी मुद्रासँगको दरमा आधारित भएर नेपाली मुद्राको मूल्य तय हुने कारण भारतीय अर्थतन्त्रका समस्या नेपालसँग सोझै जोडिन पुगेको छ । जुन महिनामा ७.०१ प्रतिशत रहेको भारतको खुद्रा मुद्रास्फीति भारतीय रिजर्भ बैंकले तोकेको वाञ्छित सीमा ६ प्रतिशतभन्दा बढी हो ।

डलरको तुलनामा भारतीय रुपैयाँको अवमूल्यन लगातार जारी रहँदा मंगलबार भारु ८० को तहबाट माथि उक्लिएको थियो । डलरसँग भारतीय मुद्रा कमजोर हुँदा भारतको आयात महँगिदै गएको छ भने त्यसका कारण भारतीय बजारमा पनि सामानको मूल्य बढिरहेको छ । यसको बाछिटा अहिले नेपालसम्म आइपुगेको छ ।

नेपालमा पनि डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा अर्थतन्त्रमा थप समस्या आउने चिन्ता प्रकट भएको छ ।

नेपाली मुद्राको अवमूल्यन मात्रै हैन, महँगी पनि जनताको ढाड सेक्ने गरी बढेको छ । नेपाल राष्ट्र बैंकले ६.५ प्रतिशतको सीमा तोके पनि महँगीको दर जेठ महिनामा ८.५ प्रतिशतको विन्दुबाट माथि उक्लिएको छ । अहिले नेपाल र भारत मात्रै हैन, विश्वभर महँगी बढ्दो दरमा छ । जसको असरले डलरसँग अरु विदेशी मुद्राहरु पनि कमजोर बनेका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा रुस–युक्रेन लडाइँ, पेट्रोलियम पदार्थको मूल्य, अमेरिकाको केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले मूल्यवृद्धिविरुद्ध ब्याजदरमा गरेको वृद्धि लगायतका कारण पोर्टफोलियो लगानीमा आएको गिरावटले अहिलेको अवस्था आएको बताउँछन् । यसको सामना भारत र नेपालले मात्रै नभएर विश्वका धेरै देशले गरिरहनुपरेको उनको भनाइ छ ।

महामारीका कारण आपूर्ति श्रृङ्खलाका कारण खाद्यवस्तुको मूल्यमा वृद्धि भएको थियो । महामारीले नागरिकको क्रय शक्तिमा पारेको नकारात्मक प्रभावले अर्थतन्त्रका वाह्य क्षेत्रमा बढी संकट देखा परेका थिए ।

मुख्य गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भारतमै मुद्रास्फीतिको अवस्था सिर्जना गरिदियो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाइरहेकोले लगानीकर्ताले बढी ब्याजको आसमा भारतबाट डलर बाहिर पठाउन थालेका छन् । यसले भारु थप कमजोर हुँदै जाने भारतमै आयात महँगिएर मुद्रास्फीति थप बढ्ने जोखिम छ ।

भारतीय अर्थ विश्लेषकहरुले अमेरिकी केन्द्रीय बैंकको नीतिले यो अवस्था आएकाले अहिले भारु कमजोर भएको भन्नुभन्दा डलर बलियो भएको भन्नु सही हुने बताइरहेका छन् । नेपालमा जस्तै भारतमा पनि आर्थिक अवस्था पाकिस्तान वा श्रीलंका जस्तै हुन सक्ने हो कि भन्दै जनस्तरमा चिन्ता व्यक्त भइरहेको छ ।

तर, भारतले निर्यात बढाउन सकेमा कुनै समस्या नहुने भन्दै भारतीय अर्थशास्त्रीहरुले त्यस्तो अवस्था नआउने दावी गरिरहेका छन् ।

