+
+

मेयर नागेश कोइरालाको सम्पत्ति : ३ करोडको प्राडो, ८० तोला सुन, १० लाख नगद

हरि अधिकारी हरि अधिकारी
२०७९ साउन १० गते ९:४५

१० साउन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् ।

कोइरालाले बुझाएको सम्पत्ति विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।

२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेख गरेका छैनन् । सम्पत्ति विवरणको एक ठाउँमा भाइको नाममा रहेको ११ कट्ठा जग्गा रहेको उल्लेख गरेका उनले श्रीमती, छोरा, छोरी र आमा-बुबाको नाममा रहेको सम्पत्ति भए/नभएको उल्लेख गरेका छैनन् ।

विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रीन क्रस अस्पताल सञ्चालित छ । अस्पताल परिसरमै रहेको घरमा उनी बस्छन् । तर त्यसबारे सम्पत्ति विवतरणमा उल्लेख छैन । अस्पताल र घर आफ्नो नाममा नरहेकाले सम्पत्ति विवरणमा उल्लेख नगरेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मेयर कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति मात्रै पेश गरेका छन् । ‘आफ्नो नाममा रहेको सम्पत्ति मात्रै विवरणमा पेश भएको छ,’ उनले भने, ‘अंशबण्डा भइसकेकाले परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश भएको छैन ।’

कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ११ र १५ का सात ठाउँमा साढे चार बिघा जग्गा रहेको विवरणमा उल्लेख छ । उनको जग्गा रहेको क्षेत्रमा बजार भाउ प्रतिकठ्ठा ८० लाख रुपैयाँ हाराहारी रहेको स्थानीय बताउँछन् ।

विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९.७८ वर्गमिटर (८५ कठ्ठा) र विराटनगर ११ मा ११ कठ्ठा जग्गा रहेको विवरण पेश गरेका छन् । कैफियतमा विराटनगर ११ मा रहेको ११ कठ्ठा जग्गा भाइ डाक्टर पुरु कोइरालाको नाममा रहेको उल्लेख छ ।

कोइरालाले पेश गरेको विवरणमा ८० तोला सुन २० वर्ष अघि ८ लाखमा खरिद गरेको उल्लेख छ । सानिमा बैंकमा १० लाख रुपैयाँ मौजदात रहेको विवरण पेश गरेका उनले स्थानीय तहको निर्वाचनभन्दा एक महिनाअघि २०७८ चैतमा टोयोटा कम्पनीको प्राडो गाडी ३ करोड ३० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कोइरालाले आफ्नो सेयर र व्यवसाय भए-नभएको विवरण समावेश गरेका छैनन् ।

विराटनगरमा २००७ साल यता नेपाली कांग्रेसको राजनीति र कोइराला परिवारको प्रसंग चल्दा ऋषिकेश कोइराला (हरिबाबु) को नाम आउँछ । बीपी कोइरालाका राजनीतिक सहयोगी तिनै हरिबाबुका नाति हुन् नागेश ।

कांग्रेसको भूमिगत आन्दोलनका क्रममा विराटनगरमा हरिबाबुले पार्टीलाई आर्थिक सहयोग गरेको कांग्रेसका पुराना नेताहरु बताउँछन् ।

२०५६ मा तरुण दल मोरङको सभापति बनेका कोइराला शेरबहादुर देउवाले पार्टी विभाजन गर्दै नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा उनीसँगै गएका थिए ।

वि.सं. २०६६ मा मोरङ कांग्रेसको कोषाध्यक्ष र २०७२ मा सचिव बनेका उनी त्यसपछि कित्ता परिवर्तन गर्दै डाक्टर शेखर कोइरालाको पक्षमा लागेका थिए । १४औं जिल्ला अधिवेशनबाट उनी मोरङको उपसभापतिमा निर्वाचित भए ।

दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका कोइरालाले बेअवि विश्वविद्यालय (फिलिपिन्स)बाट सन् २००२ मा जनप्रशासनमा स्नातकोत्तर गरे । फिलिपिन्सबाट फर्किएपछि उनी राजनीतिमा सक्रिय भएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?