+
+

घरधनी र सटरका व्यापारी अघि सारेर फुटपाथ खाली गराउँदै महानगर

बानेश्वरबाट धपाइए फुटपाथ व्यापारी

नगर प्रहरीले मात्रै सामान खोस्दा अभियान सफल नहुने भएपछि काठमाडौं महानगरपालिकाले योजना बनाएर आफू पछाडि बस्ने र सटरमा व्यापार गर्ने व्यापारी र घरधनीलाई अघि सार्ने रणनीति तय गरेको हो ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ साउन १० गते २२:०३

१० साउन, काठमाडौं । नयाँ बानेश्वरमा तीन दिनदेखि फुटपाथमा व्यापार गर्नेहरु छैनन् । नगर प्रहरी, स्थानीयबासी र सटरमा ब्यापार गर्नेहरुसँग दैनिक घम्साघम्सी पर्न थालेपछि साँझमा मात्रै देखापर्ने फुटपाथ व्यापारी देखिन छाडेका हुन् ।

उनीहरुको अवस्था के छ भन्ने विषयमा महानगरपालिका जानकार छैन । तर, बानेश्वर क्षेत्रको फुटपाथ लभभग पसलमुक्त भएपछि सटरमा व्यापार गर्नेहरु भने खुशी छन् ।

४ साउनमा नयाँ बानेश्वर नजिकै फुटपाथ व्यापारी र स्थानीयबासीबीच विवाद सुरु भएको थियो । एक स्थानीयले बिरामी बोकेको गाडी निकाल्न लाग्दा बाटो नपाएपछि चर्काचर्की भएपछि बानेश्वरमा फुटपाथ हटाउन स्थानीयबासी तात्तिएका थिए ।

त्यसपछि दैनिकजसो बानेश्वर क्षेत्रमा स्थानीयबासी र व्यापारीबीच तनावको अवस्था सिर्जना भइरह्यो । नगर प्रहरीले पनि यस्तो विवाद मिलाउन चासो नदिएपछि जनपथ प्रहरी परिचालित भयो ।

दैनिकजसो झै-झगडा हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्ने अवस्था दोहोरिरह्यो । कुनै हालतमा बस्न नदिने स्थानीयको अडानमा नगर प्रहरीले पनि साथ दियो । यही बीचमा स्थानीयबासी र सटरका व्यवसायीहरु नगर प्रहरी बलले दिएको ‘स्वयंसेवक’ लेखिएको ज्याकेट लगाएर फुटपाथ व्यापारीलाई रोक्न खटिए । यसमा ‘बानेश्वर व्यापार संघ’का पदाधिकारी नै अग्र मोर्चामा देखिए ।

दैनिक भएको तनावले अवस्था झन् असहज हुने देखेपछि फुटपाथमा व्यापारीहरु आउन छाडेका छन् । यसले गर्दा बानेश्वर ‘फुटपाथ व्यापार मुक्त क्षेत्र’ बनेको छ ।

बानेश्वरमा अहिले साइकल र ठेलागाडामा सामान बेच्नेहरु पनि छैनन् । नगर प्रहरी र स्थानीयबासीले साँझको समयमा निरन्तर गस्ती गरिरहेका छन् । उनीहरुको गस्तीबीच कोही पनि व्यापारी फुटपाथमा आएर बस्ने अवस्था पनि छैन ।

कतिपय फुटपाथ व्यवसायी मेगा बैंकको पछाडिपट्टीको क्षेत्रमा खुलेको बानेश्वर प्लाजामा सरेेका छन् । तर, धेरैजसो व्यवसायी बानेश्वरबाट अन्यत्रको फुटपाथमा गएका छन् ।

महानगरपालिकाले सुरुमा बानेश्वर चोकदेखि उत्तरतर्फ पानीट्यांकी वरपरको तरकारी बजार सम्म मात्रै फुटपाथ व्यापार हटाउने अभियान चलाएको थियो । तर, एक हप्ता नबित्दै बानेश्वर क्षेत्रमा सफल भएपछि अन्यत्र पनि फुटपाथ खाली गराउन थालेको छ ।

अब पुरानो बानेश्वरदेखि शंखमूलसम्मकै फुटपाथमा व्यापारी बस्न नदिने गरी गस्ती विस्तार गरिएको महानगरपालिका स्रोतले बताएको छ ।

एक हप्ताबीचमा बानेश्वरमा दैनिकजस्तो भएको ‘तनाव’ एक्कासी निम्तिएको भने थिएन । महानगरपालिकाले नै स्थानीबासीलाई फुटपाथ अतिक्रमण नियन्त्रणको लागि प्रोत्साहित गरेको थियो ।

नगर प्रहरीले मात्रै सामान खोस्दा अभियान सफल नहुने भएपछि महानगरपालिकाले योजना बनाएर आफू पछाडि बस्ने र सटरमा व्यापार गर्ने व्यापारी र घरधनीलाई अघि सार्ने रणनीति तय गरेको हो । महानगरको यो ‘मोडल’ बानेश्वर क्षेत्रमा सफल देखिएको छ ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेल फुटपाथ व्यवसाय मौलाउँदा शंखमूलदेखि पुरानो बानेश्वरसम्मका करिब १२ सय व्यवसायी पीडित भएको बताउँछन् ।