बलियो डलरका लाभ–हानी

नेपालमा विदेशी मुद्राको सञ्चितीले ६.५७ महिनाका लागि मात्रै आयात धान्ने अवस्था रहेकाले डलरको अधिमूल्यन र नेपाली मुद्राको अवमूल्यनले जनस्तरमा संकट झन् गहिरिने आशंका पैदा भएका छन् ।

विज्ञहरुका अनुसार डलरको मूल्य बढ्नुको सकारात्मक र नकारात्मक दुवै प्रभाव हुन्छन् । डलरको मूल्य बढ्दा डलरमा भुक्तानी लिने गरी निर्यात गर्नेहरुलाई यसले राम्रो मूल्य पाउने अवस्था बन्छ । तर नेपालको उत्पादन क्षमता सुधार नभएको हुनाले डलरको मूल्य बढ्दाको लाभ लिन भने सकिरहेको छैन ।

विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी पनि बढ्छ । रेमिट्यान्सलाई पनि डलरको मूल्य बढ्दा सकारात्मक प्रभाव पर्छ । डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्छ । यसले वैदेशिक रोजगारीमा गएका नेपाली र उनीहरुको परिवारलाई पनि यसले फाइदा पुग्छ ।

सिद्धान्ततः डलरको मजबुतीले आयातलाई पनि निरुत्साहित गर्छ । आयात महँगो हुने कारणले नभए पनि हुने खालको र महँगा वस्तुको आयात कम हुन्छ । सैद्धान्तिक रुपमा व्यापार घाटा न्यूनीकरणमा सघाउन सक्छ ।

डलर महँगिनुका नकारात्मक पक्ष पनि छन् । नेपालमा अर्थतन्त्र आयातमा आधारित भएकाले आयातमार्फत् महँगी/मुद्रास्फीति बढ्छ । डलर बलियो हुँदा नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि बढ्छ ।

यातायात, ढुवानी, उत्पादन र निर्माणको अनेक क्षेत्रमा पनि प्रयोग हुने तेलको मूल्य बढ्दा सबैजसो क्षेत्रको मूल्य बढ्छ । यातायात र उद्योग क्षेत्रको पनि लागत बढ्छ र त्यसले बजारमा मूल्यवृद्धि गराउँछ । आयातमा आधरित अर्थतन्त्र भएकाले नेपालको तुलनात्मक लाभ र उत्पादनको प्रतिस्पर्धी क्षमतामा असर गर्छ ।

डलरको मूल्य बढ्दा आयातलाई नियन्त्रण हुन्छ भन्ने सिद्धान्त भए पनि अतिआवश्यक वस्तुहरु नै बढी आउने भएकाले खासै आयात घट्दैन । उल्टै व्यापार घाटा बढ्न पुग्ने खतरा हुन्छ । किनभने आयात महँगो पर्न जान्छ ।

डलरको भाउ बढ्दा जहाँ डलर बलियो हुन्छ, त्यहीँ लगानी बढ्छ । देशमा आउने सक्ने लगानी घट्ने र उल्टै विदेशमा पूँजी पलायन हुने सम्भावना हुन्छ । यसले विदेशी मुद्राको स्रोतमा थप दबाव पर्ने अवस्था आउनसक्छ ।

अर्थतन्त्रको क्षमता नबढ्दासम्म विदेशी मुद्रा बलियो हुँदाको लाभ नेपालले पाउने अवस्था हुँदैन । नेपालले तिर्नुपर्ने वैदेशिक ऋणको साँवा र ब्याजवापतको पैसा पनि बढ्छ ।

नेपालले पर्याप्त उत्पादन विदेश निर्यात गर्नसक्ने अवस्था हुन्थ्यो भने डलरको बलियो हुँदा हामीलाई लाभ धेरै हुनसक्थ्यो । त्यसैले डलर बलियो हुँदा समष्टिगत आर्थिक व्यवस्थापनमा चुनौती थपिन जान्छ ।

स्थिर दर समस्या हो कि लाभ ?

