+
+

१७ वर्षकी युवतीको जंगलमा अन्त्येष्टि : आमा पक्राउ, बाबु फरार

सुरेश बिडारी सुरेश बिडारी
२०७९ साउन १३ गते १७:०२

१३ साउन, वीरगञ्ज । साउन १२ गते बिहान पर्साको जीराभवानी गाउँपालिका–१ भवानीपुरबाट जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा धमाधम फोन आउन थाल्यो ।

गाउँमा एक युवतीको मृत्यु भएको र मध्यरातमा सुटुक्क जंगलमा लगेर शव जलाइयो भन्ने सूचना थियो । मृतक थिइन् १७ वर्षीया सीमा कुमारी ।

जानकारी पाए लगत्तै १२ साउनको बिहानै नजिकै रहेको महादेवपट्टी प्रहरी चौकीबाट प्रहरी टोली गाउँमा पुग्यो । ईलाका प्रहरी कार्यालय सेढवा र पटेर्वासुगौलीको टोली पनि गयो ।

बिहान १० बजेतिर ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट पनि प्रहरी निरीक्षक किशोर आचार्य पनि आफ्नो टोली सहित गाउँ पुगे । वडा अध्यक्ष रामशरण खवास पनि प्रहरीसँगै खोजतलासमा जुटे । गाउँमा महिला मात्रै घरको ढोका थुनेर बसेका थिए, टोलका सबै पुरुषहरु फरार थिए ।

सोधपुछका लागि प्रहरीले मृतककी आमा ४८ वर्षीया कान्तिदेवी थारुलाई पक्राउ ग¥यो, कान्तिदेवीले छोरीले झुण्डिएर आत्महत्या गरेपछि शव जलाएको बताइन् ।

त्यसपछि प्रहरीले जलाइएको ठाउँको खोजी सुरु गर्‍यो । दिउँसो २ बजेतिर पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने जय माँ जगदम्बे सामुदायिक वन क्षेत्रमा शव जलाएको ठाउँ भेटियो । वसन्तपुर सब डिभिजन वन कार्यालय भन्दा सात सय मिटर उत्तर घना जंगलमा शव जलाइएको रहेछ ।

प्रहरीले शव जलाईएको ठाउँबाट अनुसन्धानका लागि जल्न बाँकी रहेको शरीरका अंग, हड्डीहरु संकलन गरेर ल्याएको छ । प्रहरी निरीक्षक आचार्यका अनुसार शव जलाउन पेट्रोल, सिमेन्टको बोरा तथा चिनी प्रयोग गरिएको थियो ।

‘शव जलाएको भोलिपल्ट मात्रै खबर आयो, गाउँमा महिला मात्रै ढोका थुनेर बसेका थिए, सोधपुछ गर्दा कसैले केहि जानकारी दिएनन् । पुरुष सदस्यहरु कोहि थिएनन्’, आचार्यले भने, ‘पछि मृतकको आमालाई नियन्त्रणमा लिएर सोधपुछ गर्‍यौं, उनले छोरीले आत्महत्या गरेपछि लगेर जंगलमा जलाएको भनिन् ।’ प्रहरीले संकलन गरेको शवको अवशेषहरु परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

हत्या कि आत्महत्या ?

सामान्यतया मान्छेको मृत्युभएपछि शव गाउँलेले मिलेर घाटमा लगेर जलाउने गरिन्छ तर सीमाको मृत्युपछि शव लगेर एकान्त जंगलमा जलाइएपछि घटना शंकास्पद बनेको छ । सीमाका बुबा खेमराज दास पनि फरार छन् । स्थानीयबासिन्दाले सीमाको मृत्युको कारण प्रेम सम्बन्ध रहेको दाबी गरेका छन् ।

उनीहरुका अनुसार गाउँकै एकजना केटासँग सीमाको प्रेम सम्बन्ध रहेकोबारे घरपरिवारले थाहा पाएपछि विवाद भएको थियो । गाउँकै एक सहकारीमा काम गर्दै आएकी सीमालाई काममा जान रोक लगाएर घरमा थुनेर राखिएको थियो । सीमाको प्रेमी भनिएको युवकले भने आफूहरुबीच प्रेम सम्बन्ध नरहेको प्रहरीलाई बताएका छन् । उनका अनुसार सहकारीको काम सकेर घर जाने बेलामा मोटरसाइकलमा घर छोड्न जाने क्रममा सीमाको बुवाले देखेका थिए । त्यसपछि घरमा विवाद भएको थियो । सीमालाई काममा जान रोक लगाएर कोठामा थुनेर राखिएको थियो ।

घटनाको अघिल्लो दिन फोनमा कुरा हुँदा ‘बाउलाई देखाईदिन्छु’ भनेर आफूलाई सीमाले भनेको प्रारम्भिक बयान केटाले दिएका छन् । त्यसपछि उनीसँग फोन सम्पर्क हुन नसकेको उनले बताएका छन् ।

हत्या गरेर आत्महत्या भनिएको हो वा सीमाले वास्तवमै आत्महत्या नै गरेकी हुन ? भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । आत्महत्या नै गरेकी थिइन भने समयमै प्रहरीलाई खबर किन गरिएन ? घटनालाई किन लुकाउन खोजियो त ? भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीका अनुसन्धान अधिकृतहरु लागि परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले प्रारम्भीक रुपमा प्राप्त सूचना, तथ्य प्रमाण र पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

‘प्रहरीलाई खबरै नगरी एकान्त जंगलमा शव लगेर जलाइएकोले पनि घटना शंकास्पद छ, अहिले नै यसै भएको हो भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘मृतक युवतीको बुवालाई खोजीरहेका छौं, उनीबाट नै वास्तविक कुरा बाहिर आउने अपेक्षा छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?