+
+
पोखरा महानगर :

एउटा भवनको निर्माण अलपत्र, अर्को बनाउन जग्गा खोजिदै

महानगरको पार्किङमा ट्रस्ट, फुटपाथमा पार्किङ

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन १२ गते १९:४८

१२ साउन, पोखरा । पोखरा महानगरपालिकाले बनाउन सुरु गरेको प्रशासकीय भवन निर्माण अलपत्र छाडेर नयाँ ठाउँको खोजी सुरु गरेको छ । पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पुरानो दमकल कार्यालय नजिक निर्माणाधीन प्रशासकीय भवन पूरा नहुँदै नयाँ ठाउँमा बनाउन जग्गा खोजी सुरु गरेको हो ।

पुरानो दमकलस्थित प्रशासकीय भवन १८ महिनाभित्र निर्माण सक्न २०७८ असोज १० गते भूमिबुद्ध, ओमबुद्ध जेभीसँग १४ करोड ३५ लाखमा सम्झौता भएको थियो । उक्त भवन ०७८ कै २७ मंसिरमा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले शिलान्यास गरेकी थिइन् । महानगरले ठेक्का सम्झौता भएपछि पेश्कीस्वरुप ठेकेदार कम्पनीलाई एक करोड २५ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ । तर, भवन निर्माण प्रक्रिया एक वर्ष पुग्न लाग्दासमेत शिलान्यासबाहेक केही भएको छैन ।

तत्कालीन मेयर मानबहादुर जिसीले महानगरभरि विभिन्न ठाउँमा छरिएर रहेका महाशाखालाई एकीकृत गर्ने उद्देश्यले सुविधासम्पन्न महाशाखा बनाउने योजना बनाएको थियो ।

तर, प्रशासकीय भवन बनाउन अन्य उपयुक्त ठाउँ नभेटिएको भन्दै महानगरले महाशाखा भवन बनाउने ठाउँलाई नै प्रशासकीय भवन बनाउने निर्णय गरेको थियो । तर, हाल आएर उक्त भवन निर्माणसमेत अलपत्र परेको छ ।

निर्माणका क्रममा स्थानीयले सार्वजनिक जग्गा संरक्षणको माग गर्दै विरोध गरेपछि भवन निर्माण प्रभावित बनेको हो । ‘महानगरकै नाममा रहेको जग्गामा भवन बनाउँदा कुनै समस्या नहोला भनेर त्यसलाई तोक्यौं । तर, पछि स्थानीयबाट विरोध भएपछि अहिले रोकिएको छ,’ महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने ।

स्थानीयसँगको विवाद मिलाएर अघि बढ्ने हो वा ठेक्का सम्झौता रद्द गर्ने महानगरसँग अहिले दुई बाटा छन् । ‘यसबारे हामीले छलफल पनि गरिरहेका छौं । सकभर विवाद मिलाउने बाटोमा छौं’, पौडेलले भने ।

शिलान्यास भएको ठाउँमा जनस्तरबाट विवाद उत्पन्न भएपछि त्यसलाई सहजीकरण गर्नुको साटो नयाँ विकल्प खोज्न महानगर लागिपरेको हो । धनराज आचार्य मेयरमा निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकबाटै प्रशासकीय भवनका लागि नयाँ ठाउँ खोज्ने निर्णय गरेका हुन् ।

जग्गा खोज्न समितिसमेत गठन भइसकेको छ । समितिमा पोखरा महानगरपालिका–२ का अध्यक्ष दिवशमान प्रधानांग, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही र महानगरका वरिष्ठ इन्जिनियर पूर्ण गुरुङ छन् । तर, नयाँ प्रशासकीय भवन कहाँ बन्छ बन्नेबारे टुंगो भने लागिसकेकोे छैन ।

बनिरहेको भवनमा विवाद र नयाँ भवनबारे टुंगो नलागेपछि मेयर धनराज आचार्य हाल रहेकै भवनको दोस्रो तलामा सर्ने भएका छन् । हालको कार्यकक्ष साँघुरो रहेको भन्दै उनी दोस्रो तलामा नगर प्रहरीले प्रयोग गर्दै आइरहेको कोठामा सर्ने सूचना अधिकारी पौडेलको भनाइ छ ।

फुटपाथमै पार्किङ, झनै साँघुरियो महानगर

पोखरा महानगर कार्यालय अगाडि यात्रुको सहजताका लागि बनाइएको एउटा बसस्ट्यान्ड छ । तर, उक्त बसस्ट्यान्ड कार्यालय समयमा भने सर्वसाधारण यात्रुले प्रयोग गर्न पाउँदैनन् । कारण हो, फुटपाथमा हुने अव्यवस्थित पार्किङ ।

महानगरको गेटसमेत ढाकिने गरी राखिएका सवारीसाधन महानगरमा सेवा लिन आएका सर्वसाधारणका पनि होइनन्, त्यहाँ राखिएका साधन महानगर कर्मचारीकै हुन् । तर, त्यहाँ त्यसरी पार्किङ गर्न थालेको धेरै भएको छैन ।

पहिले महानगर कम्पाउन्डभित्रै पार्किङको व्यवस्था थियो । आचार्य मेयरमा निर्वाचित भएपछि मात्रै भित्रको पार्किङ बाहिर सरेको हो । महानगरले पहिले पार्किङका लागि छुट्याइएको खाली ठाउँमा अहिले टहरा बनाउन लागेको छ ।

‘सेवाग्राही फाइल बोकेर कोठाकोठा चहार्नुपर्दा धेरै समस्या भोगे । त्यसैलाई सहज बनाउन नयाँ अस्थायी भवन थपिन लागेको हो’ सूचना अधिकारी पौडेलले भने ।

पार्किङस्थलका लागि महानगरले केही समयअघि अदालतबाट लामो समयपछि आफ्नो स्वामित्वमा फिर्ता आएको न्युरोडकै ५ रोपनी ४ आना जग्गा प्रयोग गर्ने योजना बनाएको थियो ।

तर, उक्त जग्गाको स्वामित्व दाबी गर्दै आएका राजेन्द्रनिधि कोइराला परिवारले उच्च अदालतमा मुद्दा दर्ता गरेपछि उक्त जग्गा प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ ।

‘महानगरको नाममा आएको त्यो जग्गामा अदालतले अहिले केही नगर्नू भन्ने आदेश दिएको छ । नत्र त्यही पार्किङ बनाउने योजना थियो,’ सूचना अधिकारी पौडेलले अनलाइनखबरसँग भने, ‘कि सभागृह जानुप¥यो । त्यसबाहेक न्युरोड क्षेत्रमा अन्य खाली ठाउँ छैन ।’

उनले नयाँ प्रशासकीय भवनको टुंगो नलाग्दासम्म पार्किङ समस्याकै रुपमा रहने बताए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?