डलरको मजबुतीले भारु कमजोर हुँदै नेपाली मुद्रा कमजोर भएकाले भारतसँगको स्थिर विनिमय दरको प्रणालीमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । नेपालले २०४८ को अन्तिम महिनातिर १६० रुपैयाँमा भारतीय विनिमय दर तोकेको थियो ।

त्यसपछि पुनरावलोकन भएको छैन । यसका कारण नेपाल आयात हुने भारतीय उत्पादनले नेपालबाट अतिरिक्त संरक्षण पाएको गुनासो कतिपय आयातकर्ताहरुले नै गर्ने गरेका छन् ।

युरोप, अमेरिका र मध्य एसियाका देशहरुबाट उच्च दरमा बढेको विलासी वस्तुहरुको आयात मूल्य डलरसँगै उच्च दरमा बढे पनि उस्तै प्रकारका भारतीय वस्तुको मूल्य स्थिर जस्तै छ । यसले गर्दा भारतबाट हुने आयातलाई संरक्षण दिएर व्यापार घाटा वृद्धिमा नेपालले सघाइरहेको विषय कतिपय सार्वजनिक मञ्चमा उठ्ने गरेको छ ।

त्यसैले भारतीय स्थिर विनिमय दर पुनरावलोकन या पुनर्मूल्यांकन भएमा नेपालमा आन्तरिक उत्पादन बढाउन सहयोग पुग्ने कतिपयको तर्क छ ।

तर, यसमा नेपालको विगत त्यति मीठो छैन । कुनै बेला नेपालमा भारतीय रुपैयाँ दैनिक रुपमा तलमाथि भइरहने अवस्था थियो । भारतीय मुद्रा बलियो हुँदै गएपछि विसं २०२३ ताका सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका बेला नेपालले भारतसँग सय रुपैयाँ भारु बराबर १०१ रुपैयाँ मूल्य तय गरेको थियो ।

तर, त्यतिबेला भारतमा निर्यात हुने काठ, पिना, चामल, घिउ लगायतका वस्तुको आयात चौपट भएको थियो । सुरुमा राष्ट्रवादी कहलिएको कदम प्रत्युत्पादक भएपछि फेरि पुनरावलोकन गर्नुपरेको थयो ।

अर्थविद केशव आचार्य विनिमय दर पुनरावलोकन बाहिर बहस गर्ने विषय नै नभएको बताउँछन् । यसको अध्ययन र विश्लेषण सरकारले बन्द कोठाभित्र बसेर गर्नुपर्ने भन्दै उनले विदेशी मुद्राको स्रोत र खर्च गर्ने क्षेत्रबारे एक–एक विषय पहिल्याएर मात्रै निचोडमा पुग्नुपर्ने बताए ।

‘यदि हामीले १६० लाई १५९ मा झा¥यौं भने कहाँ कहाँ त्यसको प्रभाव पर्ला भनेर विस्तृत विश्लेषण हुनुपर्छ’, उनी भन्छन्, ‘त्यसो गर्दा हाम्रो विदेशी ऋणको भार न्युन् मात्रामा घट्ला, व्यापार घाटाको अंक थोरै खुम्चिएको देखिएला । तर, यसको असर धेरै खालको हुन्छ भन्ने बिर्सन हुँदैन ।’

उनका अनुसार भारुको मूल्य घटेमा निर्यातबापत प्राप्त हुने आम्दानी घट्छ, पर्यटनको आय घट्छ, भारतीय वस्तुको आयात बढेर नेपाली वस्तु प्रयोग झन् घट्न सक्छ र रेमिट्यान्स आय पनि घट्न सक्छ ।

‘यो विषय राजनीतिक र कुटनीतिक पनि हो, समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने खालको पनि हो, तराई क्षेत्रमा हुने भारुको प्रयोग सीधा नेपाली समाजसँग जोडिन्छ’, उनी भन्छन्, ‘तर, विनिमयदरको पुनर्मूल्यांकन हठात गर्ने काम हैन, यसले ल्याउने उथलपुथललाई हेक्का राखेर मात्रै यस्तो विषयमा बहस र विश्लेषण गरिनुपर्छ ।’

