+
+

एसियातिर किन आकर्षित छन् प्रिमियर लिग क्लब ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते ७:२३
सिंगापुरमा लिभरपुलका फ्यानले जर्सी प्रदर्शन गर्दै ।

१४ साउन, काठमाडौं । ‘मेरो कुनै धर्म छैन, मेरो कुनै देवता छैन । लिभरपुल फुटबल क्लब मेरो धर्म हो । यो मेरो लागि जीवन शैली हो ।’

एनफिल्ड रंगशालाबाट करिब ११ हजार किलोमिटर टाढा सिंगापुरमा जन्मिएका हुन विजय । उनी २०११ देखि आफ्नो मन पर्ने टिमलाई घरेलु मैदानमा हेर्न प्रतीक्षारत थिए । उनी एक जना मात्र होइन । यस महिनाको सुरुमा सिंगापुरको राष्ट्रिय रंगशालामा लिभरपुल र क्रिस्टल प्यालेसबीचको खेल हेर्न ५० हजार मानिस उपस्थित थिए ।

विजयले लिभरपुलको जर्सी फुकालेर आफ्नो ढाड देखाउँछन् जहाँ लिभरपुलको बारेमा ठूलो ट्याटू छ । क्लब इतिहासमा जितेका हरेक ट्रफीका वर्षहरू उल्लेख गरिएका छन् । उनी भविष्यप्रति आशावादी छन् ।

‘मेरो बुबा लिभरपूल प्रशंसक हुनुहुन्थ्यो र मैले मेरा बच्चा छोरीहरूसँग गरेको पहिलो कुरा उनीहरूमा लिभरपुल शर्ट लगाउनु थियो । यो पुस्तौंसम्म जारी रहनेछ, मलाई विश्वास गर्नुहोस्,’ उनी भन्छन् ।

कोभिड ट्राभल प्रतिवन्धका कारण तीन वर्षपछि इंग्लिस प्रिमियर लिगका टोलीहरु फेरि एकपटक पि्र सिजन समर टुरमा विश्वभर निस्केका छन् ।

यी यात्राहरूको आर्थिक महत्व नजरअन्दाज गर्न लिल्दैन छ । म्यानचेस्टर युनाइटेडले २०२१ मा लगभग ५६ मिलियन अमेरिकी डलरको व्यावसायिक राजस्व घाटा बेहोर्दा कोभिड अवरोध नै मुख्य रुपमा कारण रहेको जनाएको थियो । जसले गर्दा भारतमा टोलीको पहिलो पि्रसिजन भ्रमण रद्द गरिएको थियो ।

अहिले प्रतिबन्ध हटेपछि धेरै क्लबहरु आफ्नो नम्बर वान विदेशी बजारमा निस्केका छन् । ‘फ्यान बेसको आधारमा एसिया हाम्रो ठूलो क्षेत्र हो,’ लिभरपुलका प्रमुख कार्यकारी बिली होगानले बीबीसीसँग भने ।

‘कसैले मलाई एकपटक भनेका थिए कि तपाईं कुनै पनि एयरपोर्टमा उभिनुहुन्छ वा कुनै विमानबाट हाम्फाल्नुहुन्छ भने त्यहाँ लिभरपुलका प्रशंसकहरू फेला पार्न सक्नुहुन्छ । तर, हाम्रो विश्वव्यापी समर्थनको एक तिहाइ यहाँ छ र हामीलाई एसियामा ठूलो अवसर छ ।’

विश्वव्यापी अपील

यस समरमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले थाइल्याण्ड र अष्ट्रेलिया भ्रमण रोज्यो । जहाँ उसले लिभरपुल र क्रिस्टल प्यालेससँग खेल्यो । टोटनहम आफ्नै सुपरस्टार स्ट्राइकर सन हृयुङ मिनको देश दक्षिण कोरिया भ्रमणमा गयो ।

खेलकुदको दृष्टिकोणबाट हेर्दा यी यात्राले थोरै अर्थ राख्छन् । विभिन्न ‘टाइम जोन’मा लामो यात्रा गर्न, उच्च तापक्रम र आर्द मौसम भएको भएको ठाउँमा पुग्नु इंग्ल्याण्डमा नयाँ सिजनको लागि राम्रो तयारी भने होइन ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले यो आफ्नो लागि मन पर्ने काम नभएको प्रतिक्रिया दिएका थिए । ‘सबैभन्दा पहिले म एक प्रशिक्षक हुँ र यदि हामीले अस्टि्रयामा दुई हप्ता दैनिक दुई पटक प्रशिक्षण गर्न सक्छौं भने, त्यो राम्रो हुनेछ,’ उनले भने, ‘तर, एसियामा हाम्रो फ्यानबेस कति ठूलो छ भनेर हामीलाई थाहा छ । तिनीहरूको नजिक हुनु एक अद्भूत क्षण हो ।’