‘हामीले करिब ६ वर्षदेखि महानगर र सरकारका विभिन्न निकायमा गएर फुटपाथ व्यापार हटाएर बटुवालाई निर्वाध हिँड्न दिनुपर्ने माग गरेका थियौं,’ उनले भने,’बल्ल महानगर, सरकार र सबै सरोबारवाला फुटपाथको व्यापार हटाउने विषयमा एक मत भएकाले हामी सबै एकै स्थानमा उभिएका हौं, कसैबाट परिचालित भने हैनौं ।’ यो अभियानमा वडा कार्यालयले समन्वय गरेको र आफूहरुले पनि साथ दिएको उनको भनाइ छ । सटरभित्रै व्यापार गर्ने गरिरहेको फुटपाथ अतिक्रमण पनि हटाएको भन्दै उनले यसले सबैको हित हुने दाबी गरे । ‘यो अभियानमा घर धनीहरुले पनि साथ दिनु भएको छ,’ उनले भने ।

महानगरको गुप्त रणनीति

काठमाडौं महानगरपालिकाले महानगरभित्रका कुनै पनि क्षेत्रमा अब फुटपाथ व्यापार गर्न नदिने योजना बनाएको छ । महानगरपालिका स्रोतका अनुसार एकसाथ १० वटा कार्ययोजना बनाएर बानेश्वर क्षेत्रको फुटपाथ हटाइएको हो ।

सडकपेटी अतिक्रमण नियन्त्रणसँगै सरसफाइ, ट्राफिक व्यवस्थापन, दृष्य प्रदूषण नियन्त्रण, पार्किङ स्थलको व्यवस्थापन, साइकल तथा गाडा नियन्त्रण, सेटब्याकमा रहेको पसलको व्यवस्थापन, सडक पेटी मर्मत, रुखका हाँगा काटछाँट र अव्यवस्थित तार व्यवस्थापनको काम पनि गर्ने महानगरको योजनामा उल्लेख छ ।

बानेश्वर क्षेत्रमा महानगरले करिब २२० वटा फुटपाथ पसल रहेको अनुमान गरेर यसलाई हटाउने योजना बनाएको थियो । बानेश्वरमा जनपद प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, स्थानीय सटर ब्यापारीको संघ, घरधनीहरु, क्लब तथा सामाजिक संघ संस्था, आमा समूह, स्कुलका विद्यार्थी, स्काउट र जनप्रतिनिधिको सहयोग लिने महानगरको योजना थियो ।

बानेश्वरमा कामको नेतृत्व र आवश्यक स्रोत साधनको व्यवस्थापन वडा नम्बर १० को वडा कार्यालयले लिएको छ ।

स्थानीयबासी र सटरका व्यापारीलाई अघि सारेर अन्य क्षेत्रमा पनि फुटपाथ व्यापारीलाई हटेर जाने गरी निरुत्साहित गर्ने महानगरको रणनीति छ ।

घरधनी र सटर भाडामा लिएर व्यापार गर्नेहरुलाई साथ लिंदा फुटपाथ व्यापारीले बाध्यात्मक रुपमै भएपनि फुटपाथ छोड्ने र सटरमा व्यापार थाल्ने महानगरका एक अधिकारीले बताए ।

‘सटरमा हुने व्यापार दर्ता हुन्छन् र कर तिर्छन्’, उनले भने, ‘फुटपाथको व्यापार हटाएपछि फुटपाथ मर्मत गर्छौं, हिँड्न योग्य बनाउँछौं ।’

महानगरपालिकाका अनुसार ‘अन्डरग्राउन्ड पार्किङ सुविधा’ भएका भवनहरुको पार्किङ क्षेत्रमा नक्सा विपरीत राखिएका पसलहरु हटाउन पनि अभियान सुरु भएको छ । अहिलेसम्म करिब २०० भवनले महानगरमा अन्डरग्राउन्ड पार्किङ राख्ने गरी नक्सापास गरेका छन् । तिनको खोजी गरेर सडक र पेटीका पार्किङलाई त्यस्ता भवनहरुमा सार्ने महानगरको योजना छ । बानेश्वर क्षेत्रमा पनि भूमिगत पार्किङमा पसल राखेको भेटिएकाले हटाउन थालिएको उनले बताए ।

महानगर स्रोतका अनुसार अब फुटपाथ हटाउने काम मुख्य मुख्य चोकहरुबाट तीव्र पारिनेछ । व्यवसायी आफैंले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको महानगरपालिकाले बानेश्वरको अभियान दुई हप्ताभित्र सकेर अन्यत्र केन्दि्रत हुने योजना बनाएको छ । त्यसका लागि कार्ययोजना बनिसकेको र क्रमैसँग कार्यान्वयन गर्दै लैजाने उनले बताए ।

‘फुटपाथबाट व्यापारी हटाउने काम बानेश्वरमा फत्ते गरेपछि अन्य क्षेत्रमा पनि सुरु हुन्छ’, ती अधिकारीले भने, ‘हामी पछाडि बस्छौं, स्थानीयलाई अघि सारेर सबैतिरको फुटपाथ व्यापार हटाउँछौं ।’

 

तस्वीर/भिडियो : शंकर गिरी

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?