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा भारतसँग नेपालले निकै ठूलो परिमाणमा व्यापार गर्ने र त्यसमा पनि अधिकतम हिस्सा आयातको रहेकाले दुई मुलुकको मुद्राको आवद्धताले नेपाललाई लाभ गरिरहेको बताउँछन् ।

६०० अर्ब डलर सञ्चिती र १२–१२ महिनाको आयात थेग्ने सञ्चिती हुँदाहुँदै पनि भारतीय मुद्रा कमजोर बन्दै गएको भन्दै उनले नेपालको सञ्चिती सात महिनालाई समेत नपुग्ने अवस्थामा रहेको तथ्यलाई भुल्न नहुने बताउँछन् ।

‘भारतको समष्टिगत आर्थिक व्यवस्थापन निकै राम्रो छ । सन् १९९० ताकाको आर्थिक संकटपछि भारतले यस पक्षमा भारतले निकै ध्यान दिएको छ, यदि भारतीय मुद्रामा विनिमय दर स्थिर भएन भने भारतका राम्रो पक्षको हामी लाभ लिन सक्दैनौं’, उनी भन्छन्, ‘भारत ठूलो, व्यवस्थित र आत्मनिर्भरउन्मुख अर्थतन्त्र हो, त्यहाँको विदेशी मुद्रा सञ्चितीको राम्रो अवस्थाको लाभ नेपालले लिएको छ ।’

स्थिर विनिमय प्रणालीका कारण पनि नेपालमा आर्थिक स्थिरता काम गर्न सघाउ पुगेको उनको तर्क छ । स्थिर विनिमय प्रणाली कायम नभएको भए नेपाललाई आर्थिक स्थायित्व कायम गर्न झनै हम्मे–हम्मे पर्ने उनको टिप्पणी छ ।

२०४८ पछि नेपालले भारतीय मुद्राबाहेक अन्यको विनमिय दर प्रणाली भारतीय मुद्राको विदेशी आवद्धतासँग जोडेको हो । नेपालमा अहिले ब्याजदर तल–माथि हुँदा नियन्त्रण गर्न माग हुन्छ । एकल अंकमा राख्ने राष्ट्र बैंकको प्रयास अहिलेसम्म स्थायी हुन सकेको छैन ।

नेपालमा डलरमा जसरी उतारचढाव आएको छ, विनिमय दर बजारलाई छाडेर भारुमा त्यसैगरी उतार चढाव आयो भने नेपाललाई थेग्न भने गाह्रो पर्ने अवस्था आउनसक्ने विज्ञहरु बताउँछन् ।

नेपालमा विदेशी मुद्राको स्रोत नै कमजोर छ । वर्षमा मुश्किलले ९ खर्बको रेमिट्यान्स छ, करिब १९ खर्बको आयात हुने त देखिसकियो । निर्यात २ खर्बको छ, महामारीका कारण पर्यटन तुरुन्तै बढ्ने छैन, विदेशी लगानी १७ अर्बमा सीमित मात्रै छ, विदेशी अनुदान र ऋणको परिमाण समेत घटिरहेको छ ।

स्रोत नै कमजोर भएको अवस्थामा भारतीय मुद्रासँगको विनिमय दर चलाइदिने हो भने नेपालको आर्थिक स्थायित्व नै भत्किने थापाको चेतावनी छ ।

भारतीय मुद्राको आवद्धता दर पुनरावलोकन नै गर्ने हो भने भारतसँगको व्यापार घाटालाई आधार मान्नुपर्ने अवस्था छ । त्यसो गर्दा नेपाली मुद्राको मूल्य अवमुल्यन गर्नुपर्छ । अहिले १.६ रहेको विनिमयदर २.० वा २.५० भयो भने नेपालले भारतबाट हुने आयात थेग्न नसक्ने जोखिम पनि छ ।

