+
+

नेपालमा सामूहिक रुपमा लगानी गर्न एनआरएनलाई ढकालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १७:०८

५ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सामूहिक रुपमा नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।

गैरआवासीय नेपाली संघले बिहीबार आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा सञ्चितिमा संकुचन देखिएको भन्दै उनले यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताए ।

‘मुलुक अहिले वैदेशिक मुद्रा सञ्चितिको चापबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहलाई यो उपयुक्त अवसर हो । प्रत्यक मुलुकको वा सहरको समूहहरु बनाई कलेक्टिभ रुपमा ठूलाठूला आयोजनाहरुमा लगानी विस्तार गर्नुहोस् । तपाईंहरुले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ’ उनले भने ।

उनले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पहल गर्ने समेत बताए ।

नेपालको अर्थतन्त्रका केही सूचकहरु नकारात्मक रहे पनि नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न नमिल्ने उनको भनाइ थियो ।

‘नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलंका ठूलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौं । अर्को कुरा उनीहरुको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिट्यान्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलंका हुँदैनौ र त्यो बाटोमा पनि छैनौं” उनले भने ।

साधरण सेयर (आईपीओ) मा गैरआवासीय नेपालीहरुलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुग्ने भन्दै उनले  नेपालमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने बताए ।

उनले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रुपमा लिन गैरआवसीय नेपालीहरुलाई उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?