वास्तवमा भन्दा एलिट फुटबलमा यस्तो बहस लामो समय पहिलेदेखि नै भएको थियो । व्यावसायिक तर्कले निणर्ायक रूपमा जितेको छ ।

यस वर्ष आएको रिपोर्टको नयाँ तथ्यांकले के देखाउँछ भने प्रिमियर लिगले यसको बेलायती घरेलु बजारमा भन्दा अन्तर्राष्ट्रिय ब्रोडकास्टरहरुबाट बढी राजस्व प्राप्त गर्नेछ । अर्को सिजनदेखि २०२५ को बीचमा एसियाले मात्रै १.४ बिलियन अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियामा टोटनहम र स्थानीय अलस्टार टिमबीचको प्रदर्शनी खेलका लागि २५ मिनेटमै सबै टिकट बिक्री भएको थियो । यो दक्षिण कोरियाली इतिहासमा सबैभन्दा धेरै ‘स्टि्रमिङ’ भएको खेलकुद इभेन्ट पनि बन्यो ।

यसैबीच बैंककमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको मैत्रीपूर्ण खेलको सुरुवाती टिकट मूल्य १३६ अमेरिकी डलर थियो । सिंगापुरमा सबैभन्दा सस्तो टिकटको मूल्य नै १०७ अमेरिकी डलर थियो ।

यी मूल्यहरू समर्थकले इंग्ल्याण्डमा प्रतिस्पर्धात्मक खेलको तिर्ने अपेक्षा गरेको भन्दा धेरै उच्च दर हुन् । तर, अन्ततः ती क्लबहरु प्रिमियर लिगका शक्तिशाली क्लबहरूको प्रतिनिधित्व गर्छन् ।

लिभरपुलका एक प्रवक्ताले बीबीसीलाई भने, ‘हामीले यी टिकट मूल्य तोकेका हैनौं, हामीले एक सेट शुल्क पाउँछौं । टिकटको आम्दानीको कुनै अंश पनि प्राप्त गर्दैनौं ।’

एसियामा कमाइ

टाढा खेल्न जाँदा टिमहरुले कति कमाउँछन् भन्ने कुरा उद्योगभित्र नै निहीत हुन्छ । विश्लेषकहरुका अनुसार यो यात्राबाट ठूलो कमाई नहुने तथा यात्रा र कर्मचारीमा खर्च हुनेछ ।

‘टिमहरूले वास्तवमा पि्रसिजन खेलहरूबाट सिधै ठूलो रकम कमाउँदैनन्, प्रतिखेल केही मिलियन डलर कमाइ हुन सक्छ,’ व्यापार प्रकाशन स्पोट्र्स विजनेसका लागि एसिया-प्रशान्त सम्पादक केभिन म्याककुलाघले भने, ‘तर, त्यहाँ एउटा ठूलो खेल चलिरहेको छ । यो बजारमा ब्रान्ड निर्माण र प्रशंसक संलग्नताको बारेमा हो जसले प्रसारण अधिकार सम्झौता र एसियाली ब्रान्ड र कम्पनीहरूसँग प्रायोजन सम्झौताहरूबाट दीर्घकालीन रुपमा धेरै ठूलो राजस्व प्रदान गर्नेछ । वास्तविक पैसा यहाँ छ ।’

सिंगापुरमा हुँदा लिभरपुलले एसिया केन्द्रित बैंक स्ट्यान्डर्ड चार्टर्डसँग नयाँ शर्ट प्रायोजन सम्झौतामा हस्ताक्षर गर्‍यो । जसको मूल्य २४० मिलियन डलरभन्दा बढी रहेको बताइन्छ ।

लिभरपुलका मोहम्मद सलाह सिंगापुरको नेशनल स्टेडियममा सेल्फी खिच्दै ।

विश्वव्यापी रुपमा प्रायोजकको प्रोफाइल बढाउन मद्दत गर्नुको अलावा, फुटबल क्लबहरूले उनीहरूलाई उपभोक्ता डेटा पनि उपलब्ध गराउन सक्छन् ।

उदाहरणका लागि म्यानचेस्टर युनाइटेडको कस्टुमर रिलेसन म्यानेजमेन्ट (ग्राहक सम्बन्ध व्यवस्थापन) डेटाबेसमा ५० मिलियन रेकर्डहरु छन् । गत वर्ष सामाजिक सञ्जालमा तिनीहरूसँग १७६ मिलियन जोडिएका थिए ।