गत आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ) मा भारतसँग नेपालको व्यापार घाटा मात्रै ९ खर्ब ५५ अर्ब रुपैयाँको छ । यो अवधिमा नेपालको कुल व्यापार घाटा त १५ खर्ब ७७ अर्ब रुपैयाँ नाघेको छ ।

‘भारतसँग नेपालको भयंकर ठूलो व्यापार घाटा छ । नेपाली मुद्राको अधिमूल्यन सोच्न सकिने अवस्था छैन’, अर्थविद थापा भन्छन्, ‘त्यसो भयो भने औषधिदेखि औद्योगिक कच्चापदार्थ, तेल, खाद्यवस्तुको मूल्यले आकाश छुन्छ, त्यसो भयो भने यहाँ संकटमाथि संकट आउँछ ।’

यस्तो पुनरावलोकन नेपालको अर्थतन्त्र बलियो भएको बेलामा मात्रै गर्नुपर्ने अर्थविदहरुको भनाइ छ । किनभने नेपाली अर्थतन्त्रभित्र उत्पादनको अवस्था कमजोर छ । भारतीय मुद्राको विनिमय दर बजारमा आधारित गर्ने हो भने मौद्रिक र बजेटरी नीतिअनुसार जथाभावी पैसा छापेर बजारमा पठाउनुपर्ने हुनसक्छ । त्यसले त नेपाललाई जिम्बावेको बाटो लैजाने जोखिम हुने थापा बताउँछन् ।

‘खुला अर्थतन्त्रमा खुला बजार अर्थतन्त्रमा विनिमय दर प्रणाली धेरै सोचेर सावधानीपूर्वक अवलम्बन गर्नुपर्छ । विगतमा पूर्वजले निकै बुद्धिमानीपूर्वक यो प्रणाली सुरु गरे, उहाँहरुप्रति हामी आभारी हुनुपर्छ’, थापा भन्छन्, ‘अहिलेकै अवस्थामा भारुको स्थिर विनिमयदर प्रणाली चलाइयो भने मध्यम वर्गमा उक्लिएका परिवारहरु पनि महँगीको मारले गरिबीको रेखामुनि पुग्छन् ।’

नेपालले आन्तरिक उपभोगका लागि आयात गरिरहेको छ । नेपालले वर्षमा ३६० अर्बको मात्रै कृषिवस्तुको आयात गरिरहेका छ । पर्याप्त सम्भावना भएको जलविद्युत्मा समेत नेपालको अधिक उत्पादन क्षमता छैन । अर्थतन्त्रको नवनिर्माण, पुननिर्माण, अधिक उत्पादन क्षमताको वृद्धि तुलनात्मक लाभको क्षेत्रमा प्रगति नभई स्थिर विनिमय दर व्यवस्थाको पुनरावलोकन सोच्न समेत नहुने अर्थविद्हरु बताउँछन् ।

नेपालले आयातमा गर्नुपर्ने भुक्तानीका लागि भारु अभाव हुँदा डलर बेच्नुपरिरहेको छ । वर्षैपिच्छे यस्तो भारु खरिदको दर बढ्दै गएको छ । आर्थिक वर्ष ४१ अर्ब ७२ करोडको भारु किनेको नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै २ खर्ब ८२ करोड खर्चिएर भारु खरिद गरेको छ ।

यसले भारतसँग नेपालको बढ्दो निर्भरतालाई प्रष्ट्याउँछ । आन्तरिक उत्पादन नबढेकै अवस्थामा भारुको स्थिर मूल्यमा नै पुनर्विचार गर्नुपर्ने माग प्रत्युत्पादक हुने जोखिम छ ।
‘यो विषय जटिल र संवेदनशील हो’, अर्थविद आचार्य भन्छन्, ‘सरकारले थिंकट्यांक प्रयोग गरेर सोच्नुपर्ने विषय पनि हो ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?