त्यसैले प्रायोजकहरुले आफ्नो प्रायोजन रकमको बदलामा ब्रान्ड र यसको मार्केटिङ विभागले कुनै समयमा क्लबसँग दर्ता वा संलग्न भएका लाखौं फ्यानहरूको उपभोक्ता व्यवहारको बारेमा थाहा पाउनेछ ।

‘ठूला ब्रान्डहरूले सोध्ने पहिलो कुरा फ्यानहरूको डाटा हेर्नु हो,’ म्याककुलगले भने, ‘उनीहरूले लगानी गर्नुअघि, क्लबका कति फ्यानहरू छन् भन्ने साथै जनसांख्यिकी, उमेर, कति पुरुष, कति महिला, उनीहरूको आम्दानी विवरण, यस्तै चीजहरू जान्न चाहन्छन् ।’

यद्यपी, टेलिभिजनबाट आएकै पैसाले इंग्लिस फुटबललाई आर्थिक रुपमा माथि पुर्‍याएको छ ।

धेरै वर्षदेखि अन्य खेलकुद लिगहरू, युरोपेली फुटबल लिगसहितले प्रिमियर लिगलाई इर्स्यालु रूपमा हेर्दै आएका छन्, जो एसियामा पहिलो पटक आएका थिए र १९९० को दशकमा व्यावसायिक सम्बन्ध स्थापना गरेका थिए ।

प्रिमियर लिगको प्रतिस्पर्धास्तर, विशिष्ट फ्यान संस्कृति र अंग्रेजी भाषासँगको सम्बन्धले यसलाई विश्वमा सबैभन्दा धेरै हेरिने खेलकुद लिग बनाएको छ । जसले विश्वव्यापी रूपमा ३.२ बिलियन संयुक्त दर्शकलाई आकषिर्त गरेको छ ।

प्रिमियर लिगका अनुसार प्राय मध्यरातमा खेल समाप्त हुने भए पनि आधा विश्वव्यापी फ्यानबेस र एक चौथाइ टेलिभिजन दर्शकहरू एसिया-प्रशान्तमा छन् ।

यद्यपि यी सबै फ्यानहरूलाई कायम राख्नु चुनौतीपूर्ण हुने विशेषज्ञको भनाइ छ । विशेष गरी युवा पुस्ताका लागि अहिले धेरै फराकिलो दायरामा मनोरञ्जन र जीवनशैली उपभोगको विकल्पहरू छन् ।

स्पेनिस क्लब रियल मडि्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले गत वर्ष भनेका थिए, ‘युवाहरू अब फुटबलमा रुचि राख्दैनन् । उनीहरूसँग आफूलाई व्यस्त राख्ने अन्य प्लेटर्फमहरू छन् ।’

यस दृष्टिकोणले टेलिभिजनको राजस्व अन्ततः घट्नेछ भन्ने भविष्यवाणीपछि शीर्ष युरोपेली फुटबल क्लबहरूका केही पदाधिकारीले प्रशंसकहरूलाई व्यस्त राख्नको लागि नयाँ प्रतियोगिताको आविष्कार गर्नुपर्ने विश्वास राखे ।

गत वर्ष प्रिमियर लिगमा पाँच ठूला क्लबसहितको युरोपियन सुपर लिग गर्ने घोषणा भएको थियो । जसले विशेष गरी एसियामा धेरै समर्थकलाई अपील गर्ने प्रयास गरेको थियो । तर, यो अन्ततः बेलयात र विश्वव्यापी रूपमा प्रशंसकहरूबाट ठूलो आलोचना पछि खारेज गरियो ।

फ्रान्सको एम्लियोन बिजनेस स्कूलका खेलकुद ग्लोबल प्रोफेसर साइमन चाडविकले युरोपियन फुटबल क्लबहरूले एसियाको बारेमा अनुमान लगाउनु नहुने बताए । ‘एसियाली उपभोक्ताहरू स्मार्ट, परिष्कृत र ज्ञानी छन् । तपाईले तर्क गर्न सक्नुहुन्छ कि हालैका वर्षहरूमा एसियाली फ्यानहरू बीच युरोपेली फुटबलबाट केही असन्तुष्टि भएको छ, त्यसैले क्लबहरूलाई एसिया ‘सुनको अण्डा’ दिने हाँस हो भनेर घमण्ड नगर्न सल्लाह छ ।’

चाडविकले प्रिमियर लिग खेलहरू विदेशमा खेल्ने सम्भावनाबारे पहिलो पटक २००८ मा प्रस्तावित भएको र यसको बहस अन्ततः फेरि आउने बताए ।

बीबीसी न्युजका लागि निक मार्सले तयार पारेको लेखको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?